भेटियो चोलेन्द्रविरूद्धको प्रमाण - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

भेटियो चोलेन्द्रविरूद्धको प्रमाण



काठमाडौं- नेपाल बार एसोसिएनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरूद्धको प्रमाण महाभियोग सिफारिस समितिलाई बुझाएको छ।

बारले राणाविरूद्धको महाभियोग पुष्टि हुने भन्दै ३४ बुँदे पत्रसहितको प्रमाण समितिलाई आइतबार बुझाएको हो।

पेस भएका प्रमाणका आधारमा राणाविरूद्धको महाभियोग पुष्टि हुने बारको दाबी छ।

बारले राणाले गरेका त्रुटिपूर्ण फैसला, आदेश र उनले न्याय परिषदमा रहँदा गरेका कार्यविवरणलगायतलाई प्रमाणको रूपमा पेस गरेको छ।

प्रमाणका रूपमा बारले इच्छाराज तामाङको मुद्दामा अधिवक्ता रूद्रप्रसाद पोखरेलले गरेको घुस प्रकरणसम्बन्धी अडियो पनि पेस गरेको छ।

त्यस्तै रञ्जन कोइरालाको मुद्दामा भएको फैसला, प्रेरणा राज्य लक्ष्मीको मुद्दाको फैसला पनि बारले पेस गरेको छ।

महाभियोग सिफारिस समितिले राणाविरूद्धका प्रमाण पेस गर्न सूचना उपलब्ध गराउन आह्वान गरेको थियो।

समितिको बैठक भदौ १५ गते बस्दैछ। २० गतेसम्म प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने समितिको कार्यसूची छ।

न्यायपालिकामा बेथिति निम्त्याएको आरोप लगाउँदै सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) ले गत फागुन १ गते राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

महाभियोग प्रस्ताव दर्ता भएसँग राणा निलम्बित छन्।

राणाविरूद्धको महाभियोग प्रस्ताव दर्ता गर्न संसदले ११ सदस्यीय सिफाििरस समिति गठन गरेको छ।