सुटुक्क छिरेका आठ जना चिनियाँ गोरखामा पक्राउ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सुटुक्क छिरेका आठ जना चिनियाँ गोरखामा पक्राउ



काठमाडौं- गोरखामा प्रहरीले ८ चिनियाँ नागरिक पक्राउ गरी अध्यागन विभागको जिम्मा लगाएको छ।

सोमबार पक्राउ परेका उनीहरूका विषयमा छानबिन थालिएको विभागले जनाएको छ।

गोरखा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार चिनियाँ नागरिकहरू ट्याङ युजेन, याङ चुन, याङ जियाचुन, ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा र लिङ्घु केसेङलाई पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाइएको हो।

आफूहरूलाई गोरखाको उत्तरी भागमा निर्माणाधीन माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा कार्यरत बताउने उनीहरूलाई सोमबार राति नै विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

तीमध्ये केही केही चिनियाँसँग पासपोर्टलगायतका परिचयपत्र नै नरहेको र केही पर्यटन भिसामा आएर लामो समयसम्म बसिरहेको पाइएको प्रहरीले जनायो।

प्रहरीका अनुसार माथिल्लो बूढीगण्डकी विद्युत् आयोजना निर्माण सुरु नभए पनि सर्वेक्षणको काम गरिरहेको ती चिनियाँ नागरिकले दाबी गरेका छन्।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले उनीहरूका विषयमा छानबिन भइरहेको जानकारी दिएका छन्।

‘उनीहरू कार्यरत कम्पनीका प्रतिनिधिलाई झिकाउँछौं, उनीहरूको अवस्था अध्ययन गर्छौं,’ उनले भने, ‘केही पर्यटन भिसामा आएर काम गरिरहेको भनिएको छ त्यसो गर्न मिल्दैन।’

बिनाकागजात वा पर्यटन भिसामा आएर काम गरेका रहेछन् भने उनीहरूलाई जरिवाना तिराएर फिर्ता पठाउने उनको भनाइ छ।

उक्त जल विद्युत् आयोजना नौलो नेपाल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ।

पक्राउ परेका चिनियाँबारे बुझ्न उक्त कम्पनीका प्रतिनिधिलाई पनि झिकाइएको अध्यागमन विभागले जानकारी दिएको छ।