चोरीका मोबाइल र ल्यापटप फेसबुक ग्रुप र अनलाईनमा ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चोरीका मोबाइल र ल्यापटप फेसबुक ग्रुप र अनलाईनमा !



काठमाडौं । चोरीका मोबाइल, ल्यापटप, टि.भी. जस्ता उपकरणहरूको विक्री वितरणका लागि सामाजिक सञ्जालको प्रयोग हुने गरेको खुलेको छ ।

चोरीमा संलग्नहरूले फेसबुक ग्रुपहरुको सहायताले ती सामानहरुलाई सस्तोमा विक्री गर्ने गरेको खुलेको हो । उनीहरुले अनलाइन विक्री गर्ने साइटहरुलाई समेत प्रयोग गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरले चोरीका सामान विक्री विरतणमा संलग्न दुई जनालाई पक्राउ गरेसँगै चोरीको सामान विक्री गर्ने यो शैली सार्वजनिक भएको हो ।

पक्राउ पर्नेमा काठमाडौंको रेम्बोडाँडाका २५ वर्षीय दिपेश श्रेष्ठ र सिन्धुपाल्चोक घर भइ हाल बुढानिलकण्ठ–११, कपनमा बस्दै आएका २२ वर्षीय बाच्छो भनिने सुवास खड्का छन् ।

महानगरीय प्रहरी वृत्त, बौद्ध र महानगरीय प्रहरी प्रभाग, कपनको टोलीले उनीहरुले चोरीका सामग्रीको विक्री वितरण गर्दै गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए ।

उनीहरुको साथबाट विभिन्न ब्रान्डका ३३ वटा मोबाइल, दुई वटा आइफोन, ३ वटा पावर बैंक, एउटा सोनी कम्पनीको ३२ इन्जको टिभी, ५ वटा ल्यापटप लगायत बरामद गरिएको पोखरेलको भनाइ छ ।