ससुराको किताब छाप्न ढाई लाख र कफीको ७० हजार नपाएपछि पर्यटन बोर्डमा रिजालको ‘ताण्डव’
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नातामा आफ्नै ससुरा त्रिलोचन ढकालले लेखेको किताब प्रकाशन गर्ने प्रयोजनकालागि बोर्डबाट साढे २ लाख माग गरेका थिए । ‘युरोपमा नेपाली’ नामको किताब प्रकाशन खर्च भन्दै उनले पेश गरेको साढे २ लाखको बिल सीईओ धनन्जय रेग्मीले निकासा नदिएपछि ‘हेरौंला’ भन्दै रेग्मीलाई चेतावनी दिए ।
त्यतिमात्र नभएर ‘कफी स्केप कम्पनी’मा पिएको ७२ हजार ३ सय ७४ रुपैयाँ बराबरको बिल पनि रेग्मीले तिर्न अस्वीकार गरिदिए । फलतः हिमाल पोस्टलाई प्राप्त उक्त बिलमा ९ पटक बसेको मिटिङमा ७२ हजार भन्दा बढीको कफी पिएको व्यहोरा उल्लेख छ ।
यसबारे सीईओ रेग्मीलाई हिमाल पोस्टले जिज्ञासा राखेको थियो । रेग्मीले भने, ‘कुनै विदेशी नेपाल आएर नेपालबारे लेखेको किताबलाई पर्यटन बोर्डले प्रायोजन गर्नु ठीकै थियो तर युरोपबारे लेखिएको किताबले हामीलाई के दिन्छ ? त्यसैले उपाध्यक्षज्यूले मागेको रकम निकासा गरिदिन मैले अस्वीकार गरेको हुँ ।’
हेर्नुहोस कफीको बिल

रिजालका ससुरा त्रिलोचन ढकालले प्रकाशन गरेको पुस्तक जसमा प्रकाशक नेपाल पर्यटन बोर्ड लेखिएको छ

त्यस्तै कफी मात्र नभएर विभिन्न समयमा गरिएको व्यक्तिगत खर्चसमेतको बिल बोर्डकै नाममा आउन थालेपछि रेग्मीले ती बिलबरू तिर्न अस्वीकार गरिदिएका थिए । होटेलमा गरेको खानपिन र बसोबाससमेतको खर्चको बिल रिजालले बोर्डलाई नै तिर्न लगाउने गरेका थिए ।
रेग्मीले यस्ता व्यक्तिगत खर्चका बिलहरू बोर्डबाट तिर्दा राम्रो हुँदैन, बरू तपाईंलाई अप्ठेरो छ भने व्यक्तिगत रूपमा म मिलाउँछु या मैले गर्न पाउने खर्चबाट बेहोरौंला भनेर पटक-पटक भन्ने गरेका थिए । तर रिजालको मनोमानी रोकिएन ।
‘रिजालले कानूनविपरित आफू चढ्न गाडीसमेत माग गरिरहेका थिए । त्यसलाई पनि मैले अस्वीकार गरिदिएको हुँ,’ रेग्मीले भने । बोर्डले सीईओलाई उपलब्ध गराएको गाडी चढ्न रेग्मीले आग्रह गरे । पछिल्लो समय रिजालले सीईओकै गाडी चढ्ने गरेका छन् । सीईओ रेग्मीले भने आफ्नो व्यक्तिगत गाडी चढ्ने गरेको बताए ।
यी सानासाना स्वार्थ र खर्चपर्च नबेहोरेकै आधारमा उपाध्यक्ष रिजालले बोर्डका सीईओमाथि प्रतिशोध साँध्दै आएका छन् । हिमालपोस्टले ‘पर्यटन बोर्डका उपाध्यक्ष रिजालका काण्डै-काण्ड : डेढ करोड बेरुजुदेखि मानवतस्करीसम्म’ शीर्षकमा यसअघि नै रिजालका केही कर्तुतहरू सार्वजनिक गरेको थियो ।
आर्थिक घोटालादेखि मानवतस्करीसम्मको अभियोगमा मुछिएका उपाध्यक्ष रिजाल सीईओ धनन्जय रेग्मीलाई कारवाही गर्न बनेको समितिको संयोजक बनेका छन् । नेकपा एमालेका कार्यकर्ता रहेका रिजाल हिजोआज पर्यटनमन्त्री प्रेमबहादुर आलेका दाहिने हात बनेका छन् । ‘उहाँले मन्त्री आलेसँग मिलेर पर्यटन बोर्डका सीईओलाई ठेगान लगाइदिने धम्कीसमेत दिनुभएको छ,’ बोर्डका एक सदस्यले हिमालपोस्टसँग भने ।
टानकै अध्यक्ष हुँदादेखिको आर्थिक अनियमितता
उनी टान (ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल)का अध्यक्ष रहँदा डेढ करोड बढी बेरुजु निस्किएको छ । टानले पर्यटन बोर्डलाई पठाएको आन्तरिक लेखापरीक्षणमा डेढ करोड भन्दा बढी आर्थिक अनियमितता देखिएको पर्यटन बोर्ड स्रोतले हिमालपोस्टलाई बतायो ।
पर्यटन बोर्डको उपाध्यक्ष हुनुभन्दा अघि दुई वर्षे कार्यकालमा रिजालले उक्त रकम बिनाआधार खर्च गरेका हुन् । रिजालले त्यतिबेला पदयात्रामा जाने पर्यटकबाट ‘पर्यटक सूचना–व्यवस्थापन प्रणाली’ (टिम्स कार्ड) मार्फत उठाइएको रकममा अनियमितता गरेका थिए । टानको अध्यक्षमा रिजाल २०७२ को असोज २८ मा नियुक्त भएका थिए भने २०७७ को माघमा पर्यटन बोर्डको उपाध्यक्ष बनेका थिए ।
टिम्सको पैसामा रजाईं
स्रोतले उपलब्ध गराएको सूचनाअनुसार १६ लाख भन्दा बढी होटेल खर्च देखिएको छ भने अमेरिकाको शिकागोमा पर्यटन प्रवर्द्धनको नाममा ४२ लाख भन्दा बढी खर्च गरिएको छ ।
विभिन्न देशमा ‘भिजिट’का नाममा थप लाखौ खर्च गरिएपनि त्यसको सही हिसाबकिताब आन्तरिक लेखापरीक्षणमा देखाइएको छैन । २०६६ पछि पर्यटकबाट टिम्स कार्डबाट पैसा उठाउन शुरू गरिएको थियो । टिम्स कार्डअनुसार पर्यटकबाट उठाइएको पैसाको ३० प्रतिशत पर्यटन बोर्ड, ३० प्रतिशत नेपाल सरकार, ३० प्रतिशत टान र १० प्रतिशत मजदूर कोषमा रहनेगरी त्यतिबेला सम्झौता भएको थियो ।
पर्यटकबाट उठाइएको दस्तुरमा हिनामिना गरेपछि पनि उनीमाथि केही कारवाही भएको थिएन । विगत ५ वर्षदेखि टानको लेखापरीक्षणसमेत भएको थिएन । पछिल्लो समय पर्यटन बोर्डको दबाबमा गरिएको लेखापरीक्षणमा डेढ करोड बेरुजु देखिएको हो ।
हिनामिनालाई बेरुजु भन्न नमिल्ने रिजालको दाबी
टानकी हालकी महासचिव सरिता लामा भने हिसाबकिताब फरफारक नभएको अवस्थालाई बेरुजु भन्न नमिल्ने दाबी गर्छिन् । उनले भनिन्, ‘२०७१ सालदेखि नै टान र नेपाल पर्यटन बोर्डबीच हिसाबकिताब नमिलेपछि त्यो विवाद अख्तियारमा पुगेको थियो । त्यसयता कुनै पनि हिसाबकिताब फरफारक गरिएको छैन । फरफारक नगरिएको हिसाबकिताबलाई बेरुजु भयो भन्न मिल्दैन ।’
यसबारे रिजालले अडिट नै नभएको विषयलाई बेरुजु भन्न नमिल्ने दाबी पेश गरेका छन् । ‘मेरो कार्यकालमा केही भएको भए त्यसको हिसाब मैले बुझाउनुपर्छ,’ रिजालले भने, ‘हामीले आन्तरिक लेखापरीक्षण गरेर बोर्डमा पठाएका छौं । बोर्डलाई चित्त नबुझे जवाफ माग्छ । अहिलेसम्म जवाफ मागिएको छैन भने कसरी बेरुजु भन्ने ?’
तर पछिलो समय २०७७ सालसम्मको हिसाबकिताबलाई आन्तरिक लेखापरीक्षण गरेर पर्यटन बोर्डमा पठाइएको छ । सोही हिसाबकिताबमा अनियमितता देखिएको पर्यटन बोर्डको दाबी छ ।
मानवतस्करीमा यसरी मुछिए रिजाल
टानका तत्कालीन अध्यक्ष रिजाल मानवतस्करीमा पनि मुछिएका छन् । रिजालले २०७५ को असोज १ गते सी नेपाल ट्राभल एण्ड एडभेन्चर प्रालि नामको कम्पनीकी म्यानेजर सुमित्रा लामिछानेसँग मोटो रकम लिएर त्यहाँ आयोजना हुन लागेको एक कार्यक्रममा पठाएका थिए ।
लामिछाने अहिलेसम्म उतै लुकेकी छिन्, अहिलेसम्म नेपाल आएकी छैनन् । त्यतिबेला अष्ट्रियामा आयोजित अल्पिनमेस २०१८ कार्यक्रममा टान र बोर्डका तर्फबाट सहभागी हुन लामिछानेलाई त्यहाँ पठाइएको थियो । त्यतिबेलाका टानका एक बोर्ड सदस्यले रिजालले लामिछानेको नाम सिफारिस गर्न दबाब दिएको बताएका छन् ।
‘हामीले नमान्दा नमान्दै पनि सुमित्रा लामिछानेलाई अष्ट्रिया पठाउन रिजालजीले दबाब दिनुभएको थियो,’ एक बोर्ड सदस्यले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा हिमालपोस्टलाई भने, ‘अहिले सुमित्राजी फर्किनुभएको छैन रे भन्ने सुनेको छु ।’
यो घटनाबारे छानबिन हुनुपर्ने भन्दै केही बोर्ड सदस्यहरूले त्यतिबेलै कुरा उठाएका थिए । तर पछि यत्तिकै सामसुम भएको थियो ।
‘यो विषय त्यतिबेला पनि उठेको हो,’ लामिछानेलाई सेटिङमा अष्ट्रेलिया पठाइएकोबारे जिज्ञासा राख्दा रिजालले भने, ‘तर त्यतिबेला न म कार्यसमितिमा थिएँ, न मैले कहीं साइन गरेको छु, न कतै दबाब दिएको छु । मेरो कुनै संलग्नता छैन ।’
यो प्रकरणमा आफू संलग्न नभएको भन्दै रिजालले दाबी गरेपनि उनको संलग्नता झल्किने थप प्रमाण हिमालपोस्टसँग सुरक्षित रहेको छ ।

आफैं छानबिन समितिको संयोजक
आर्थिक अनियमितता र मानवतस्करीमा मुछिएका रिजाल यतिबेला आफैं पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीका काम कारवाहीमाथि छानबिन गर्न बनेको समितिका संयोजक बनेका छन् ।
विमानस्थलमा अध्यागमन विभागका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेका रेग्मीका काम कारवाहीमाथि छानबिन गर्न रेग्मीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो ।
गत पुस २ गतेदेखि निलम्बनमा परेका सीईओ रेग्मीले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत गुहारेका थिए । गत पुस १४ गते न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न भन्दै उनको पक्षमा आदेश दिएको थियो ।