काँग्रेस र कम्युनिष्टले हिरा भन्दै गोबर बेचे, मधेशवादी गोप्य सम्झौतामा रमाए: डा. सीके राउत - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

काँग्रेस र कम्युनिष्टले हिरा भन्दै गोबर बेचे, मधेशवादी गोप्य सम्झौतामा रमाए: डा. सीके राउत



सप्तरी- जनमत पार्टी अध्यक्ष डा. सीके राउतले अर्को निर्वाचनमा आफ्नो पार्टी सशक्त रुपमा अगाडी आउने दाबी गरेका छन् ।

सोमबार राजविराजमा जनतम पार्टी सप्तरीद्वारा आयोजित बरिष्ठ नेतृत्व मण्डल अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो उद्घोष गरेका हुन् । उनले अधिकांश समय जेलमै बिताउनु पर्दा संगठन निर्माण कार्यलाई गतिदिन नपाउँदै थोरै समयमा उपनिर्वाचनमा जानु परेको सुनाउँदै यसका बाबजुद सम्मानजनक मत ल्याउन सफल भएको बताए ।

मधेशवादी दल राजपा र समाजवादी पार्टी जस्तो सत्तालाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्ने आफ्नो पार्टी नरहेको भन्दै उनले कार्यकर्तालाई जनताको घर घरमा पुगेर आक्रमक रुपमा सदस्यता बितरण र संगठन निर्माण अभियानमा जुट्न निर्देशन पनि दिए ।

उनले मधेशमा राजनीतिक चेतनाको अभावका कारण पैसाको चलखेल बढी हुने गरेको बताउँदै कार्यकर्तालाई गाउँगाउँमै पुगेर निर्वाचनको महत्व बारे पनि प्रशिक्षण दिन निर्देशन दिए ।

जनता शिक्षित नभएसम्म यस्तो समस्या रहिरहने भन्दै उनले भने, ‘हिरा चिन्न नसकेका कारण यहाँ काँग्रेस, कम्युनिष्ट र मधेशवादी दल गोबरलाई हिरा भन्दै बेचेर हिड्छन्, हामी टुलुटल हेर्न बाध्य हुन्छौं ।’

उनले मधेशवादी पार्टीहरु सत्ताका लागि सरकारसँग गोप्य सम्झौता गर्ने गरेको आरोप लगाउँदै आफ्नो पार्टीले भने पूरै विश्वलाई साक्षी राखी पत्रकारहरुको उपस्थितिमा सम्झौता गरेको र त्यसमा सत्तालाई केन्द्र बिन्दु कतै नराखिएको बताए ।

‘हाम्रो सम्झौतामा सत्तामा सहभागि र सहकार्य जस्ता कुनै शब्द छैनन्, जनताले चाहेको मधेशको सवालमा जनमत संग्रहको कुरा मात्र समेटिएको छ’, उनले भने, ‘मधेशीलाई गर्व गर्ने गरी हामीले सरकारसँग सम्झौता गरेका हौं ।’

प्रधानमन्त्री केपी ओलीलाई प्रवेश निषेध गर्न लगाएर सप्तरीको मलेठमा पाँच जना यूवालाई ज्यान गुमाउन बाध्य बनाएको मधेशवादी दल समाजवादी पार्टी तीनै ओली नेतृत्वको सरकारमा सहभागि हुनु र अहिले आएर राजपाले पनि राष्ट्रिय सभा निर्वाचनमा सोही पार्टीसँग सहमति गर्ने सहिद र मधेशी जनताको अपमान गरेको उनको भनाई थियो ।

उक्त अवसरमा आगामी माघ १८ गते जनमत पार्टीद्वारा सप्तरीमा बिशाल आमसभाको आयोजना गरिने जानकारी गराइएको छ ।