संसदमै उठ्यो छायाँ कम्प्लेक्स भत्काउनुपर्ने आवाज - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

संसदमै उठ्यो छायाँ कम्प्लेक्स भत्काउनुपर्ने आवाज



ठमेलमा सार्वजनिक पाेखरी मिचेर बनाइएकाे व्यापारिक भवन छाया कम्प्लेक्स भत्काउनुपर्ने आवाज संसदमै उठेको छ ।

सांसद प्रेम सुवालले छायाँ कम्प्लेक्स भत्काउन आवश्यक रहेकाे बताए । साेमवार प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सुवालले यस्ताे बताए ।

भारतको नाेयडामा नियम मिचेर बनाइएकाे गगनचुम्बी ट्विन टावरमा विस्फाेटक पदार्थ राखेर भत्काएकाे उदाहरण हिँदै उनले काठमाण्डाैकाे सार्वजनिक ठाउँ कमल पोखरीकाे जग्गा मिचेर बनाइएकाे छाया कम्प्लेस भत्काउनुपर्ने बताएका हाे ।

यस्तै उनले त्रिभुवन विश्वविद्यालय तीन वर्षमा तीन सय दिन तालाबन्दी भएकाले तीन वर्षयता प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरूलाई स्पष्टीकरण सोध्नुपर्ने बताए । युद्धको समयमा समेत विद्यालय र विश्वविद्यालय सञ्चालन भएका देशहरू धेरै रहेको उनकाे भनाइ छ ।

सांसद सुवालले चुनाव घोषणा भएपछि संसद् चलिरहने आचारसंहिताको उल्लङ्घन भएको गुनासो भएकाले तत्काल संसद् अन्त्य गर्न माग गरे । उनले उल्लेखित विषयमा सभामुखसँग रुलिङको मागसमेत गरे ।

सांसद दिव्यमणि राजभण्डारीले गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गरेका छन् ।

राजभण्डारीले गोरखा सैनिकको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका हुन् । उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाइएको बताए ।

त्यस्तै सांसद दीपकप्रकाश भट्टले विद्यालयमा काम गर्ने शिक्षकहरूको संस्था नेपाल कर्मचारी परिषद्ले उठाएका मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । उनले विद्यालय व्यवस्थापन र विद्यालयका कर्मचारी दुईतर्फ भइरहेकाले उनीहरूको जायज माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताए ।

सांसद दुर्गाकुमारी विश्वकर्माले आउँदाे मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको चुनावमा विदेशमा हुने नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउन माग गरिन । उनले अहिले ४५ लाख नेपाली विदेशमा रहेका तर अहिलेसम्म चुनावमा मत दिने अधिकार नपाएका बताइन । सांसद विश्वकर्माले सम्बन्धित दूतावासबाट भोट हाल्न पाउने व्यवस्था गर्न पनि माग गरिन । उनले नेपालमा नै रहेर नेपाली विभिन्न उद्योगमा काम गर्ने नागरिकले भोट दिन नपाएको अवस्था रहेको भन्दै उनीहरूलाई पनि भोट हाल्ने वातावरण बनाउन माग गरिन ।

त्यस्तै सांसद नवराज सिलवालले ललितपुरको ठूला दुलुङ क्षेत्रमा उत्पादन हुने कफी खेतीलाई प्रवर्द्धन गर्न आर्थिक र प्राविधिक प्याकेज माग गरे । उनले त्यस क्षेत्रमा १२ सय परिवार कफी खेतीमा संलग्न भएर युरोपमा कफी निर्यात गरिरहेका बताए ।

सिलवालले यो वर्ष झन्डै नाै टन कफी निर्यात गर्ने किसानले लक्ष्य राखेको पनि बताए । त्यहाँका किसानले मन्त्रालयमा गएर कफी खेती प्रबन्धन गर्न आर्थिक सहयोग माग गर्दासमेत सरकारले कानमा तेल हालेर बसेको उनकाे आरोप छ ।

सांसद पार्वता जिसी चौधरीले माओवादी र कांग्रेसको अपवित्र गठबन्धनले देश र पार्टी दुवैको हित नगर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु नागरिकसँगको बेइमानी भएको भन्दै नेपाली कांग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरे । उनले प्रधानमन्त्री देउवालाई कांग्रेस आउँदाे चुनावमा एक्लै जाने घोषणा गर्न सुझाव दिए ।

त्यस्तै सांसद अञ्जना बिसुङ्खेले आउँदाे चुनावमा महिलाका लागि निर्वाचन आरक्षण तोकी कानुन बनाएर समानुपातिक सहभागिता कायम गर्न सरकारसँग माग गरिन । उनले आरक्षण ताेकेर तत्काल विधेयक ल्याउन सभामुखलाई रुलिङ गर्न माग गरिन ।

सांसद डा.विजय सुब्बाले साझा प्रकाशनलाई कक्षा ११ को पाठ्यपुस्तक छाप्न दिने निर्णय भए पनि स्वीकृत नभएको भन्दै तत्काल फाइल स्वीकृत गर्न माग गरे । उनले योभन्दा अगाडिका ६ जना शिक्षामन्त्रीले साझा प्रकाशन केन्द्र डुबाएको पनि आराेप लगाए । शिक्षामन्त्रीलाई साझा प्रकाशनको विषयमा गलत सूचना गएको उनले बताए ।