चोर पक्रन नाम्चेका व्यवसायीद्धारा हेलिकप्टर चार्टर - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

चोर पक्रन नाम्चेका व्यवसायीद्धारा हेलिकप्टर चार्टर



हिमाल पोष्ट / १३ पुस, काठमाडौं । सोलुखुम्बु नाम्चेबजारका व्यवसायीहरुले चोर पक्राउ गर्न लाखौं रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेका छन् ।

नाम्चे बजारमा चोरी गरेर करिब आठ घण्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयले हेलिकप्टर चार्टर गरेर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्‍याएका हुन् । ‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकप्टरमा राखेर लग्यौं, अन्नत उनीहरु पक्राउ परे । नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने ।

शेर्पाका अनुसार चोरीको घटना भने गत शुक्रबार भएको हो । चोरले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गर्‍यो । ढोका फुटाएर भित्र पसिसकेपछि सुरक्षा गार्डले थाहा पाए । र, तत्कालै चोर भागेको थियो ।

रातको समयमा बेपत्ता चोर त्यसबेला पत्ता लाग्यो, जब बैंक कर्मचारीले स्थानीयलाई सीसी क्यामेर फुटेज देखाए । चोरीको असफल प्रयास गर्ने सोलुखुम्बु तिङलाका सूर्य मगर रहेछन् । मगरको पहिचान भएपछि उनी कहाँ बस्छन् भन्ने खोजी सुरु भयो । उनी खुम्जुङको दोलेस्थित एक होटलमा काम गर्ने भन्ने जानकारी प्राप्त भयो ।

स्थानीयले आफन्तमार्फत गोप्य रूपमा सोधखोज थाले । चोरीको असफल प्रयासपछि प्रहरीबाट भाग्दै मगर शनिबार होटलमा पुगेको जानकारी प्राप्त भयो । ‘प्रहरी तत्काल त्यहाँ नपुगेमा अभियुक्त भाग्न सक्ने सम्भावना थियो हिँडेर पुग्न एक दिन लाग्ने भएकाले स्थानीयले हेलिकोप्टर लिएर जान प्रस्ताव गरे,’ इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख तेजनारायण यादवले भने, ‘सो स्थानमा २० मिनेटमा नै पुग्न सफल मात्र भएनौं अभियुक्तलाई पक्राउ गर्नसमेत सफल भयौं ।’ आजको राजधानी दैनिकमा खबर छ ।