संस्मरण : हास्यव्यंग्यको दोकान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

संस्मरण : हास्यव्यंग्यको दोकान



– मनोज गजुरेल

 

अब कामको कुरा सुन्नोस् । जापानमा विभिन्न प्रकृतिकाका होटेलहरू ह्ुन्छन् । ती मध्ये ‘लव होटेल’ पनि एउटा हो । शब्दै काफी छ, यो लभ गर्ने होटेल हो । पूर्ण कानुनी मान्यताप्राप्त ‘मोजनालय’ हो । चुपचाप आउँछन् । काउण्टरमा कार्ड छिराउँछन् । पैसा तिर्छन् । रुमको कि लिन्छन् । १,२ घण्टा मोज गर्छन् र लुसुक्क फकिन्छन् । को आयो, को गयो कसैलाई थाहा हुँदैन । लभ होटेलको लाभ नै यही हो ।

सन् २००३ को जनवरी महिना । ठ्याक्कै तारिखचाहिँ थाहा छैन । जापानको नम्बरबाट एउटा फोन आयो, ‘हेलो, मनोज गजुरेलजी बोल्नु भएको हो ?’ फोन गर्नेको स्वर यति मसिनो थियो कि उनी कि त सुतेर बोल्दैछन् कि त उनलाई कण्ठसमस्या छ । ‘हजुर हो तर भोल्यूम साह्रै सानो आयो ।’ मैले भनेँ ।

‘ए हो ?’ उनले कुरा बढाए, ‘म जापानबाट हो तिलक मल्ल बोल्दैछु, तपाईँलाई जापान बोलाउनु पर्‍यो भनेर कल गरेको ।’
उनको आवाज बढ्ला भनेको झन् मसिनो पो भयो । यस्तो मसिनो कि अब त उनी घाँटीबाट हैन नाभीबाट बोल्दैछन् । ‘जापान जाने’ कुरो आएपछि रिसिभर कान टपक्क टाँसे, र भनेँ, ‘हजुर, हजुर, हजुर ।’

तिन वटा हजुरको अर्थ हुन्थ्यो, जालमा पर्न लागेको माछो उम्किएला भनेर जोडले जाल समाएजस्तै हो ।

किनभने त्यो बेला मेरो हास्यव्यङ्ग्यको दोकान अहिलेजस्तो ‘भाटभटेनी सुपर मार्केट’ भैसकेको थिएन, ‘भृकुटी माण्डपको खुद्रा बजार’मात्र थियो । त्यस अघि म हंगकंग र कतारमात्र गएको थिऐं, जापान जाने प्रसङ्ग आएपछि मलाई हतार भैहाल्यो ।

कुरा गर्दै जाँदा परिचय भयो, म्याग्दीका मल्लजी नेप्लिज कम्युनिटि ईन जापानसँग आबद्ध रहेछन् । पत्रकारिता र समाजसेवामा सक्रिय उनले मेरो नाम राष्ट्र्बैंकका मीन बहादुर श्रेष्ठमार्फत थाहा पाएका रहेछन् ।

‘कति छ तपाईँको रेट ?’ पहाडजत्रो प्रश्न तेस्र्याए । मैले कपासजस्तो उत्तर दिऐं, ‘चाउचाउमा जस्तो प्राईजलिष्ट टाँसेको छैन, फलफुलजस्तो बार्गेनिंग गर्न सकिन्छ ।’ उनको आवाज बढ्ने अवस्थै छैन । बरु मेरो जापानको यात्रा सम्झेर होला, चर्को चर्को भइरहेको छ । मल्लजीले कुरो राखे, ‘हामी तपाईँलाई एक लाख दिन्छौँ, हुन्छ ?’

‘एक घण्टा कार्यक्रम गरेको एक लाख ††’ मैले सोचेकै थिईंन, मेरो भित्र बाहिर झिलिक्क बत्ती बल्यो । जापानको भिसा लाउने, जहाज भाडा दिने, ख्वाउने, बसाउने, ताली पड्काउने, घुमाउने अनि एक लाख पनि दिने † ‘नाइँ’ भन्ने कुरै हैन । तर पनि लोभी मनले ब्यहोरा देखाई हाल्यो, ‘अलिकति थप्न मिल्दैन सर ?’

म पहिलो पटक १९९८ मा विदेश गएको हंगकंग हो, त्यहाँ तिस हजार पाएको थिऐं । त्यसपछि सन् २००० को कतारको कार्यक्रममा ३५ हजार मिलेको थियो । अहिले जापान जाने अवसर मिलेको छ । एक लाख मिलेको छ तर पनि लोभीमनले लालच देखाउंंछ । फाईलन डिलमा मल्लराजाले म्याग्देली लवजमा भने, ‘तपाईँलाई खुसी पारौम्ला का †’

स्पोन्सन लेटर आयो । स्पोर्नसकर्ताको नाम थियो, इन्दिरा सुजुकी । मैले ठानेँ, साहित्यक नाम होला । जस्तो कि राधेश्याम लेकाली, चेतेन्द्रजंग हिमाली, गोपाल पहाडी, मनोज मधेस भनेजस्तै कुनै इन्दिरा अर्याल वा गुरुङले ‘सुजुकी’ उपनाम राखेकी होलान् । अथवा सरु नामकी युवतीको प्रेम वियोगमा भक्तबहादुर श्रेष्ठले ‘शरुभक्त’ बनाएजस्तै कुनै ‘सुजन’नामको युवकले धोका दिएपछि इन्दिराले ‘सुजुकी’ उपनाम राखेको हुनसक्छ ।
जापान पुगेपछि थाहा भयो, सुजुकी साहित्यिक हैन, वैवाहिक नाम रहेछ । पोखराकी इन्दिरा गुरुङ दिदीले सुजुकी थरका जापनिज भिनाजुसँग बाजा बजाएपछि इन्दिरा सुजुकी भएकी रहिछन् ।

मलाई यस्ता नाम बढो रमाइलो लाग्छ, जो सुन्दा अर्थ न बर्थ खालका लाग्छन्, बुझ्दा अर्थपूर्ण लाग्छन् । जस्तो कि, इन्दिरा सुजुकी, नरेन्द्रजंग पिटर, महेश यादव अधिकारी, निमा ग्याल्जेन श्रेष्ठ, ल्हाक्पा शर्मा, राजु मियाँ, देबीमाया खातुन आदि । यी नामहरू वैवाहिक सम्बन्धले जोडिएका हुन सक्छन् । फरक धार्मिक र सांस्कृतिक क्षेत्रबिचको सहभागिताले बनाएका हुन सक्छन् । अर्कै धर्म संस्कृतिको मानिसलाई अर्कै संस्कृतिवाला सँग मनै देखी जोड्ने माध्यम अन्तरजातीय, अन्तर सांस्कृतिक र अन्तर्राष्ट्रिय विवाह मलाई त मज्जा लाग्छ ।

नेपालकी छोरी जापानका बुहारी इन्दिरा सुजुकीको निमन्त्रणमा जापान पुगेँ । कार्यक्रम सम्पन्न भयो । बलबुताले भ्याएसम्म हँसाइयो । हप्ता दिन पछि फकर्ने सुरसार भयो ।

‘तिन महिनाको भिसा छ, सात दिन मै त के फर्कनु ।’ आयोजक समितिका शालिकराम भण्डारीजीलाई भनेँ । उनले भने, ‘दुई सातामा दुईवटाजति कार्यक्रम मिलाउन त सकिएला, तर बाँकी दिन कसरी बिताउनु हुन्छ ?’ मैले भने, ‘काम । काम पाईदैन, सन्डे सण्डे छुट्टी मिल्ने गरी ?’ मैले ठट्टा गरेँ । उनले सिरियस लिएछन्, ‘त्यसो हो भने म खोजौँला नि त । यहाँका थुप्रै सेलिब्रेटीहरु आफ्नो अफ् सिजनमा काम गर्छन् क्यारे ।’ म पनि सिरियस भऐं, ‘कति पैसा हुन्छ र ?’ भने, ‘महिनाको एक डेढ लाख त भैहाल्छ नि ।’

मनको क्यालकुलेटर चल्न थाल्यो । कार्यक्रमहरूबाट २ लाख जति आउला † कामबाट डेढ दुना तिन लाख जति हुन्छ † तिन दुई पांचलाखमा एक लाख जतिको सपिङ गरे पनि ४ लाख चोखो बंच्छ † नेपाल गएर दुई लाख जति तानतुन पारिएला † ६,७ लाखको पुँजी माटोमा हालियो भने मेरो पनि काठमाडौँमा घडेरी हुन्छ † खुसुक्क कुनामा पसेर भाँडा माझ्न थाल् कान्छा † अन्तरमनले आदेश जारी गर्‍यो ।

किनभने त्यो बेला नेपालमा कार्यक्रम त हुन्थे तर दक्षिणा ज्यादै कम मिल्दथ्यो । धेरैजसो पार्टी र सङ्गठनका कार्यकम पैसै आउँदैनथ्यो । आएपनि हिँड्ने बेलामा खुसुक्क खाम दिन्थे । घरमा गएर गन्दा ट्याक्सी भाडा पनि पुग्दैनथ्यो । २,३ पटक खाली खाम हातमा परेपछि सुरु गरेको थिऐं, खाम पाहुना साथ बाथरुम तिर लाग्ने चलन ।

भण्डारीजीले एउटा ‘सिगोतो’ अर्थात् काम खोजी दिए । काम गर्ने ‘खाईसा’ थियो, किचिजोजी भन्ने ठाउँमा । यो ठाउँ सेन्ट्र्ल टोकियोबाट अलि टाढा थियो । यो सिटीको सुदुरपुर्वमा । खाना फ्री, बस्न फ्री, मासिक एक लाख बिस हजार नेपाली बराबरको जापानी ‘ओखाने’ अर्थात् रकम फ्री । साथमा एउटा बम्पर उपहार पनि थियो, प्रत्येक आइतबार छुट्टी मिल्ने । त्यही मौकामा एउटा कार्यक्रम पनि भ्याईहाल्न मिल्थ्यो ।

सोमबार बिहानै भण्डारीजीले काममा पुर्‍याई दिए । केही नेपाली साथी पनि रहेछ । तर कसैका नाम इसिगावा, कसैको तोकायामा, कसैले चिरुसान, कसैको यामोतो थियो, जो अधिकांश ओभरस्टे थिए । प्रहरीले जुनसुकै बेला रेड हान्न सक्थ्यो । त्यसैले सबैको अनुहारमा एउटा त्रास, अन्योल देखिन्यो । बिस्तारै बोल्थे ।

मलाई पहिलो पटक जापानबाट फोन गर्ने तिलकजीको पनि त्यही अवस्था रहेछ । ठुलो स्वरले बोल्दा कम्प्लेन गर्दिन्छन् भनेर मसिनो आवाज बोलेका रहेछन् । पछि बानी नै त्यस्तो परेछ । मेरो कामका नयाँ साथीहरू पनि सानो स्वरमा बोल्दथे । मैले ठुलो स्वरले बोल्दा पनि ‘स्स्स’ गर्दै मेरो बोलीमा ब्रेक लगाउँथे ।

मेरो नाम ‘मोनो सान’ राखिदिएका थिए । जापानिजहरु ‘ल’, जस्ता अक्षर फुटाउन सक्दैनन् । साथीहरू भन्थे, ‘यिनीहरूको जिब्रो मात्र हैन, सबै थोक छोटो हुन्छ ।’ गजुरेललाई ‘गाजुरेरु’। नेपालीलाई ‘नेपारु’ भन्थे । म पनि उनीहरूलाई ’जापारु भनेर जिस्काउँथे ।

अब कामको कुरा सुन्नोस् । जापानमा विभिन्न प्रकृतिकाका होटेलहरू ह्ुन्छन् । ती मध्ये ‘लव होटेल’ पनि एउटा हो । शब्दै काफी छ, यो लभ गर्ने होटेल हो । पूर्ण कानुनी मान्यताप्राप्त ‘मोजनालय’ हो । चुपचाप आउँछन् । काउण्टरमा कार्ड छिराउँछन् । पैसा तिर्छन् । रुमको कि लिन्छन् । १,२ घण्टा मोज गर्छन् र लुसुक्क फकिन्छन् । को आयो, को गयो कसैलाई थाहा हुँदैन । लभ होटेलको लाभ नै यही हो ।

नामः मोनो सान । पोष्टः क्लिनिंग ब्वाई ।
काम स् मोज गरेपछि रुममा सफा गर्नुपर्ने ।
१० बाइ १० को कोठा । मिनिबार । ट्वाइलेट । बाथरुम । अफुरो । बेड, भुईँ सबै गरेर जम्मा ५ मिनेटमा सफाइ गरिसक्नु पर्ने । किनभने ६ मिनेटपछि अर्को जोडी खरिएर आइसकेको हुन्थ्यो ।

कति नम्बर रुममा खाली हुन लाग्यो, इन्डिकेटरमा हेर्दै बस्नु पर्दथ्यो । जब हरियो बत्ती बल्छ तब दौडिएर जानु पर्दथ्यो । त्यसैले सेन्ट्र्ीमा बसेको सेनाझैँ सम्पूर्ण हात हतियार सहित स्टेण्डबाई हुनुपर्छ ।

सुन्नोस्, पोजिसन कस्तो हुन्छ । देब्रे हात तिनिक्क तन्काएको हुन्छ । कुमको छेउमा बेड कभर, कुहिनुको छेउमा भुईँ पुछ्ने पुछर, नारीमा सिरानेको खोल, हत्केलामा कण्डोम, जेल सहित अन्य मोज पदार्थहरू । दाहिने हातमा परफ्युम, सिगरेट, साबुन, कलिन्द, सहितका थुप्रै सामाग्री सहित रेडी हुनु पर्दथ्यो । कति खेर गेट, सेट हुने हो त्यसपछि गो गर्नुृ पर्दथ्यो ।

‘मोनो सान हायाकु, हायाकु ।’ साँचो अर्थात् म्यानेजरले जहिल्यै ‘छिटो गर् छिटो गर्’ भन्थ्यो । उनीहरूको स्पिडमा हामी कामै गर्न नसक्ने । ढिलो गर्‍यो भने, ‘बुता’ भनेर हेपिहाल्थ्यो । जापानिजमा सुँगुरलाई बुता भन्छन् । जतिसुकै सफा गरे पनि उसको चित्तै बुझ्दैनथ्यो, ‘दामे’ भन्दै धकेल्थ्यो । दामे अर्थात् भएन, हुँदै भएन भनेको हो ।

एकदिनको घटना । हतियार सहित रुममा प्रवेश गरेँ । बाथरुम सफा गरेँ, भुंइ पुछे, टेबल, कुर्सी, मिलाऐं । बेड कबर चेन्ज गर्नलाई पुरानो बेड कबर तानेँ । बेड कबरसंगै लामो गिलो बस्तु हातमा पर्‍यो । म आत्तिएर कराऐं, ‘अब्बुई ।’ अर्को रुममा म्यानेजर रहेछ । उ दौडिँदै आएर सोध्यो, ‘नानी ?’ बेडतिर देखाउँदै भनेँ, ‘सर्प ।’ उ बेडमा आएर सर्प खोज्दै सोध्यो, ‘नानी सारुप ?’ नभन्दै उसले सर्पजस्तै गहुँगोरो बस्तु भेट्यो र मलाई दिदैभन्यो, ‘सारुप ।’ वास्तवमा त्यो सर्प थिएन, सर्पजस्तै पुरुष यौनांग थियो । भरखरै गएका लभजोडीले प्रयोग गरेर छोडेको थियो । म्यानेजरले सङ्केत गर्दै त्यो यौन सामग्री भएको र धेरै जापानीले यो प्रयोग गर्ने बतायो । मैले बल्ल बुझे, ‘जापानिजको जिब्रो मात्र हैन सबै थोक छोटो हुन्छ भनेर किन भनेका रहेछन् ।’

याहु च्याटमा साथीहरूसँग कुरा हुन्थ्यो । ‘यति लामो समयसम्म के गर्दै हो जापानमा ?’ म जवाफ दिन्थेँ, ‘ला फेस्ता कलेजमा होटेल म्यानेजमेन्ट गर्दैछु ।’ आफन्तले सोध्दा ‘थुप्रै कार्यक्रम छन्’ भन्थेँ । मोजजोडीले प्रयोग गरेका कण्डमहरु छुन मलाई सबैभन्दा घिन लाग्दथ्यो तर सबैभन्दा बढी त्यही गर्नु पर्दथ्यो । त्यसैले मैले कण्डमलाई कण्डम नभनेर कम घिनलाग्ने नाम ‘टोपी’ राखेको थिए । अर्थात् टोपी टिप्ने काम ।

दुई महिना पच्चिस दिनमा ४ लाख बढिको पोको बोकेर फर्किए, युवा हास्यकलाकार मनोज गजुरेल । जसको जगमा आज उनले आफ्नो परिवारलाई मध्यम वर्गीय जीवन बाँच्ने अवस्थामा पुर्याएकाछन् ।

अहिले बिचार गरेर ल्याउँदा मैले गलत गरेंजस्तो लाग्दैन । कलाकारका नाममा मान्छे बेचिन । पैसाको अति मोहले उतै बसिंन । प्राप्त भिसाको अत्यधिक सदुपयोग गरेँ । छुट्टीको दिन कार्यक्रम गरेर नेपालीलाई हसाऐं । अरू दिन टोटिका गरेर जापानिजलाई मनोरञ्जन गराऐं । यथासमयमा स्वदेश फर्किएर कलाकारितालाई निरन्तरता दिऐं । गल्ती गरेँ र ?

विदेशको मोहले मलाई नतानेको पनि हैन । केही वर्ष बसेर फर्किदा राम्रो हुने पारिवारिक सुझाव नआएको पनि हैन । तर तिलक मल्लजीको त्यही एउटा भनाइले आज मनोज गजुरेल नेपाललाई केन्द्र बनाएर विश्वका तिन दर्जन देशमा पुगेको छ । आत्म सम्मानमा बाँचेको छ । नेपालीको माया पाएको छ । कम भाग्यमानी हुँ र ।

मल्लजीले भनेको थिए, ‘तपाईँ बस्ने इच्छा छ भने बस्नोस् तर तपाईँजस्तो मान्छे बस्ने हैन । देश फर्कर्नु पर्छ ।’ मैले सोधेँ, ‘तपाईँ बस्न हुने, म किन नहुने ?’ उनको जवाफ थियो, ‘ तपाईँ यहाँ इलिगल बस्ने हो । जुनसुकै बेला पक्राउ पर्न सक्नुहुन्छ । दाग लाग्छ तपाईँको करियरमा । मानौँ, १० वर्ष बस्नु होला,रे, तपाईँको पारिवारिक सम्बन्ध अस्तव्यस्त हुन्छ । १० वर्षमा डेढ करोड कमाउनु होला रे तर यो आनन्द, यो खुसी, यो मान सम्मान भन्दा त्यो डेढ करोड बढी हुन्न । फेरी तपाईँले प्रयास गर्नुभयो भने जापान बसेर डेढ करोड कमाउनेभन्दा नेपालमा फर्केर आफ्नो कलाकारिता निखारेर संसार घुमेरै तपाईँले त्योभन्दा धेरै कमाउनु हुन्छ ।’

मल्लजी, ज्योतिषी त हैनन् तर उनको भविष्यवाणी समयले पुराइृदिएको छ । मैले ठिक गरेँ कि गरिन्न, त्यो आफ्नो ठाउँमा छ । तर, मलाई स्वदेश फर्काएर उहाँले देशलाई सानो तिनो कलाकार दिनु भयो, धेरै धेरै दोमो आरिगातो गोजाईमास् तिरुकसान् ।

– मनोज गजुरेल प्रख्यात व्यङ्ग्य कलाकार तथा व्यङ्ग्य लेखक हुनुहुन्छ |