हार-जितमा भूमिका खेल्ने निर्वाचन बाहिरका कमान्डर - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

हार-जितमा भूमिका खेल्ने निर्वाचन बाहिरका कमान्डर



एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालको कार्यव्यस्तता अहिले दोब्बर बढेको छ । केही समययता उनले न समयमा खाना खाने फुर्सद पाएका छन् न बेलुकी सुत्ने रुटिङ नै मिलाउन सकेका छन् ।

उनी आसन्न निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवार होइनन् तैपनि उम्मेदवारभन्दा व्यस्त छन् । उनलाई पार्टी (एमाले) ले मूल निर्वाचन परिचालन कमिटीको प्रवक्ताको जिम्मेवारी दिएपछि व्यस्तता ह्वात्तै बढेको हो ।

‘अहिले पहिलेझैं रुटिङमा चल्दैन जिन्दगी,’ रिमालले अन्नपूर्णसँग पछिल्लो व्यस्तताका विषयमा कुरा गर्दै भने, ‘बिहान उठेदेखि अनगिन्ती फोन, जिल्ला-जिल्लाका निर्वाचन परिचालनको समन्वय, दैनन्दिन बनाउनुपर्ने कार्यक्रमले खाना खाने, सुत्नेसम्मको समय बदलिएको छ ।’

उनी अहिले हरेक दिन बिहानै ८ बजे नै धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय पुगिसकेका हुन्छन् । ‘बेलुकी कति बेला घर पुग्ने ठेगानै हुन्न,’ उनले भने ।

एमालेमा समग्र निर्वाचन परिचालनका लागि पार्टी अध्यक्ष केपी ओली आफैंले जिम्मेवारी लिएका छन् । उनको कार्यव्यस्तता र आफैं झापा ५ को उम्मेदवारसमेत रहेकाले रिमाललाई कार्यभार थपिएको हो ।क्रमशः माओवादी नेता रामबहादुर थापा, कांग्रेस नेता बालकृष्ण खाँड, एमाले नेता बिष्णु रिमाल ।

उनीलगायत एमाले अनुशासन विभाग संयोजक अमृत बोहोरा, मुकुन्द न्यौपाने, अग्नि खरेल, डा. पुष्पराज कँडेललगायत नेता निर्वाचन परिचालनको काममा व्यस्त छन् ।

एमालेका विष्णु रिमाल, कांग्रेसका बालकृष्ण खाँण, माओवादीका रामबहादुर थापालगायत नेता उम्मेदवार नभए पनि सबैभन्दा बढी व्यस्त देखिएका छन्। यो खबर हिमालपोष्टको लागि आजको अन्नपुर्ण पोष्टबाट लिइएको हो ।