चोलेन्द्रले समितिसँग उल्टै मागे प्रमाण - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

चोलेन्द्रले समितिसँग उल्टै मागे प्रमाण



काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले समितिसँग उल्टै प्रश्न सोधेका छन् ।

जबराले आफूलाई महाअभियोग लगाउनुको कारण दिन संसदीय समितिसमक्ष माग गरे। बुधबार महाअभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा उनले प्रमाण मागेका हुन् ।

उनले २०७८ असार २८ गतेकै शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने गरी जारी गरिएको परमादेशकै कारण महाअभियोग लगाइएको भए त्यसमा आफ्नो कमजोरी देखाउन पनि चुनौती दिएका छन्।

परमादेशपछि सत्तारुढ दलहरुसँग बार्गेनिङ गरेको आरोप लागिरहेका बेला जबराले त्यसको उचित प्रमाण र कारण पनि उपलब्ध गराउन माग गरेका हुन्।

शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन परमादेश जारी गर्ने पाँच न्यायाधीशमध्ये आफूमाथि मात्रै महाअभियोग लगाइएकोमा पनि उनले आपत्ति प्रकट गरेका छन्।

‘२०७८ असार २८ गतेकै फैसलाका कारण मलाई महाअभियोग लगाइइएको हो भने मलाई लगाउनुपर्ने कारण के त? त्यसमा मेरो कमजोरी के छ त?’, उनले सिफारिस समितिका सदस्यहरुलाई सोधे, ‘यदि मेरो पुरानै कुरालाई महाअभियोग लगाइथ्योँ भने किन पहिले नै लगाइएन, अहिले आएर किन नियतवश यस्तो निर्णय गरियो?’

उनले आफूलाई महाअभियोग लगाउनुपर्ने कारण दिन पटक पटक आग्रह गरे। उनले नेपाल बार एसोसियसनका पदाधिकारीहरुले भ्रष्ट मनासायसहित आफूलाई घेराबन्दी गरेको पनि बताए।

‘नेपाल बारका पदाधिकारीहरुले भ्रष्ट मनासयले मविरुद्ध आन्दोलन गरे। न्ययाधीशहरुलाई मविरुद्ध उचालियो, कसैलाई सरुवा बढुवाको लोभ देखाइयो’, उनले भने, ‘अदालतभित्रै असहज स्थिति सिर्जना गरियो। बारका पदाधिकारीबाहेक अरु म विरूद्ध थिएनन्। मविरुद्ध आन्दोलन हुँदा उनीहरु मेरो साथमा थिए। तर मैले अहिलेसम्म महाअभियोगको कारण बुझ्न सकेको छैन।’