कुटिल देउवा: कार्यकाल सकिनै लाग्दा गर्दैछन यस्तो तयारी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कुटिल देउवा: कार्यकाल सकिनै लाग्दा गर्दैछन यस्तो तयारी



काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल सकिँदै छ । कार्यकालभरी आलोचना र विवादले थालिएका देउवाले अहिले भने अचम्मले सक्रियता बढाएका छन् ।

देउवाको चार वर्षे कार्यकाल यही फागुन १९ गते सकिँदैछ। जब प-यो राती तब बुढी ताती भने झैँ देउवा भने बल्ल तातिएका छन । महाधिवेशन भएलगत्तै गठन गर्नुपर्ने विभागलगायतका सांगठनिक कामहरु बल्ल गर्दैछन।

अर्को वर्ष फागुन ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी एक वर्ष केन्द्रीय समितिको कार्यकाल थप गरिएको छ। सोमबारसम्म पार्टीको केही विभाग गठन गर्नेदेखि केन्द्रीय सदस्य थप गर्ने तयारी सभापति देउवाको छ।

पार्टी १४ औं महाधिवेशनको तयारीमा जुटेका बेला सभापति देउवा आफूनिकट नेताहरुलाई पार्टीमा भूमिका दिने गरी अन्तिम समयमा विभाग गठन गर्न लागेका हुन्।

उनले शुक्रबार अपरान्ह वरिष्ठ नेता रामचन्द्र पौडेललाई टेलिफोन गरेर विभागमा बस्ने नेताको नाम दिन आग्रह गरे। तर नेता पौडेलले भने अधिवेशन गर्नुपर्ने बेला विभाग गठनको औचित्य नरहेको भन्दै सभापति देउवालाई विभागमा बस्ने नेताको नाम दिन अस्वीकार गरेका थिए।

कांग्रेसमा विधान अनुसार विभाग संख्या २८ रहेकोमा सभापति देउवाले ४७ पुर्‍याएका छन्। विभाग गठनका लागि कांग्रेसमा पटकपटक छलफल हुँदै आएको छ।

सभापति देउवाले सोमबारसम्म केही विभाग गठनको तयारी अगाडि बढाएका छन्। उनले विभागमा बस्ने नेताहरुको अन्तिम सूची तयार गर्न आफूनिकट केही केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएका छन्।

प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने विधानमा प्रावधान छ। विभाग गठन नहुँदा ठूलो संख्यामा कांग्रेसका नेता कार्यकर्ता बेरोजगार बन्दै आएका छन्। विभाग गठन भए कांग्रेसका करिब २५ सय नेता कार्यकर्ताले भूमिका पाउनेछन्।

पुरै कार्यकाल भरि आलोचना र विवादले जेलिएका देउवाले महाधिवेशन नजिकिंदै गर्दा गरिरहेको यस्तो तयारीको उद्देश्य भने प्रष्ट नै छ आफूले जसरीपनि फेरी सभापति जित्ने रणनीति उनको छ ।