कहाँ बस्ने ? छाउगोठमा सरकारको डर, घरभित्र देउताको डर - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कहाँ बस्ने ? छाउगोठमा सरकारको डर, घरभित्र देउताको डर



काठमाडौं- महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ।

प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ जस्ताको तस्तै छ।

त्यसैले महिनावारी भएका महिलाले घरभित्र बास पाएका छैनन्।

कतिपय त भत्काइएकाछाउगोठ बनाउन थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा अछामबाट शान्ति तामाङ, तेजराज भट्ट र धु्रब बिसीले लेखेका छन्।

आइतबार अछामको तुर्माखाँद गाउँपालिका ५ धाङ्टाकी कला विक भत्काइएको छाउगोठ मर्मत गर्दै थिइन्।

शनिबार महिनावारी भएकी उनी ‘देउता रिसाउने डरले घरभित्र पसिनन्। भत्काइएको छाउगोठमा रात बिताइन्।

मर्मत गर्दै गरेको गोठ फेरि गाउँपालिकाको टोली आएर भत्काइदिन्छ कि भन्ने पिर उनको मनमा छ।

‘बाहिर बस्दा सरकारको डर छ, भित्र देवी देउताको’, कलावतीले भनिन्, ‘महिनावारी हुँदा सधैँ छाउगोठमा बस्थ्यौँ, अहिले कसरी भित्र छिर्नु।’

जनप्रतिनिधि र प्रहरी आउँदा छाउगोठ छाडेर भागाभाग गर्ने महिला राति भने भत्केकै गोठमा बस्छन्, भौतिक गोठ भत्किएका छन्, तर मानसिक गोठ भत्काउन चेतना अभियान आवश्यक छ।