वरिष्ठ अधिवक्ताको तर्क: टिकट टाँसेको चिठी हेरेर वदनियतपूर्ण निर्णय
काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध निरन्तर बहस भैरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमा अहिले बहस भैरहेको छ ।
यस्तैमा शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण देखिएको बताएका छन् । उनले प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ खाएको स्मरणसमेत गराए ।
‘त्यो भनेको उहाँले विश्वासको मत लिन्छु भनेर शपथ खानुभयो तर, आफैले खाएको शपथको पालना गर्नुभएन,’ रिट निवेदकका तर्फबाट बहस गर्दै उनले भने ।
राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइ दिनुपर्नेमा टिकट टाँसेको चिठी (जसपा र प्रधानमन्त्रीले पठाएको) लाई आधार मानेर वदनियतपूर्ण निर्णय गरेको उनको भनाइ छ ।
संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा पनि बदनियत राखिएको उनले जिकिर गरे । ‘यो बदनियतको हद हो । राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन ।’