चार जनाले समाज हल्लाउने, अर्थतन्त्र हल्लाउने दिन गए: प्रधानमन्त्री - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

चार जनाले समाज हल्लाउने, अर्थतन्त्र हल्लाउने दिन गए: प्रधानमन्त्री



यो सरकार जनताबाट फूल ब्याट्रीचार्ज भएको सरकार हो । कारण यो फिलीफिली, झिलीझली गर्दैन । यो पूरा ताकतका साथ अगाडि बढ्छ, किनभने जनताले जनताका निम्ति काम गर्न यसलाई अधिकार दिएको छ । आजको सरकारसँग कर्तव्यमात्रै होइन, जनताले अधिकार पनि दिएका छन् ।

तपाईहरु (प्रदेश सांसद) का काँधमा अभिभारा मात्रै होइन, अधिकार पनि छ । हामी एउटा नयाँ प्रणालीमा छौं । तपाईहरुलाई चाहिएको कानुन पुगेको छैन । कर्मचारी पुगेको छैन । बजेट भनेजस्तो आएको छैन । योजना तर्जुमा हुन पाएको छैन । साधन स्रोतको अपर्याप्तता छ । यी कुराहरु अवश्य छन् ।

तर, हामी भर्खरभर्खर बनाउँदै छौं । एउटा घर भर्खर बनाउँदैछौंं भने घर बनाएर सरिसकियो, पंखा फिट भएको हुँदैन । झ्याल त बनाइयो, पर्दा हाल्न भ्याएको हुँदैन । नयाँ हुँदाखेरि यस्तो हुन्छ ।

तर, म तपाईहरुलाई भन्न चाहन्छु, अहिलेको यो संघीय सरकार पुरानो मानसिकताको संघीय सरकार होइन । आफ्ना प्रदेशहरुलाई कसरी सफल र प्रभावकारी बनाउने यो संघीय सरकारलाई थाहा छ । प्रदेश गरीब भयो र पछाडि पर्‍यो भने संघचाहिँ कहाँबाट बन्ने ? यी सम्पन्न, विकसित र बलिया भएर यिनले तरक्की गरेर नै देशमा तरक्की आउने हो ।

त्यसकारण प्रदेशलाई बलियो बनाउनुपर्छ भन्ने संघीय सरकारलाई राम्रोसँग थाहा छ । संघीय सरकारका तर्फबाट यहाँहरुलाई पुर्‍याउनुपर्ने सहयोग अवश्य नै पुर्‍याइने छ ।

यो कुरा संविधानका अनुसूचीहरुमा भएको मात्रै कुरा होइन । हामी दफा र धारा पल्टाएर मुद्दा लड्ने पक्ष विपक्ष होइनौं । हामी भावनात्मक रुपमा एकजुट भएर अगाडि बढेका छौं । त्यसकारण यहाँको काम यहाँहरुले गर्नुहुन्छ, अर्को प्रदेशको काम अर्को प्रदेशले गर्छ, नगरपालिकाको काम नगरपालिकाले गर्छ, गाउँपालिकाको काम गाउँपालिकाले गर्छ । सबै तहहरु सक्षम हुनुपर्दछ । त्यतापट्टियो सरकारको ध्यान रहनेछ ।

हाम्रो देशमा असमानता थियो, असमानता छ । हिजो अन्यायपूर्ण ढंगले विभेद थियो । संवैधानिक कानुनी र व्यवहारिक ढंगले हामीले त्यसलाई अस्वीकार गरेका छौं । असमानता एकैचोटि हटाउन सकिहाल्ने होइन, हामीले बाटो लिएका छौं ।

तराईमा एक महिना जाडो हुन्छ, अनि यति मान्छे चिसोले कठांग्रिएर मरे भन्ने सुनिन्छ । त्यस स्थितिमा हामी छौं । अब नेपालमा जाडोले कठांग्रिएर मान्छे मर्न पाउँदैनन् । त्यसको व्यवस्थाका गर्नका लागि नै सरकार छ । र, म प्रधानमन्त्री भएको कसैलाई जाडेले कठांग्रिएर मर्न नदिनका लागि ।

रुग्ण उद्योगहरु छन् । हामीसँग आफ्नो धागो पनि छैन, कपडा पनि छैन । टोपी यहाँ बनेको होला, तर धागो अन्तैबाट आएको छ । कोट यहाँ सिलाएको होला, तर मेसिन पनि अन्तैबाट आएको छ, धागो पनि अन्तैबाट आएको छ । हामी यस अवस्थामा छौं ।

यस अवस्थालाई फेर्नका लागि कपास उद्योग, रेसम उद्योग आदि हामी सुचारु गर्छौं । हेडौडामा हामीसँग टेक्सटायल उद्योग छ । बन्द छ । हामीसँग छालाजुत्ता कारखाना थियो । स्वाहा पारियो । भृकुटी कागज कारखाना थियो । स्वाहा पारियो ।

हाम्रो व्यापार घाटा भनिनसक्नुको छ । ७ प्रतिशत र ९३ प्रतिशत भनेको असन्तुलनमात्रै भनिन्छ र ? मैले अस्ति भारतमा बोल्दाखेरि त्यही नै भनें, तपाई हाम्रा वीचको व्यापार घाटा भनेको असन्तुलनमात्रै होइन, बर्बाद छ । असन्तुलन भनेको त ५५–४५। ४०–६० वा ७०–३० लाई भन्न सकिन्छ त, ९५ र ५ प्रतिशतलाई पनि असन्तुलन भन्न मिल्छ ? यो त सन्तुलनको कुरै भएन । तराजु नै मिलेन । यसलाई मानिरहन सकिँदैन ।

अब हामी एग्रो फेरेष्ट्रीमा जान्छौं । जंगल लगाउँछौं । आँप बगैंचा लगाइदियो भने जंगलै जंगल भो, फलफूल पनि भयो । लिची लगाइदियो भने भयो नि ।

मसलाका रुख लगाउँदा ५० वर्षपछि जमीन वञ्जर बनाइदिन्छ, अनि त्यसले दिने अक्सिजन कति हुन्छ रु त्यसकारण नचाहिने कुराहरु भन्दा उत्पादनमूलक, रोजगारीमूलक, रोजगारीमूलक जनताको जीवनस्तरमा परिवर्तन ल्याउने हुनुपर्छ ।

सिन्डिकेट तोड्न खोज्दा निकै प्रतिरोध हुन खोज्यो । म भन्न चाहन्छु– अनुचित कुरासँग यस सरकारले कुनै सम्झौता गर्दैन । भ्रष्टाचार रोकिन्छ । मैले धेरै ठाउँमा भनेको छु, म भ्रष्टाचार गर्दिनँ, कसैले गरेको सहन्न । बहुत क्लियर छ । भ्रष्टाचारको मामिलामा अनुहारतिर हेर्दिनँ, को पर्छ भन्ने कुरा । कसैकसैलाई लाग्न सक्छ, बढी निर्मम भयो कि ? निर्मम नै हुने हो ।

कानूनको राजबाहेक सेटिङमा गर्ने, ठेकदारलाई अनुचित बल प्रयोग गरेर दिने, घुस र कमिसनबाट राज्यलाई घाटा पार्ने यस्ता सप्पै कुराहरु नियन्त्रण गरिन्छ । सुशासन हाम्रो उद्देश्य हो । विना सुशासन विकास गर्न सकिँदैन, त्यसकारण यसमा ध्यान कडाइका साथ हुन्छ ।

यसो भनिरहँदा एउटा भ्रम पर्न सक्छ । राज्य कडा हुने प्रश्न आउँछ, सरकार शासन गर्नका लागि होइन, सेवा गर्नका लागि हो । जनतालाई तर्साउँदैन, रक्षकको भूमिका खेल्छ । चार जना असामाजिक तत्वले समाज हल्लाउने, अर्थतन्त्र हल्लाउने, त्यो हुन सक्दैन । जनताको सेवाका लागि, देशको सेवाका लागि ।