सीके राउतले भने- सत्ताको पहिलो दिन नै यति धेरै वितृष्णा होला भन्ने सोचेको थिइनँ - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

सीके राउतले भने- सत्ताको पहिलो दिन नै यति धेरै वितृष्णा होला भन्ने सोचेको थिइनँ



प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सीके राउत निकै निराश भएका छन्।

आइतबार मात्र प्रधानमन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनमतसहित सात दल र ३ स्वतन्त्र गरेर १६९ सांसदको समर्थन छ। यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वार्ता भएको थियो। त्यही वार्ताको सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।

त्यो वार्तामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष सीके राउत पनि सहभागी भएका थिए। तर उनी सत्तामा सहभागी हुँदै गर्दा उत्साहित हुनुको साटो घोर निराशामा परेका छन्। उनले सत्ताको ‘पहिलो क्लास’ले नै आफूलाई सन्न्यास लिऊँजस्तो लाग्ने गरी वितृष्णा पैदा भएको उनले उल्लेख गरेका छन्।

तर आफ्नो काँधमा लाखौँ जनताको अपेक्षा र जिम्मेवारी भएकाले आफू जलेर भए पनि उज्यालो छर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन्।

राउतले आइतबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास आज – पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। काँधमा लाखौँ जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्न्यास लिइसक्थेँ होला।’

उनले अगाडि भनेका छन्, ‘तर आफैँ जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे! मेरो नियति। शुभरात्रि।’