सिभिल अस्पतालमा करोडौंको घोटाला, छिर्यो अख्तियार - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

सिभिल अस्पतालमा करोडौंको घोटाला, छिर्यो अख्तियार



काठमाडौं । सरकारद्वारा सञ्चालित निजामती अस्पतालमा नै सामान तथा उपकरण खरिदमा व्यापक अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

निजामती अस्पतालले १० करोड बढी मूल्यका विभिन्न उपकरणहरू किनेर लामो समयदेखि प्रयोगविहीन अवस्थामा राखेपछि अख्तियारले अस्पताल प्रशासनसँग उपकरण खरिदका सबै फाइल र निर्णयहरू मागेको छ ।

अख्तियार स्रोतका अनुसार अस्पताल प्रशासनसँग खरिदसम्बन्धी सम्पूर्ण कागजात, फाइल र निर्णयहरू माग गरिएको हो ।

अस्पतालले कागजात दिन आलटाल गरिरहेको बताइएको छ । अस्पतालले कागजात दिन आलटाल गरेपछि अख्तियारले छापा मारेर पनि कागजात नियन्त्रणमा लिने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

निजामती कर्मचारी अस्पताल विकास समितिका अध्यक्ष सरकारका मुख्य सचिव रहने व्यवस्था छ भने सदस्यहरूमा संघीय मामिला तथा सामान्य प्रशासन, अर्थ, कानुन न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरू रहने व्यवस्था छ ।

सरकारका उच्च अधिकारीहरू सम्मिलित बोर्डमार्फत सञ्चालन भएको अस्पतालको खरिद प्रक्रिया नै अपारदर्शी रहनुलाई आश्चर्यका रूपमा हेरिएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।