चीनबाट आउने रेल रोक्न अमेरिकाले एमसीसी ल्याएको खुलासा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

चीनबाट आउने रेल रोक्न अमेरिकाले एमसीसी ल्याएको खुलासा



काठमाडौं- सत्तरुढ दल नेकपाका नेताहरुले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गत सञ्चालन हुने परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सार्वजनिक गर्न माग गरेका छन्।

पार्टी बैठकमै चर्को कुरा उठाएका उनीहरुले बुधबार चीनका राष्ट्रपति सी चिनफिङको भाषण संग्रह सार्वजनिक गर्न राजधानीमा आयोजित कार्यक्रममा डीपिआर सार्वजनिक गर्न माग गरेका छन् ।

स्थायी समिति सदस्य लिलामणी पोखरेल, मुकुन्द न्यौपाने, संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले दूतावासको स्पष्टीकरणको भरमा मात्र एमसीसीलाई संसदबाट अनुमोदनको प्रक्रियामा लैजान नसकिने टिप्पणी गरे।

चीनतर्फबाट आउने रेललाई रोक्न अमेरिकाले ट्रान्समिसन लाइन बनाउने रुट नुवाकोटबाट हेटौंडा, तनहुँ, पाल्पा हुँदै बुटवलको रुट रोजेको उनीहरुको आरोप छ।

‘हामीले चीनबाट रेल ल्याउने कुरा गरेका छौँ। त्यही रेलको बाटोमा पार्ने गरी ट्रान्समिसन लाइन बनाउने गरी परियोजना तय गरिएको छ,’ पुष्पलाल मित्रता केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य पोखरेलले भने।

उनले एमसीसीको विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक नगरेकोमा आपत्ति जनाए। ‘प्रसारण लाइन काठमाडौंको लप्सीफेदी हुँदै नुवाकोट रातमाटे पुर्‍याउने र त्यसपछि हेटौंडा हुँदै तनहुँबाट बुटवल पुर्‍याउनुको उद्देश्य के हो? यसबैबाट छर्लङ हुन्छ,’ उनले भने,‘आयोजनाको डीपीआर चाहिन्छ।’

पोखरेलले एमसीसीको उद्देश्यबारे सञ्चारमाध्यम डराएको आरोप पनि लगाए। कार्यक्रममा नेकपा प्रमुख सचेतक देव गुरुङले संसारभर साम्राज्यवादी गतिविधि बढि रहेकाले त्यसकै बाछिटाहरु आइपुगेको बताए।

अर्का स्थायी समिति सदस्य न्यौपानेले समाजवादी बाटोमा जाने दिशामा सरकारका काम अघि नबढेको भन्दै अहिले आइरहेको विदेशी सहयोग सम्झौतामा प्रश्न उठाए।

केन्द्रीय सदस्य खतिवडाले एमसीसी परियोजनामा संलग्न रहने अमेरिकी नागरिकलाई फौजदारी अपराधमा संलग्न भएपनि नेपालमा मुद्दा चलाउन नपाउने सम्झौताको सर्त आपत्तिजनक भएको बताए।

सम्झौताकै सर्तहरुका कारण पछि नेपालमा आयोजना सुरक्षाका हाम्रो आफ्नै सुरक्षाकर्मीमात्र राख्न नपाउने अवस्था पनि आउनेतर्फ उनले सचेत हुनुपर्ने बताए।

नेकपाका नेता कार्यकर्ताहरु उपस्थित रहेको कार्यक्रममा एमसीसीमाथि नेताहरुले कडा कुरा गरे। तर कार्यक्रममा उनीहरुले चीन भने समाजवादको पवित्र उद्देश्यले संसारको मानव कल्याणका लागि अघि बढि रहेका भन्दै प्रसंशा गरे।

उनीहरुले चीनले सञ्चालन गरेको बीआरआई सही खालको नीति भएको बताए। त्यस अवसरमा पुष्पलाल मित्रता केन्द्रले चीनका राष्ट्रपति सी चिनफिङको भाषणहरुको संग्रह भाग एक र भाग दुई सार्वजनिक गरेको थियो।