कम्युनिस्टहरू आत्मालोचना नै गर्दैनन् : थापा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कम्युनिस्टहरू आत्मालोचना नै गर्दैनन् : थापा



काठमाडौँ – नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले आर्थिक वृद्धि भएकै भरमा मख्ख परेर बस्न सक्ने अवस्था नरहेको बताएका छन्।

प्रतिनिधिसभामा जारी प्रि–बजेट छलफलमा भाग लिँदै काङ्ग्रेस नेतासमेत रहेका थापाले पाँच वर्षसम्म हलचल नगर्ने गरी बनेको नेकपाको सरकारले बितेका एक वर्षमा जनताले थाहा पाउने गरी सुधारको कुनै काम गर्न नसकेको आरोप लगाए।

‘पाँच वर्षसम्म हलचल नगर्ने सरकार बनेको छ। यस्तो अनुकूल मौका भएका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले ‘गएको एक वर्षमा गजब भयो। संघीयता कार्यान्वयन र आर्थिक पूर्वाधार निर्माण गजब भयो भनेको सुनियो’, थापाले भने, ‘हरेक दिन एक पाइला चालेकाले गजब भयो भनिरहँदा, अर्थमन्त्रीजी एक पटक नेपाल घुमेर सोध्नुहोस्, बितेको एक वर्ष सुखद रह्यो भन्ने कोही भेटिएमा मलाई भेटाइदिनुस्।’

प्रदेशदेखि स्थानीय सरकारसम्म, बुद्धीजीविदेखि सर्वसाधरण कसैले पनि बितेको एक वर्ष सुखद हुन नसेको बताएको थापाले जिकिर गरे। ‘एकातिर लक्षित राजश्व सङ्कलन हुन सकेको छैन। आन्तरिक खर्चले धान्ने अवस्था छैन।

९ महिनामा बजेट ४० प्रतिशत खर्च हुन सकेको छैन’, उनले भने, ‘निजी क्षेत्रको लागत मात्रै होइन निराशा पनि बढेको छ। आर्थिक सुधार यो सरकारले गरेको होइन। प्रकृति अनुकूल भएर यो सम्भव भएको हो।’

अर्थमन्त्रीले आर्थिक सुधार भएको बताइरहँदा थापाले सबै सूचकहरू नकारात्मक भएको जिकिर गरे। ‘एक वर्षका आधारमा के चमत्कार भयो ? भनिदिनुपर्‍यो’, उनले भने, ‘कम्युनिस्टहरू आत्मालोचना नै गर्दैनन्। समीक्षा ठीक ढङ्गले नगरेकाले आर्थिक क्षेत्रमा सुधार हुन सकेन।’

दुई अङ्कको आर्थिक वृद्धिमा भन्दा आयात निर्यातको अर्थतन्त्रलाई जोड दिइनुपर्ने उनले बताए। विप्रेषणमा आधारित अर्थतन्त्रमा लामो समय भर पर्दा जोखिम हुने उनको भनाइ थियो। उनले चालु खर्चलाई स्थिर राख्दै पुँजीगत खर्च बढाउने उपाय खोज्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।