माननीयज्यू, तपाईँको हिम्मत छ ? - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

माननीयज्यू, तपाईँको हिम्मत छ ?



~कुमुद अधिकारी~

माननीय सांसदज्यूहरू तपाईँहरूको माग दस करोड थियो। अर्थमन्त्रीले छ करोड दिनुभयो तपाईँहरूलाई। आफ्नो संसदीय क्षेत्रको विकासका नाममा तपाईँका हातमा आइपुगेको छ छ करोड। माननीयज्यूहरू नेपालजस्तो मुलुकका गरिब जनताका लागि छ करोड सानो रकम हैन। साँच्चै भन्नु हो भने यसले ठूलै गर्जो टार्छ। त्यही रकम तपाईँका हातमा छ। के गर्नका लागि आफ्नो संसदीय क्षेत्रको विकासका लागि।

माननीयज्यूहरू गरिब नेपाली जनताले कर तिरेर जम्मा गरेको देशको ढिकुटीबाट दस करोड माग्नुअघि के तपाईँहरूसँग आफ्नो क्षेत्र विकासको गुरुयोजना थियो ? के तपाईँलाई आफ्नो क्षेत्रमा के कस्ता स्थानीय निकाय छन् ? तिनीहरूले कसरी विकास योजना बनाउँछन् ? कसरी विकास योजना लागू गर्छन्, थाहा छ ? आफ्नो क्षेत्रको नगरपालिकाको मेयरसँग, गाउँपालिकाको अध्यक्षसँग स्थानीय कार्यालयका विकास अधिकारीहरूसँग छलफल त गर्नु भएकै होला। यसपाली तपाईँको क्षेत्रमा कुन कुन बाटो पिच हुँदैछ ? कतिवटा पुल बन्दैछन् ? कतिवटा तुइन् तपाईँ हटाउँदै हुनुहुन्छ ? आधुनिक कृषिका लागि तपाईँ के गर्दै हुनुहुन्छ ? विद्यालय, कलेजतिर ध्यान गएको छ कि छैन ? विद्यालयमा पुस्तक पुऱ्याउन सोच्नु भएको छ कि छैन ? तपाईँको क्षेत्रमा खाने पानीका लागि कति हिँड्नुपर्छ ? स्थानीय विकास अधिकारीहरूसँग तपाईँले योजना गरेकै होला ?

यी र यावत् यस्ता प्रश्नहरूले तपाईँलाई घेर्दैनन्। यदि यी प्रश्नमध्ये केहीको जबाफ मात्र सकारात्मक भयो भने, तपाईँले केही गर्नुहोला कि ? खै मैले त आजसम्म यो क्षेत्रको यो विकास सांसदले पाएको निर्वाचन क्षेत्र विकास कोषले गरेको हो भनेर कतै उल्लेख्य(देख्तै नदेखेको हैन, तर देखेको भए पनि विद्यालयको गेटजस्ता अनुत्पादक र जीवनको स्तर उठाउने काम देखेको छु), सम्झिनयोग्य र दिगो केही देख्न पाएको छैन। हुनसक्छ मेरो नजर कमजोर होओस्, मैले नजानेको होओस्, जानकारी लिन नसकेको होओस्। तर धुर्मुस-सुन्तलीले एकीकृत नमूना बस्ती बनाएको त सबैले देखे। मैले पनि देखेँ।

माननीयज्यूहरू तपाईँहरूसँग अलिकति पनि इमान भए, देश र नागरिकका लागि केही गर्ने अठोट भए त्यो छ करोडले धेरैथोक गर्न सक्छ। केही उदाहरण दिने धृष्टता गरेँ –

  • छ करोडले कतिवटा एकीकृत नमूना बस्ती बन्न सक्छन् ? हिसाब गर्नुहोस् त ? अहिले पनि हाम्रा देशमा घर नहुने नागरिक कति छन्, भए पनि सानो हावाहुरी चल्दा उनीहरूको सर्वस्व जान्छ। तिनीहरूलाई तपाईँले कतिवटा घर बनाइदिन सक्नुहुन्छ ?
  • छ करोडले तपाईँको संसदीय क्षेत्रका कतिवटा विद्यालयलाई पुस्तकालय बनाउन पुग्छ। कति पुस्तक किनिदिन सक्नुहुन्छ तपाईँ ?
  •  विद्यालय जान चाहने तर गरिबीले जान नसक्ने कति विद्यार्थीलाई पढाउन सक्नुहुन्छ ?
  • आफ्नो क्षेत्रमा कतिवडा साना(माइक्रो) जलविद्युत योजना निर्माण गर्न सक्नुहुन्छ ? उज्यालो छर्ने भनेर तपाईँलाई नागरिकले जिताएको होइन र ?
  • सिटामोल त थाहा छ नै होला ? नेपालमा सिटामोल पनि खान नपाएर मर्ने नागरिक कति छन् थाहा छ ? तपाईँको छ करोडले कति गोली सिटामोल आउँछ ? कति जनतालाई कति महिना पुग्छ ?(तीन करोड नेपालीलाई बराबर बाँड्दा प्रति नेपाली रुपैयाँ दुई। दुई रुपियाँको सिटामोल होलसेलमा किन्दा चारवटा त आउला कि ?) अनि सबै साँसदको रुपैयाँ हिसाब गर्दा एक जना नागरिकको हातमा तीन सय बीस रुपैयाँ ?
  • छ करोडले साना उद्योग पनि निकै चल्लान् ? खोली दिने कि ? केही युवालाई देशमै राख्ने कि ?
  • सहरहरू कुरूप छन्, प्राचीन सम्पदाहरू मासिइसके। विकासको अन्धो दौडमा हामीले पृथिवीको सहतमा सिमेन्ट थुपारेको थुपाऱ्यै छौँ। सम्पदा संरक्षणका विषयमा केही सोच्नु भएको छ कि ?
  • हाम्रो देशमा राज्यबाट सबैभन्दा पीडित किसान हुन् ? किसानका लागि के योजना गर्नुभएको छ ? काठमाडौँमा हामी नक्कली दूध खान्छौँ र उता पशुपालक सडकमा दूध पोख्छन्। यता हामी विषादीयुक्त टमाटर महङ्गो हालेर किन्छौँ, उता किसान बन्दाकोपीबारीमा डोजर चलाउँछन्। तपाईँले लिएको छ करोडले सो कुरा मिलाउन कतै सयहोग गर्थ्यो कि ? गाईभैँसी पाल्न किसान अलिकति खुसीले मुस्कुराउँथे कि ?

यी त मजस्तो अल्पशिक्षितले भनेका केही कुरा मात्र हुन्। यस्ता काम अझ कति छन् कति। माननीयहरू तपाईँहरूले साँच्चै चाहनुभयो भने, धेरैथोक हुन्छ। तर मलाई लाग्छ, कुरोको चुरो अन्तै कतै छ।

एउटा अर्को छुच्चो सुझाव दिन्छु। हिम्मत गर्नुहोस्।

“मेरो निर्वाचन क्षेत्रको विकास स्थानीय निकायले गर्छ, म त्यहीँ गएर अनुगमन गर्छु। त्यहीँ सघाउँछु। यो रकम पनि त्यतै पठाइदिनुहोस्। म लान्नँ। म फिर्ता गर्छु। यो रकमले विकासै होस्।” यति भन्दै छ करोड फिर्ता गर्ने हिम्मत छ ?
हँ, माननीयज्यू, हिम्मत छ ?