स्थानीय सरकारका ५ वर्ष : यी हुन् 'मध्यबिन्दू'का मेयरले गरेका ७ नमूना काम   - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

स्थानीय सरकारका ५ वर्ष : यी हुन् ‘मध्यबिन्दू’का मेयरले गरेका ७ नमूना काम  



 ‘म्युनिसिपालिटी ट्रान्सपोर्ट मास्टर प्लान’मार्फत सडक सुधार

सडकको अवस्था हिजो दयनीय थियो । देश संघीयतामा गइसकेपछि, राज्यको पूनर्संरचना बनिसकेपछि बाटोघाटोको अवस्था दयनीय थियो । हामी आइसकेपछि एउटा एमटीएमपी (म्युनिसिपालिटी ट्रान्सपोर्ट मास्टर प्लान) भन्ने कार्यक्रम ल्याएका थियौँ ।

उक्त कार्यक्रमअन्तर्गत मध्यबिन्दू नगरपालिकाको बाटाहरूलाई क, ख ग भनेर तीनवटा श्रेणीमा विभाजन गरेका छौँ । तिनीहरूको मापदण्ड पनि छुट्टै बनाएका छौँ । त्यस्तै हामीले मध्यबिन्दू चक्रपथ ५२ किलोमिटरको डीपीआर पनि गरिसकेका छौँ ।

प्रत्येक वार्डमा एउटा मेयर नमूना सडक पनि बनाएका छौँ । त्यसको पनि आफ्नै किसिमको मापदण्ड छ । दश मिटर चौडा

प्रत्येक वडाको केन्द्रमा बाटो पुर्याउने लक्ष्य राखेका थियौँ अहिले त्यो लगभग पूरा भइसकेको अवस्था छ । त्यस्तै वडामा साँघुरा बाटाहरू थिए, तिनीहरूलाई पनि फराकिलो बनाउने काम लगभग ९० प्रतिशत सकिएको अवस्था छ ।

खेलकूदमा वार्षिक ६० लाख भन्दा बढी लगानी  

खेलकूद आन्दोलनकै रूपमा अगाडि बढाएका छौँ । प्रत्येक वर्ष मेयर खेलकूद कप भनेर आयोजना गरिरहेका छौँ तर कोभिडका कारणले रोकिएको अवस्था थियो । अब त्यो अघि बढ्छ । विशेष गरेर ब्याडमिन्टन खेललाई पनि जोड दिएका छौँ ।

समग्रमा ५ वर्षमा धेरै खर्च गर्यौं । मेयर कपलाई मात्र हामीले वर्षमा तीस लाख छुट्याउछौँ । अन्य खेलकूद गरेर वार्षिक ६० लाख जति खर्च गरेका छौँ । अपेक्षाअनुसार त भएको छैन, तर जे जति गरेका छौँ, राम्रै गरेका छौँ जस्तो लाग्छ ।

स्वास्थ्य क्षेत्रमा ठूलो फड्को

कोभिडले यहाँ धेरै समस्या गराएको थियो । तर त्यसलाई हामीले प्रत्येक वडाले गर्नुपर्ने कामको विभाजन गरेर शुरूमा विदेशबाट आउनेहरूलाई ट्रेसिङ गर्न शुरू गर्यौं । भारत र तेस्रो देशबाट आउनेलाई हामीले तत्कालै क्वारेन्टाइनमा राख्ने काम गर्यौं । स्वास्थ्य परीक्षण गर्यौं । खाना, भत्ताको व्यवस्थासमेत गर्यौं । नेपाल सरकारले गरेको निर्णयलाई फलो गर्दै हामीले कोभिड नियन्त्रणको प्रयास गरेका थियौँ ।

हामीले त्यतिबेला धेरै मेहेनेत गर्यौं । तर आत्तिएनौं । स्वास्थ्य केन्द्रमा हामीले अक्सिजनको व्यवस्था गर्यौं । समग्रमा अन्यत्र भन्दा हाम्रो पालिकाले कोभिड नियन्त्रणमा गरेको प्रयास र त्यसको रिजल्ट राम्रो रह्यो भन्ने लाग्छ । अहिलेसम्म यस पालिकाको शतप्रतिशत जनसंख्यालाई कोभिडको दोस्रो खोपको डोजसमेत लगाइसकेका छौँ ।

कोभिडलाई छोडेर अन्य स्वास्थ्य सेवाको कुरा गर्ने हो भने हाम्रो ९ वटा वार्डमा आधारभूत स्वास्थ्य सेवाको भवन निर्माण भइसकेको अवस्था छ । १५ बेडको अर्को अस्पताल पनि १८ करोडको लागतमा बनिरहेको अवस्था छ । सबै वडाहरूमा निर्माण भएका आधारभूत स्वास्थ्य केन्द्रका लागि जनशक्तिको व्यवस्था पनि भइसकेको छ ।

हामीसंग तीनवटा बर्थिङ सेन्टर पोइन्ट छ । गर्भवतीहरूको नियमित स्वास्थ्य परीक्षण गरिन्छ । सुत्केरी गराइन्छ र बाटो खर्चसमेत दिएर पठाउने व्यवस्था छ । भत्ताको पनि व्यवस्था नगरपालिकाले गरेको छ ।

डिजिटल सेवाको शुरूवात

म मेयर नहुँदा यहाँ आइटीसम्बन्धी केही पनि थिएन । न पूर्वाधार थियो, न त सरकारले कुनै जनशक्ति कहीं खटाएको अवस्था थियो । एउटा पनि वडा कार्यालय थिएन । म मेयर भएपछि सबै वडा कार्यालय निर्माण भए । सबैमा डिजिटल पेमेन्टको व्यवस्था मिलाइएको छ । मध्यबिन्दू नगरपालिकाको राजश्व जुनसुकै ठाउँबाट र वडाबाट पनि तिर्न सक्ने गरी व्यवस्था गरिएको छ ।

हाम्रो कन्ट्रोल पोइन्ट यही नगरपालिकाको कार्यालयमा छ । यहाँ आइटी अफिसर हुनुहुन्छ । प्रत्येक सचिवहरूलाई हामीले तालिम दिएका छौँ । सबै वडामा एक/एक जना सहायक कम्प्युटर अधिकृत नियुक्त गरिएको छ । हामी सबै वडालाई डिजिटल माध्यमबाट अघि बढेको अवस्था छ ।

रोजगारी सिर्जना गर्न बैंकसँग सम्झौता, कार्यान्वयनको चरणमा

हामीले कोभिडबाट विदेशमा रोजगार गुमाएर आएका र स्वदेशमै पनि रोजगार गुमाएकालाई लक्षित गर्दै एउटा कार्यक्रम ल्याएका थियौँ । नगरपालिकाले डेढ करोड राख्ने र कृषि विकास बैंकले डेढ करोड राख्ने सम्झौता गरेका थियौँ । तीन करोडको लागतमा युवाहरूको क्षमता, सीप, जाँगरलाई आधार बनाएर ५/५ लाख युवाहरूलाई सफ्ट लोन दिने कार्यक्रम ल्याएका छौँ । ६० जना युवा सेलेक्ट गरेर ।

हाम्रो लक्ष्य प्रत्येक वर्ष डेढ करोड नगरपालिकाले दिने र डेढ करोड बैंकले दिएर वर्षैपिच्छे युवाहरूलाई रोजगार र स्वरोजगारमा समावेश गराउनु हो । कालान्तरमा कमसेकम युवाहरूले रोजगारका लागि स्थानीय सरकारबाट सहयोग लिएर आफैं अरूलाई रोजगारी दिने अवस्था सिर्जना हुन्छ यसले ।

अहिले लगानी छुट्याएका छौँ तर बैंकले लगानी गर्न नसकेको कुरा पनि आएको छ । चुनाव नजिकै आएको छ । चुनावका अगाडि यसो नगरौं भनेर अहिले त्यो गरिएको छैन । चुनावलगत्तै यो कार्यक्रम फेरि शुरू हुन्छ ।

रोजगारको क्षेत्रमा अर्को प्लान पनि अघि सारेका छौँ । मध्यबिन्दू नगरपालिकाको बीचमा एउटा मध्यबिन्दू स्तम्भ बनाउन कार्यक्रम ल्याएका छौँ । जसबाट राष्ट्रिय निकुन्जका जनावरहरू पनि हेर्न सकियोस । २६ करोडको लागतमा हामीले मास्टर प्लान बनाएका छौँ । तर वनको क्षेत्र चाहिने हुनाले वनसँग कुराकानी भइरहेको छ । त्यसबाट वर्षेनी ६ करोड आउने रहेछ ।

यहाँ कति गाडी गुड्छन्, कति मान्छे आउँछन, त्यसको हिसाबकिताब गरेका छौँ । त्यो ६ करोडबाट हामीले पुनः नयाँ रोजगारी सिर्जना गर्न सक्छौं । त्यो प्लान वनसम्म पुगेको छ । वनबाट अगाडी बढाउनुपर्ने छ । प्राइभेट सेक्टरले मागिरहेको अवस्था पनि छ, तर हामी आफैं गर्नेबारे सोचिरहेका छौँ ।

विपद व्यवस्थापनमा केन्द्र सरकारकै भर

नारायणी नदीले विस्थापित गरेका सयौं नागरिक हुनुहुन्छ । सबै बिस्थापित पपुलेसनलाई हामीले व्यावस्थापन गरिरहेका छौँ । टाँडी र अरुणखोलामा पनि यस्तै समस्या छ । नारायणी नदी व्यावस्थापनका लागि २६ अर्बको डीपीआर भएको छ ।

हामीले २६ लाख पनि नपाउने जटिल अवस्था छ । स्थानीय निकायले २६ अर्ब खर्च गरेर नदी व्यावस्थापन गर्ने कुरा आकाशको फल, आँखा तरी मर भनेजस्तो छ । हामीले केन्द्रसँग पहल गरिरहेका छौँ ।

भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्ने तयारी

मध्यबिन्दू नगरपालिका भनेको भूमिहीन सुकुम्बासी धेरै भएको ठाउँ हो । दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्ती धेरै भएको ठाउँ हो यो । हाम्रो तथ्यांकमा ७ हजार ६ सय २२ भूमिहीन जनसंख्या रहेको छ ।

नगरपालिकाले वडामा सहजीकरण समिति बनाएर सबैको लागत तथ्यांक लिएको अवस्था हो । नगरपालिकामा आइसकेपछि सहजीकरण समितिले ३५ दिने सूचना प्रकाशित गर्यो । अहिले नगर कार्यपालिकाले सूचना प्रकाशन गरेको छ । हामीले सबैको इन्ट्री गरिसकेका छौँ र त्यो जिल्ला र राष्ट्रिय भूमि आयोगमा जान्छ ।

त्यसको निस्सा प्रमाणपत्र पनि हामीले वितरण गरिसकेको अवस्था छ । कहाँ खालि जग्गा छ, त्यसको खोजी भएको छ । कन्ट्रोल पोइन्टमा हामीले पिलर पनि गाडिसकेको अवस्था छ । नापीका लागि उच्च प्रविधिका २ वटा मेसिन पनि किनिसकेका छौँ । जिल्ला आयोगले निर्णय गरिदियो भने हामी नापजाँच गर्न हामी तयार भएर बसेका छौँ ।

(मेयर चन्द्रबहादुर रानासँग गरिएको कुराकानीमा आधारित)