चर्तिकला !-कविता - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चर्तिकला !-कविता



सहरका एक हुल रैथान चराहरु
आमरण अनशनमा बसेका छन्
शिहदरवार अगाडि
पखेटाको तस्बिर बोकेर,

प्रखाल झैँ उभिएका छन्
केही टुकडी सिपाइका छातीहरु
बन्दुक भिरेर।

तत्क्षण
अर्ध पित चन्द्र सूर्य
बतासीदै बतासमा
एक फन्को मार्छ
सालिक आँखाको समान्तर रेखा
र फ्यात्त झर्छ
सडकको खल्तिमा
सात टुक्रा भई।

देखापर्छन चोकमा
केही बुढा रुखहरु
रक्ताम्य बुटहरु
एकहुल घाम किराहरू
रङ्गी चङ्गी पुतलीहरु
आईपुग्छन्
अघाएका केही पेटहरु

पाट्छन् एकलट
प्राग ऐतिहासिक पाद
गनाउछ ऐतिहासिक दस्ताबेज ।

लगतै
निस्कन्छ सिंहदरबार बाट
एउटा ठुलो गिद्द
टिप्छ ती सात टुक्राहरु

बतासिन्छ दक्षिण तिर।

अकस्मात
भिडमा धाग दौड मचिन्छ
छरपस्ट हुन्छन् रैथाने चराहरु
कुल्चिए पखेटाका तस्बिरहरू राता बुटहरुले
ढल्यो गर्ल्याम्म बुढो रुख
तितर वितर भए घामकीरी र पुतलीहरु।

घाइते रैथाने चराहरुको हुलबाट
एउटा मसिनो आवाज सुनिन्छ
बा!!!बा!!
खेलौना जसरी
नङ्ग्रामा अठ्याए देश
कहाँ जादैछ सरकार???

रसिक राज