देशव्यापी जागरण अभियान चलाउँदै कांग्रेस
काठमाडौँ– नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समितिमा महामन्त्रीले पेश गर्ने प्रस्तावमा सहमति जुटेको छ। महामन्त्रीले बैठकमा पेश गर्ने प्रस्तावमा सहमति जुट्न नसक्दा शनिबार बिहान ९ बोलाइएको केन्द्रीय समितिको बैठक आइतबार बेलुका ६ः३० बजे सुरु भएको छ।
महामन्त्रीको प्रस्तावका चुनावी हारको जिम्मा कसले लिने र महासमिति बैठक कहिले बोलाउने भन्ने विषयमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मतभेद भएको थियो। चुनावी हारको जिम्मा सभापतिसहित सबैले लिने र महासमितिको बैठक भदौमा बोलाउन दुवै पक्ष सहमत भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
महामन्त्रीको प्रस्ताव पारित गर्दै बैठक आइतबार नै सकिनेछ।
संस्थापन पक्षले चुनावी हारको जिम्मेवारी सामूहिक रुपले लिनुपर्ने र पौडेल पक्षले सभापति नै हारको मुख्य जिम्मेवारी लिनुपर्ने अडानका बीच मध्यमार्गी उपाय निकालिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
महामन्त्रीले केन्द्रीय समितिमा पेश गरेको प्रस्तावमा कांग्रेसले संगठन सुदृढिकरणका लागि देशव्यापी जागरण अभियान चलाउने उल्लेख गरिएको छ । त्यस्तै जेठमा जिल्लासभापतिको भेला बोलाउने, देशव्यापी प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने र भातृसंस्थालाई सुदृढीकरण गर्ने कार्यक्रम समेटिएको प्रवक्ता शर्माले जानकारी दिए।
दुई दिनको रस्साकस्सीपछि सहमतिको दस्तावेजका रुपमा महामन्त्रीको प्रस्ताव आएकाले बैठकपछि आम कार्यकर्तामा सुखद सन्देश जाने उनले बताए । चुनावी समीक्षाका लागि चैत ९ गतेदेखि कांग्रेसको बैठक सुरु भएको थियो । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनका कारण रोकिएको बैठक वैशाख ९ गते पुन सुरु भएको थियो ।