ओली, प्रचण्ड र नेपाल मिलाउन चीन फेरि सक्रिय, यान्छीको तिब्र दौडधुप - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

ओली, प्रचण्ड र नेपाल मिलाउन चीन फेरि सक्रिय, यान्छीको तिब्र दौडधुप



नेपालको उत्तरी छिमेकी चीन कम्युनिस्टहरूलाई एक बनाएर चुनावमा लैजान सक्रिय देखिएको छ । २०७४ सालमा चीनकै प्रयासमा वामगठबन्धन भएको थियो र अपेक्षित मतसमेत प्राप्त भएको थियो ।

त्यही इतिहास दोहोर्याउन चीन लागिपरेको छ । स्वयं चिनियाँ राष्ट्रपति शी चिनफिङले नेपालको कम्युनिस्ट एकतामा चासो प्रकट गर्ने गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख सुङ थाओबीच यिनै विषयमा माघ १६ गते भिडियो वार्ता भएको थियो ।

अमेरिकी सहायता परियोजना (एमसीसी)का बारेमा दुई नेताबीच कुराकानी भएको थियो । नेपालको राजनीतिमा वाम शक्तिको महत्त्वपूर्ण र उपस्थिति रहेको भन्दै सुङ थाओले नेकपा एमालेसँग मिलेर निर्वाचन लड्ने सम्भावना कति छ भनेर प्रचण्डलाई सोधेका थिए ।

जवाफमा प्रचण्डले भने ओली पश्चिमा शक्तिहरूको इशारामा चलेकाले तत्काल एकता हुन गाह्रो रहेको बताए ।

चिनियाँ नेताहरूले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग पनि निरन्तर भिडियो वार्ता गर्ने गरेका छन् । एमाले स्रोतले भन्यो, ‘कम्युनिस्ट शक्ति भएकाले निरन्तर कुराकानी भइरहेको हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलन, यसलाई अघि लैजाने विषय, कम्युनिस्ट शक्तिहरूबीचको एकता जस्ता विषयहरूमा कुराकानी भएको छ ।’

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि यतिबेला सक्रिय बनेकी छन् । उनले गोप्य रूपमा भेटघाट तीव्र बनाएकी हुन् ।

एमसीसीलाई लिएर युरोप, अष्ट्रेलियाका राजदूतहरू पनि सक्रिय भएको अवस्थामा चीनले पनि आफ्नो सक्रियता बढाएको छ ।

बुधवार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता महेश बस्नेतले ओलीसँग वार्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दूतहरू पठाउने गरेको खुलासा गरेका थिए ।

एमसीसी र निर्वाचनलाई लिएर सत्तारूढ गठबन्धनमै मतभेद भएको अवस्थामा यसअघि एउटै दलको अभ्यास गरिसकेका नेताहरूबीच भएको कुराकानीलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

कम्युनिस्टहरू मिल्ने भय प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत छ । त्यसैले उनले गठबन्धन नतोड्न हरसम्भव प्रयाससमेत गरिरहेका छन् ।

कथंकदाचित गठबन्धन तोडिएमा यसअघि जस्तै ओली, प्रचण्ड र नेपाल मिलेर चुनाव लड्ने सम्भावनालाई देउवाले निकै नजिकबाट हेरिरहेका छन् ।

एमालेकै कतिपय नेताहरूले पुनः वाम गठबन्धन बन्ने सम्भावनालाई नकार्दैनन । यद्यपी अहिलेको सत्तारूढ गठबन्धनलाई कुनै हालतमा तोड्ने या कमजोर बनाउने उनीहरूको रणनीति अन्तर्गत यस्तो मिडियाबाजी पनि भइरहेको चर्चा चलेको छ ।

नेपालको राजनीतिमा दक्षिणी छिमेकी भारत र पश्चिमी छिमेकी युरोप र अमेरिकाको प्रभाव चिनियाँ प्रभाव भन्दा बढी छ ।

तर पनि नेपालका कम्युनिस्ट पार्टीहरूसँग भगिनी सम्बन्ध रहेको भनिएको चिनियाँ कम्युनिस्ट पार्टी निरन्तर संवादमा देखिन्छ । नेकपा सत्तामा रहँदा नेपालमा चिनियाँ प्रभाव बढेको विज्ञहरूले बताउने गरेका थिए ।

कम्युनिस्ट पार्टीहरूलाई एकजुट बनाउने चिनियाँ प्रयास कायम छ तर पछिल्लो अवस्था हेर्दा ओली, प्रचण्ड र नेपालबीच तत्काल कुनै सहमति हुन सक्ने देखिन्न । ओली एमसीसीलाई निशर्त अघि बढाउने पक्षमा छन् भने प्रचण्ड र नेपाल यथास्थितिमा एमसीसी संसदबाट पास हुनै नसक्ने अडानमा छन् ।

अमेरिकी सहायता परियोजना भएकाले एमसीसीमा चीनको चासो स्वाभाविक हो । चीन-नेपालबीच यसअघि नै सम्झौता भएको बीआरआईलाई अघि बढाउन कांग्रेस र एमाले दुवैको सरकारले चासो दिएको थिएन ।