'चीनले थ्री गर्जेज बनाउँदा यस्तै विवाद थियो, अहिले सम्पन्‍नताको एउटा आधार त्यही हो' - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

‘चीनले थ्री गर्जेज बनाउँदा यस्तै विवाद थियो, अहिले सम्पन्‍नताको एउटा आधार त्यही हो’



काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खेलकुद सम्बद्ध तथा स्यंवसेवी र परोपकारी संघ संगठनका प्रमुख तथा प्रतिनिधिलाई ‘नेपाल भ्रमण वर्ष-२०२०’ भब्य बनाउन उत्साहजनक सक्रियता र सहभागिताका लागि आग्रह गरेका छन्।

मुलुकको समृद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले यसका लागि पूर्वाधारको विकास पहिलो र महत्वपूर्ण शर्त भएको उल्लखे गर्दै मन्त्री भट्टराईले भने, ‘पछिल्लो समय पूर्वाधारको क्षेत्रमा पनि प्रगति भएको छ तर त्यो पर्याप्त छैन।’

त्यसैले सरकार र राजनीतिक नेतृत्वको ध्यान ठूला र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भएपनि यसमा अनेक खालका स्वार्थ समूहले वाधा खडा गर्ने गरेको बताए।

निजगढ विमानस्थलको निर्माण कार्य रोक्न हालै सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशतर्फ संकेत गर्दै उनले भने, ‘काठमाडौंमा हवाई यात्रुको चाप व्यवस्थापन गर्न निजगढको कुनै विकल्प छैन, म आशावादी छु त्यो गम्भीरतालाई सबै पक्षले बुझ्नेछन् ।’

टर्कीको इस्तानबुलमा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा २४ लाख रुख कातिटएको प्रसंग पनि उनले उल्लेख गरे। ‘हाम्रोमा त्यति रुख पनि काटिँदैन।

विमानस्थल बनाइसकेपछि अन्य ठाऊँमा वृक्षारोपण गरेर उनीहरुले त्यो भन्दा धेरै रुख हुर्काइसके’, उनले भने, ‘अहिले इस्तानाबुल विमानस्थल अन्तरार्ष्ट्रिय हवाई उडानको हब बनेको छ। हामी चाहिँ एउटा हाँगो काट्ने कि नकाट्नेमा बहस गरेर बसिरराख्‍ने?’

भट्टराईले चीनले थ्री गर्जेज हाइड्रो पावर बनाउने बेला त्यहाँ पनि यस्तै खालका बहस भएका स्मरण गराए। ‘तर चीनले बनाएर छाड्यो, अहिलेको चीनको सम्पन्‍नताको एउटा आधार त्यही हाइड्रो भएको छ’, मन्त्री भट्टराई भने,’हाम्रो सरकारको पूरा प्रतिवद्धता निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउनेमा छ, त्यो बन्छ ।’

नेपालमा पर्यटन प्रर्वद्धनका लागि २०२० को अभियानले मात्रै नपुग्ने भएकाले सरकार यो वर्षलाई प्रस्थानबिन्दु बनाएर कम्तीमा एक दशकको अभियानमा लागेको उनले उल्लेख गरे।

‘तपाईंहरुको अन्तराष्ट्रिय सम्पर्क र सम्बन्धलाई यो अभियानमा अधिकतम् प्रयोग गर्नुस्,’ उनले भने, ‘भ्रमणको सिजन हुन्छ भन्‍ने प्रचारबाट पनि नेपाललाई मुक्त गर्नुपर्नेथियो। अवश्य पनि भ्रमणको निश्चित सिजन हुन्छ ।

खाडी मुलुकको सिजन जाडोको समय होला, युरोपका देशहरुको पनि खास सिजन होला। तर नेपाल सबै सिजनमा खुला भएको मुलुक हो भन्‍ने बुझाउनु जरुरी छ।’