प्रश्नको उत्तर दिएनन्, अर्कैको टाउकोमा दोष थोपरेर निस्किए चोलेन्द्र - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

प्रश्नको उत्तर दिएनन्, अर्कैको टाउकोमा दोष थोपरेर निस्किए चोलेन्द्र



काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोष अरूको टाउकोमा लगाएर आफू उम्किन खोजेका छन् । महाभियोग सिफारिस समितिले सोधेका प्रश्नमा चोलेन्द्रले प्रश्नको उत्तर भन्दा सीमाबाहिर गएर पन्छिन खोजेको आरोप लगाएको छ ।

समितिका सदस्य तथा नेपाली काँग्रेसका सचेतक मिनबहादुर विश्वकर्माले उनीमाथि गरिएका प्रश्नहरुको जवाफ दिने क्रममा सीमाबाहिर गएर बोलेको आरोप लगाए ।

बयानका क्रममा आफ्नो प्रतिरक्षा गर्दै राणाले राजनीतिक रूपले नियुक्ति भएका न्यायाधीशहरूका कारणले आफूले एकमतले निर्णय गर्न नसकेको कुरा राखेका थिए । राणाले आफ्नो दोष अरूको टाउकोमा पन्छाउन खोजेपछि आफूहरूले संविधानको धारा १३६ का अनुसार न्यायपालिकामा भएका सबै निर्णयहरूको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेको विश्वकर्माले बताए ।

विश्वकर्माले प्रधानन्यायाधीशले आफ्नो संवैधानिक पदीय दायित्व पुरा नगरेबापत संसद्का एक चौथाइ सदस्यहरूले २१ बुँदे महाभियोग दर्ता गरेका बताउँदै आज आरोपित राणामाथि समितिले सोध्ने क्रम जारी रहेको बताए । जवाफ दिने क्रममा राणाले अभियोगको छलफल किन ढिलो आयो भनेर जिज्ञासा राखेको पनि सुनाए । राणाले यतिबेला सफाइका आधारहरू प्रस्तुत गरिरहेको उनले भनेका कुरालाई छानबिन गर्न बाँकी नै रहेको बताए ।

उनले समितिले तय गरेको कार्यतालिका पनि परिमार्जन गर्ने तयारी गरिरहेको जानकारी दिए । प्राप्त कागजातको अध्ययन गर्नका लागि समय लाग्ने तथा प्रधानन्यायाधीश माथि लगाइएको महाभियोगमा हचुवाका भरमा निर्णय गर्न नहुने भन्दै वृहत् छलफल र अध्ययनका लागि कार्यतालिका परिमार्जन गर्ने तयारी गरिएको जिकिर गरे ।