चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवसँगै शिशुको शव पनि ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवसँगै शिशुको शव पनि !



दोलखा । प्रस्तावित चरिकोट अस्पतालका चिकित्सकले पोस्टमार्टम गरी पठाएको शवसँगै अर्को एक शिशुको शव पनि पठाएको फेला परेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ  ।

समाचारको अनुसार चिकित्सकले पोस्टमार्टम गरी पठाएको भीमेश्वर नगरपालिका–१ क्षमावतीका ४४ वर्षीय कालुमान थामीको शवसँगै अर्का एक शिशुुको शव पनि फेला परेको हो । तीन दिनअघि भिरबाट लडेर ज्यान गुमाएका कालुमानकोे शव प्रस्तावित चरिकोट अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि घाट लगिएको थियो । तर, थामीको शवसँगै नवजात शिशुुको शव पनि भेटिएको मलामी गएका स्थानीयहरूले बताएका छन् ।

दाहसंस्कारका लागि घाटमा पुगेर शव राखिएको पोको खोल्दा नवजात शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष वीरबहादुर थामीले बताए । वडाध्यक्ष थामीले चरिकोट अस्पतालको लापरबाहीका कारण कालुमानको शवसँगै नवजात शिशुको शव पनि प्याकिङ भएको बताए ।