चितवन प्रशासनद्वारा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

चितवन प्रशासनद्वारा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाउने



काठमाडौं- जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि निषेधाज्ञा जारी गरेको हो ।

आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएपछि आज बयान तथा थुनछेक बहस हुनेछ । यद्यपि रवि लामिछाने निर्दोष रहेको भन्दै लगातार प्रदर्शन भइरहेको छ ।

आइतबार मुद्दा दायर गरेर जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि बोतल प्रहार गरेपछि झडप भएको थियो ।
प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था देखा परेपछि जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै आज बिहान ६ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।

आज बिहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने गरी स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।

निषेधाज्ञा जारी भएका स्थान

  • पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म
  • पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म
  • उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म
  • दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म ।


स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार जारी गरिएको निषेधाज्ञाको उल्लंघन गर्नेमाथि ५ सयसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्ने व्यवस्था छ ।