महाभियोग फेल भएर चोलेन्द्र पुन अदालत फर्के नयाँ 'वितण्डा' हुने   - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

महाभियोग फेल भएर चोलेन्द्र पुन अदालत फर्के नयाँ ‘वितण्डा’ हुने  



निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा २१ वटा संगीन आरोपसहित दर्ता भएको महाभियोग प्रस्तावमाथि कारबाही सुरु भएको छ । राणामाथि छानबिन गर्न प्रतिनिधि सभाले आइतबार ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन भएको छ ।

गत फागुन १ गते राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । समितिमा संसदको सबैभन्दा ठूलो दल एमालेबाट चार, कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई, एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक–एकजना प्रतिनिधि रहेका छन् ।

जसअनुसार एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल छन् भने, कांग्रेसबाट मिनबहादुर विक र रामबहादुर विष्ट रहेका छन् । माओवादी केन्द्रबाट यसोदा सुवेदी र रेखा शर्मा तथा एकीकृत समाजवादीबाट कल्याणी खड्कालाई समितिमा चयन गरिएको छ । यस्तै, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन् ।

यसअघि देशभरका १५ सय कानुन व्यवसायी सम्मिलित नेपाल बार एसोसिएसनको राष्ट्रिय सम्मेलनले राणाविरुद्धको महाअभियोग प्रस्ताव छिटो पारित गर्न माग गरेको थियो । सम्मेलनमा एमालेको भातृ संगठन पीपीएलएमा आवद्ध वकिलहरू पनि सहभागी थिए ।

१५ सय कानुन व्यवसायीले एक स्वरमा राणाविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न सबै दलहरूलाई आह्वान गरेका छन् । राणालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसक्ने घोषणा कानुन व्यवसायीहरूले गरेका छन् ।

प्रतिनिधि सभा नियमावलीको दफा १६१ (२) बमोजिम अधिवेशन चालु रहेको अवस्थामा सात दिनपछिको कुनै बैठकमा महाअभियोगबारे छलफल गराउन सक्ने भनिएको छ । सोही नियमावलीमा संसद अधिवेशन चालु नरहेको अवस्थामा पनि अधिवेशन आह्वानको माग गर्न सकिने प्रावधान छ ।

महाअभियोग प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनुभन्दा अघि समितिले राणामाथि लागेका आरोपको छानबिन गरी प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ । तर, संसद चलेकै अवस्थामा राणाविरुद्धको महाअभियोग संसदको कार्यसूचीमासमेत नपर्दा सन्देह र आशंकाले ठाउँ पाएको थियो ।

समिति नबनेको अवस्थामा संसद सचिवालयमा दर्ता भएर वेवारिश हुने चिन्ता जनमानसमा उत्पन्न भएको थियो । अहिले त्यो चिन्ता हटेको छ । र, महाअभियोग प्रस्तावले गति लिएको छ ।

महाभियोग सिफारिस समिति नै बनिसकेको अवस्थामा अब धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन । तर, महाअभियोगबारे प्रतिपक्षी एमालेसँग यसबीचमा ठोस छलफल भने हुन सकेको छैन । महाभियोगमा मतैक्य हुनका लागि पहिले त एमालेसँग उच्च नेतृत्व तहमै छलफल हुनुपर्ने आवश्यकता छ । महाअभियोमा दुईतिहाइ जुटाउन एमालेले साथ दिने वातावरण तय गर्नु अपरिहार्य छ ।

संविधान वमोजिम दुईतिहाइ जुटाउन एक सय ८३ मत पुग्नुपर्छ । प्रमुख प्रतिपक्षी एमालेको साथ विना यो सम्भव छैन । महाअभियोग पारित भएर मात्र पनि पर्याप्त हुँदैन । यदि, दुईतिहाइले पारित भइहाले पनि राणामाथि आरोपसहित भ्रष्टाचार र संविधान उल्लङघनमा मुद्दा चलाइनुपर्ने हुन्छ । यदि, सहमतीका लागि बेलैमा भाँती पुर्याइएन भने राणा आरोपबाट मुक्त हुनेछन् ।

यसर्थ, सहमति जुटाउन विशेषगरी कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग पहलकदमी गर्नुपर्ने हुन्छ । राणा प्रकरणलाई राजनीतिक स्वार्थ र निजी स्वार्थको बिषय बनाईनु हुँदैन । अब आम निर्बाचन अगावै संसदमा महाभियोगबारे छिट्टै टुंगो लगाइनुपर्छ ।

समिति गठन भइसकेको अवस्थामा सिफारिस सहितको प्रतिवेदन पेश गर्न अब बढीमा तीन महिनाको समय हुनेछ । महाभियोगलाई प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतले पारित गरेपछि बल्ल कार्यान्वयनमा जान्छ ।

तर, त्यसअघि प्राकृतिक न्यायको सिद्धान्त अनुरुप आफुमाथि महाभियोगमा लागेका आरोपको राणाले समितिमा प्रतिरक्षा गर्न पाउने सुविधा हुने छ । महाभियोगलगत्तै राणा निलम्बित भएका छन् । अब राणामाथि छानबिन गरेर महाभियोग पारित गर्ने जिम्मेवारी संसदको काँधमा छ ।

अब संविधानको धारा १०१ को उपधारा ६ अनुसार राणाले महाअभियोगको टुंगो नलागेसम्म प्रधानन्यायाधीशको रूपमा कुनै पनि काम गर्न बन्देज लागेको छ । राणामाथि लागेको २१ बुँदे आरोपबाहेक पनि न्यायमा विचलन र नैतिकताविरुद्धका अनगिन्ति आरोपहरूको श्रृङखला नै छ ।

राणानिकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवं पेशेवरहरूको सहयोगमा भ्रष्टाचार गरेको अर्को आरोप पनि राणामाथि छ । जिम्मेवार पदाधिकारीकै संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गर्दै प्रधानन्यायाधीश राणा, उनकी पत्नी र परिवारका सदस्यले अस्वाभाविक जीवनशैली प्रदर्शन गरेको दावी नागरिक आन्दोलनका अगुवाहरूले गर्दै आएका छन् ।

राणाकै संरक्षणमा विचौलियाहरूले आफ्नो अवाञ्छित गतिविधि सञ्चालन गरेको आवाज सर्वोच्च अदालतभित्रै चर्को रुपमा उठेको छ । अदालतमा परेका मुद्दाहरूको सुनुवाइका लागि प्रकाशित हुने पेशी सूचीमा शंकास्पद चलखेलहरू हुने गरेका संगीन आरोपहरू राणामाथि छन् ।

सर्वोच्चमा इजलास गठन गर्दा मुद्दाको प्रकृति, विगो, मुद्दाका पक्षको हैसियत हेरेर त्यसै अनुरूप न्यायाधीशको इजलास गठन गरिएका घटनाहरू पनि सतहमै छरपस्ट भएका छन् । एउटै प्रकृतिका विवाद र कानुनी प्रश्न भएको मुद्दामा न्यायको स्थिरता र एकरुपता हुनुपर्नेमा त्यो नदेखिएको भनेर गंभिर प्रश्नहरू उठेका छन् ।

कुनै मुद्दामा हुनसक्ने आदेश वा फैसलाको पूर्वानुमान लगाउन सकिने अवस्थासमेत आएको छ । विचौलिया र दलालको चलखेललाई बढावा दिने कुकृत्य भयो । राणाको हातबाट विचौलियाले समेत न्यायाधीश पुरस्कार पाएको चर्चा छ । आफ्ना कर्तुत ढाकछोप गर्न तथाकथित स्वतन्त्र कानुनव्यवसायी अभियानका नाममा वकिल र कर्मचारीसमेत किनिएका प्रसङ्गहरू अझै सेलाएको छैन । कार्यकारी पदाधिकारीको नियुक्तिमा अपवित्र साँठगाँठ भएका गम्भीर प्रश्नहरू छन् ।

सर्वोच्च अदालतबाट भएको रञ्जनकृष्ण कोइरालाको कैद घटुवा, एनसेलको कर छली, छाउनीस्थित प्रेरणाको घर जग्गाको फैसला हुँदा न्यायको तराजुमै न्यायको हत्या भएका आरोप छन् । राणाले विचौलियाको प्रभावमा परी न्याय सम्पादनमा विचलन भएका, भ्रष्टाचारमा एकअर्कालाई पोषेका संगिन आरोपको भारी बोकेर राणा घर फर्किएका छन् । यस्तो अवस्थामा कुनै हालतमा उन्मुक्ति स्विकार्य नहुने आवाज नागरिक तहबाट उठिरहेका छन् ।

यसर्थ, काण्डैकाण्डको चंगुलमा फसेका राणामाथि समितिले निर्मम ढंगले छानबिन गर्नुपर्ने आवश्यकता छ । भ्रष्टाचारका काण्ड मात्र होइन संविधान र कानुनमाथि बलमिच्याईँ गरेका घटनामा समेत गंभिर ढंगले उधिन्नु अपरिहार्य छ । न्यायको कठघरामा उभ्याउन एमाले पनि बाधक बन्नु हुँदैन । अन्यथा भ्रष्टाचार र व्यथितिमा एमाले साक्षी बनेको ठहर्ने छ । फोहरलाई जतिसुकै सेतो मखमलले छोेपे पनि गनाउन छाड्दैन भनेर समयमै ध्यानदृष्टि पुग्नु जरुरी छ । दृष्टिन्यूजबाट