कैलालीको चिसापानी: प्रधानमन्त्री आउने चर्चा व्यापक, तयारी शून्य ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीको चिसापानी: प्रधानमन्त्री आउने चर्चा व्यापक, तयारी शून्य !



यज्ञराज उपाध्याय / चिसापानी

कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन गर्न यही २२ गते कैलालीको चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च स्तरीय विशिष्ट टोली आउने हल्ला व्यापक रूपमा चलिरहेको भएता पनि अहिले सम्म तयारी भने शून्य रहेको छ ।

जिल्ला समन्वय समिति (जिसस) कैलालीको आयोजनामा हुने कैलाली भ्रमण वर्ष २०७५ को प्रधानमन्त्री ओली द्वारा उद्घाटन हुने र त्यस पश्चात् प्रधानमन्त्री ओली सहित उनी सङ्ग आएका अन्य उच्चस्तरीय टोलीलाई टीकापुर, लम्की, बर्दगोरिया, भजनी लगायतका ठाउँमा भ्रमण गराउने जिससको तयारी भएता पनि कार्यक्रम हुने मुख्य ठाउँ चिसापानी नै तयारी न्यून देखिएको छ । कार्यक्रम हुन अब २ दिन मात्र बाकी रहँदा पनि इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टरले समेत जानकारी यस कार्यक्रम बारे आफूलाई केही जानकारी नभएको बताए ।

कैलालीमा प्रधानमन्त्री ओली आउने भन्दै तेर्‍ह वटै स्थानीय तहसङ्ग समन्वय गरेर तयारीमा लागेको जिससले चिसापानीलाई ध्यानसँग नहेरेको स्थानीयले गुनासो समेत गरेका छन् । प्रधानमन्त्री आउने र कार्यक्रम गर्ने भनेर भनेतापनि प्रधानमन्त्री आउने नआउनेमा अझै दोधार भएको कारणले पनि तयारी नगरेको हुन सक्ने केही विज्ञले बताए ।

२२ गते हुने उक्त कार्यक्रमका लागि भने ४ सय ५० जनालाई सिदार्थ होटेल चिसापानी शाखामा खानाको अडर अगाडी नै भैसकेको छ । मांसाहारीलाई मटन, फिस र शाकाहारीलाई पनिर बटर मसाला अडर गरिएको होटेलका कर्मचारीले बताए । प्रधानमन्त्री आउने भएपछि कैलाली प्रवेशद्वार चिसापानी गेट बनाउने, सरसफाइ गर्ने जस्ता अग्रिम तयारी गर्ने योजना भएको जिससका संयोजक सूर्य बहादुर थापाले विभिन्न स्थानीय तहमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने गरेता पनि त्यो अनुसारको कार्य नभएको देखिएको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर धन बहादुर बोहराले आफूलाई सुरक्षा बाहेक अरू कुरा थाहा नभएको बताउँदै अहिले सम्म कुनै पनि किसिमको तयारी नभएको बताए । प्रधानमन्त्री आए पछि आफूले सुरक्षा दिनका निम्ति आफूलाई चाहिने जति प्रहरी जवान जिल्ला प्रहरी कार्यालयबाट माग गरिसकेको बोहराले बताए ।

“प्रधानमन्त्री आएपछि चिसापानी युवा क्लबको खेलमैदानमा कार्यक्रम हुने प्रारम्भिक जानकारी मलाई छ तर अहिले सम्म केही तयारी नभएका कारण भर्खर नगरप्रमुख महादेव बज्गाईलाई भेटेर आउँदै छु।” जिसस संयोजक थापाले प्रधानमन्त्री सहितको टोलीलाई स्वागत र सम्मानका लागि चिसापानीमा रहेको कर्णालीको पुल देखि लम्की सम्म तीन वटा स्वागत गेट बनाउने जानकारी दिएता पनि अहिले सम्म एउटैको काम पनि अघि बढाइएको छैन ।

प्रधानमन्त्री ओली कैलाली आउने भने पछि अन्य स्थानीय तहहरुले त तयारी तीव्र रूपमा अगाडी बढाएका छन् । चिसापानीमा कार्यक्रम उद्घाटन पश्चात् प्रधानमन्त्री टीकापुर पार्क लगायत अन्य ठाउँ सम्म पुग्ने जानकारी पश्चात् टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले तयारी तीव्र गरिएको छ । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल मूल समारोह एवं समन्वय समितिको संयोजक रहने गरी विभिन्न ६ वटा उपसमितिहरू समेत बनाइएका छन् । त्यस्तै अन्य स्थानीय तहहरुले पनि तयारी तीव्र नै गरिरहेका छन् ।