कांग्रेस भित्र डरलाग्दो भ्रष्टाचार, आरजु पनि संलग्न, जनार्दनलाई घर उपहार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कांग्रेस भित्र डरलाग्दो भ्रष्टाचार, आरजु पनि संलग्न, जनार्दनलाई घर उपहार



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका बेला प्रचार सामाग्रीमा ठूलो घोटला भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका तीनजना कर्मचारीमाथि कारबाहीको माग उठेको छ ।

केही दिन अगाडि सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा मुख्यसचिव कृष्ण पौडेल, सचिव प्रेम केसी र लेखा अधिकृत रविन आचार्यलाई कारबाहीको माग गर्दै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उजुरी पत्र दिइएको छ ।

कांग्रेसभित्रको भ्रष्टाचार छानविन गरेर दोषीलाई कारबाही गर्न वितरण गरिएको पत्रका बारेमा केन्द्रीय कार्यसमितिमा कुनै पनि छलफल भएको छैन ।  प्राप्त सो उजुरीमा मुख्यसचिव कृष्ण पौडेल, सविच प्रेम केसी र लेखा अधिकृत रविन आचार्यलाई कारबाहीको माग गरिएको छ ।

‘कांग्रेस शुद्धिकरण अभियानका लागि पहरेदार सिपाही’का नाममा छापिएको पर्चा खामभित्र राखेर केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई वितरण गरिएको थियो । चैत ९ गतेदेखि सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमितिमा सदस्यहरूले पत्र पढ्न थालेपछि सचिव केसीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको हातबाट कारबाहीको माग गरेर वितरण भएको पत्र खोसेर च्यातेका थिए । पत्र खोसेर च्यात्न मुख्य सचिव पाडेलले केसीलाई निर्देशन दिएका थिए । भ्रष्टाचारमा कारबाही गर्न माग गरिएका यी पदाधिकारीहरु सभापति शेरबहादुर देउवा निकटका हुन् ।

कांग्रेसले नराम्रोसँग पराजय भोग्नुमा केन्द्रीय कार्यालयका कर्मचारीले समयमा उचित व्यवस्थापनसहित प्रचार सामाग्री छपाइ र संकलन नगर्नु पनि रहेको छ । आफू निकटका व्यापारीसँग मुख्य सचिव पौडेलसहितको समूहले थोरै प्रचार सामाग्री खरिद गरेर धेरै सामानको बिल बनाइ बाँकी रकम दामासाहीले बाँडेर लगेको पत्रमा उल्लेख छ ।

केन्द्रीय कार्यसमितिमा कांग्रेस पराजयको खोजी भइरहेका बेला कर्मचारीहरूको यति ठूलो भ्रष्टाचार सभापति देउवाले नै लुकाउन खोजेको भनेर आरोप लागेको छ । कांग्रेस मुख्यालयमा रहेका कर्मचारीहरूको अहँकार र कार्यकर्ताप्रति रुखो व्यवहार गर्ने शैलीले पनि कांग्रेसलाई निर्वाचनमा ठूलो नोक्सानी भएको आरोप पर्चामा लगाएको छ । उनीहरूलाई कारबाही गर्नेबारेमा केन्द्रीय कार्यसमितिले कारबाही गर्छ कि गर्दैन त्यो भने कुर्नै पर्ने भएको छ ।

त्यसो त सभापति देउवा पत्नी आरजु र व्यापारी उमेश श्रेष्ठले निर्वाचनका लागि भन्दै उठाएको पैसा हिनामिना गरेका थिए । अहिले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई घर उपहार दिएर माओवादी निकट बन्न लागेका श्रेष्ठले निर्वाचनमा ठूलो रकम घोटला गरेको कुरा अहिले आएर कांग्रेसी नेताहरुले बताउन थालेका छन् ।

स्रोतका अनुसार निर्वाचनमा आरजु र श्रेष्ठले भारतीय दूतावास र केही कलेज सञ्चालकहरुबाट पनि करोडौं रकम लिएका थिए । उक्त रकम पनि पार्टीमा नबुझाई उनीहरुले नै घोटला गरेका थिए । श्रेष्ठले प्रहरीको सरुवा र बढुवामा समेत आरजुसँग मिलेर करोडौं चलखेल गरेका थिए । जसका कारण कांग्रेसको बद्नाम भएको थियो ।यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।