सरकारको ‘सर्च एण्ड अरेस्ट अपरेसन’ : प्रहरी चौकीमा विप्लवको 'थ्रेट' - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

सरकारको ‘सर्च एण्ड अरेस्ट अपरेसन’ : प्रहरी चौकीमा विप्लवको ‘थ्रेट’



काठमाडौं । सोलुखुम्बु प्रहरी चौकीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको लडाकु समूहको आक्रमणको प्रयास असफल भएपछि देशभर सुरक्षा संयन्त्रलाई ‘हाई अलर्ट’ राखिएको छ ।

प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आक्रमण गर्न सक्ने भन्दै ‘अलर्ट’ रहन मातहतका निकायलाई निर्देशन दिएको हो । यसअघि नै विप्लव समूहका गतिविधि शंकास्पद रहेको सूचना प्राप्त भएपछि यस्तो निर्देशन दिइएको हो । केही समयअघि भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुमको धोत्रेमा प्रहरीसँगको मुठभेडमा विप्लव नेकपाका कार्यकर्ता तिर्थराज घिमिरेको ज्यान गएपछि विप्लव समूह आक्रमणमा उत्रिनसक्ने सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो ।

गत सातामात्रै प्रहरीले मौखिक रुपमा दिएको निर्देशनमा, एक्लै नहिँड्न, सादा पोशाकका प्रहरीलाई सतर्क रहन र पहाडी इलाकामा रहेका चौकीको सुरक्षामा ध्यान दिन भनिएको थियो । योबाहेक स्वास्थ्य समस्या भएका प्रहरीलाई पनि सुरक्षाका साथ बस्न निर्देशन दिइएको एक उच्च प्रहरी अधिकारीले बताए । ३० फागुनमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले गत साता संसदमा विप्लव समूहले तीनवटा जनसेनाको कम्पनी तयार पारेको खुलासा गरेका थिए ।

प्रहरीले विप्लवसहित नेता–कार्यकर्ता खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ अन्तर्गत गाउ–गाउँमा प्रहरी परिचालन गरेको छ । तराईका जिल्लाभन्दा पहाडी जिल्लामा रहेका प्रहरी चौकीलाई विप्लव समूहले आक्रमणको निसानामा राखेको थियो । यसअघि कालीकोटमा पनि विप्लव समूहले प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो ।
सुरक्षा रिपोर्टअनुसार विप्लव समूहले पुरानै संरचना अर्थात् १४ अञ्चल र ७५ जिल्लाकै संरचनाका आधारमा आफ्नो पार्टी संरचना तयार पारेका छन् ।

पूर्वी कमाण्ड, पश्चिमी कमाण्ड र मध्य कमाण्ड छुट्याइएको छ । योबाहेक विदेश विभाग र भारतमात्रै हर्ने छुट्टै नेता छन् । भारतमा रहेका नेताले त्यहाँका नेपालीबीच संगठन विस्तार गर्ने, कतिपय अवस्थामा नेपालबाट भारत लुक्नुपर्ने अवस्था आए उनीहरुको सुरक्षित बसोबासलगायतका काम गर्नेछन् ।

प्रतिबन्ध लागेपछि पार्टीको सांगठनिक संरचना बदलेको नेकपामा विप्लव सबैभन्दा शीर्ष तहमा छन् । महासचिवको हैसियतमा उनले नेतृत्व गरिरहँदा पार्टीले पाँच सदस्यीय स्थायी समिति बनाएको छ । सांगठनिक रुपमा देशलाई तीन भागमा विभाजन गरेको छ । यसमा पूर्वी कमाण्ड, मध्य कमाण्ड र पश्चिमी कमाण्ड छन् ।

पूर्वी कमाण्डको इन्चार्ज पोलिटब्यूरो सदस्य अनिल शर्मा ‘विरही’ हुन् । मध्य कमाण्ड इन्चार्जमा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ हुन् । उनी पक्राउ परेपछि खड्गप्रकाश विश्वकर्मा ‘प्रकाण्ड’लाई मध्यकमाण्डको जिम्मेवारी दिइएको छ ।

विप्लव समूहले युद्धकालीन पूर्वमाओवादी जनसेना, कार्यकर्ता र नयाँ कार्यकर्तासहित ३ हजारको संख्यामा लडाकु दस्ता तयार पारेको चर्चा सुरक्षा निकायभित्र चल्दै आएको छ । विप्लव स्वयम् लडाकु दस्ताका प्रमुख हुन् भने संयोजकको जिम्मेवारी दिपेन्द्र चलाउनेलाई दिइएको छ । सुरक्षा अधिकारीको भनाइलाई आधार मान्ने हो भने विस्तारै विप्लव समूह गाउँबाट आफ्नो प्रभाव र आतंक बढाउँदै लैजाने देखिन्छ । विकट पहाडी जिल्लामा स्थानीय तहलाई विप्लव समूहले जनसत्ता सञ्चालनका लागि भन्दै तोकेरै रकमको माग गर्दै आएको छ ।

पहाडी जिल्लामा रहेका कतिपय प्रहरी चौकी सञ्चार सम्र्पकमा छैनन् । अत्यधुनिक हतियारको अभाव र भौगोलिक विकटका कारण प्रहरी चौकी र जनशक्ति नै भनेजति छैन् । नेपाल प्रहरी र सरकारी कर्मचारीमाथी आक्रमण गरेर केन्द्रलाई तर्साउने नीति विप्लव समूहले लिएको देखिन्छ ।
विप्लव समूहले सोमबार मात्रै सोलुखुम्बुमा प्रहरी चौकीमाथि आक्रमण गर्ने प्रयास गरेको भए पनि स्थानीयको सूचनाका कारण असफल भएको थियो ।

नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेका थिए । गएराति १२ बजे स्थानीयले हतियारसहित प्रहरी चौकीतर्फ गइरहेको विप्लव समूहलाई देखेपछि प्रहरीलाई सुरक्षित रहन खबर गरेका थिए । राति चौकी छाडेर भागेका प्रहरी बिहान ६ बजेमात्रै चौकीमा फर्किएको भए पनि गृह मन्त्रालयले भने अस्वीकार गरेको छ । बाह्रखारीको सहयोगमा