माओवादीका नेता बने एमालेको नगर अध्यक्ष - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

माओवादीका नेता बने एमालेको नगर अध्यक्ष



काठमाडौं- रुपन्देहीमा पूर्वमाओवादी नेता एमालेको नगर अध्यक्षमा चयन भएका छन् । रुपन्देहीको सैनामैना नगरपालिकामा पूर्वमाओवादी नेता चेतनारायण न्यौपाने एमालेको नगर अध्यक्ष बनेका हुन्।

लामो समय माओवादीको राजनीति गरेका न्यौपाने पछिल्लो समय एमालेमा सक्रिय बनेका थिए । सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र विउँतिएपछि एमालेमै रहेका न्यौपानेएमालेबाटै नगर अध्यक्ष बनेका छन् ।

मंगलबार भएको नगर अधिवेशनबाट पनि उनी सर्वसम्मत नगर अध्यक्ष चयन भएका हुन्। यसअघि माओवादीमा र पछि नेकपामा रहँदा पनि न्यौपानेले सैनामैना नगरमा पार्टीको नेतृत्व सम्हालेका थिए।

२०७४ सालको स्थानीय चुनावमा उनी सैनामैनाको मेयरको उम्मेदवार पनि हुन्। २०४६ सालबाटै राजनीतिमा सहभागिता जनाए पनि २०५२ सालमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)को पार्टी सदस्य भएका थिए। २०५६ सालमा नेकपा माओवादीमा आबद्ध भए।

माओवादी खुल्ला राजनीतिमा आइसकेपछि कपिलवस्तुको मोतीपुर गाउँ कमिटीको प्रमुख भएका थिए। रुपन्देहीमा आएपछि पार्टीको जिल्ला कमिटि सदस्य र साविक दुधराक्ष र सैनामैना गाउँ कमिटीको इन्चार्ज भए। नगरपालिका भएपछि माओवादीको सैनामैना नगर संयोजक र अधिवेशन भइसकेपछि अध्यक्ष बने। एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनी नगर अध्यक्ष भए।

सर्वोच्चको फैसलापछि नेकपा विभाजन हुँदा माओवादीबाट प्रदेश सांसद भएका दधिराम न्यौपाने, जिल्ला नेता अनुप बराल लगायत एमालेमै रहे। माओवादीमा नफर्केपछि दधिरामको सांसद पदसमेत गुमेको थियो।