कांग्रेस कार्यसमितिको बैठक सुचारु: यस्तो छ तयारी ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कांग्रेस कार्यसमितिको बैठक सुचारु: यस्तो छ तयारी !



काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बिहानदेखि पुनः सुरु हुँदैछ । चैत १६ गतेदेखि स्थगित भएको बैठक फेरि बस्न लागेको हो । बैठक बिहान ११ बजेदेखि पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि बैठक स्थगित भएको थियो ।

लामो समयको अन्तरपछि बस्न लागेको बैठक अलि फरक धारबाट चल्ने बुझिएको छ । अहिलेसम्म बोल्ने ४२ केन्द्रीय सदस्यबाट बढी भन्दा बढीले नेतृत्वका कारण पार्टीले निर्वाचनमा हार बेहोर्नु परेको बताइरहेका छन् ।

विशेषगरी वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षले नेतृत्वको आलोचना गरिरहँदा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले भने पार्टी हारको जश सबैले लिनुपर्ने बताउँदै आएका छन् ।

अहिलेसम्म पार्टीले चुनाव हार्नुका कारण खोतल्ने प्रयास भए पनि अब काँग्रेस कसरी अगाडि बढ्ने भन्ने खाका आइसकेको छैन । काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्नेबारे पनि कुरा आएको छैन ।

नेतृत्वको कारण काँग्रेस डुबेको भनिए पनि युवा नेताहरुले अहिलेसम्म नेतृत्व युवाको काँधमा जानुपर्छ भन्न सकिरहेका छैनन् ।

पार्टी हारपछि युवा नेताहरु अब काँग्रेसको काँध युवाहरुले थाप्नुपर्छ भन्दै आएका थिए । स्रोतका अनुसार युवाहरुले अबको बैठकमा भने पार्टी संचालनका लागि नयाँ सूत्र सार्वजनिक गर्ने बुझिएको छ ।

नयाँ नेतृत्वको दुई वर्ष पूरा भइसक्दा समेत सभापति देउवाले पदाधिकारीसमेत मनोनयन गर्न सकेका छैनन् । विधानअनुसार नेतृत्व सम्हालेको एक महिनाभित्रै पदाधिकारी पूरा पर्नुपर्ने हुन्छ ।

फोरम लोकतान्त्रिक काँग्रेसमा गाभिएपछि भने देउवालाई अझै सकस बढेको छ । फोरमका नेताहरुलाई पनि मनोनयन गरेर लैजानुपर्ने वाध्यता आइपर्दा देउवा दलदलमाथि नै फसेजस्ता देखिएका छन् ।

पार्टी उपसभापतिमा आकांक्षी बढ्दै गएका छन् । विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदारसहित आधा दर्जन नेताहरु उपसभापति पद खानका लागि लालायित भएको बुझिन्छ ।