चार्ल्स शोभराजलाई १५ दिनमै देश फर्काउन किन चाहन्छ सर्वोच्च अदालत ? - Himal Post Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

चार्ल्स शोभराजलाई १५ दिनमै देश फर्काउन किन चाहन्छ सर्वोच्च अदालत ?



काठमाडौं । ‘सिरियल किलर’का रूपमा विख्यात चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले ‘जेलमुक्त’ गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको हो ।

शोभराजका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिट सुनुवाइ गर्दैै सर्वोच्चले ‘निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड, संविधान तथा कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको’ भनेको छ । शोभराजको ‘उमेर ७५ वर्ष भइसकेको तथा उनी मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको’ आदेशमा उल्लेख छ ।

‘…अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन यो आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनू ।’

यसैगरी, ‘ओछ्यान पर्ने रोग लागेका कैदीबन्दीका हकमा समेत कैद छुट हुने कानुनी प्रावधान रहेको र शोभराज गम्भीर प्रकृतिको मुटुको रोगी रहेको र ओपन हर्ट सर्जरी गर्नुपर्ने बिरामी रहेको’ फैसलामा उल्लेख छ ।

शोभराजलाई तीन विदेशी नागरिकको हत्या अभियोग पुष्टिसँगै कारागार चलान गरिएको थियो । सर्वोच्च अदालतको २ असोज २०६० को फैसलाले उनलाई जन्मकैद सजाय सुनाएको थियो । त्यसयता उनी कारागारमा छन् ।

त्यसपछि शोभराजले ‘हेनरिकस विन्ताजाको लरेन्ट आरमन्डको हत्या अभियोग’ पुष्टि गर्दै २०६१ साउनमा काठमाडौं जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो ।

शोभराजलाई ‘६ पुस २०३२ मा क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेर शव टुक्रा पारी भक्तपुर मनोहरा खोलामा फालेको’ अभियोगमा जन्मकैद सजाय सुनाइएको थियो । उनीविरुद्ध भक्तपुर चित्तपोलका गोकर्णबहादुर कार्कीले ६ पुस २०३२ मा मुद्दा दायर गराएका थिए । त्यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिच हत्यामा उनैको संलग्नता थियो ।

त्यस्तै, अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या मुद्दामा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद फैसला सुनाइएका शोभराज प्रहरीलाई छक्याउँदै भागेका थिए । नेपाल आएका बेला २०६० सालमा उनी पक्राउ परेका थिए ।

यसअघि, शोभराज २१ कात्तिक २०७५ मा ‘कैद छुट’ माग्दै सर्वोच्च पुगेका थिए । कैद छुटका लागि सर्वोच्च पुगेको दोस्रोपटक हो ।

कारागार नियमावली प्रावधानअनुसार ‘विदेशी नागरिकले पनि बिनाभेदभाव छुट पाउनुपर्ने’ मागसहित शोभराज सर्वोच्च पुगेका थिए । ‘कुनै पनि अपराधका कसुरदार भए पनि ७० वर्ष उमेर कटेपछि ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने नियमावली व्यवस्था आफूलाई पनि लागू हुने’ मागसहित उनले रिट दायर गरेका थिए ।

शोभराजले कैद छुट पाउनुपर्ने माग गर्दैै गोपाल शिवाकोटी ‘चिन्तन’ले पछिल्लो समय बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । शिवाकोटीद्वारा दायर रिटमा शोभराजकी पत्नी निहिता विश्वास र सासु शकुन्तला थापा, लोकभक्ता राणा रामबन्धु शर्माले बहस गरेका थिए ।