गुल्मी १ मा प्रदीप ज्ञवालीभन्दा चन्द्र भण्डारी अगाडी देखिए - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

गुल्मी १ मा प्रदीप ज्ञवालीभन्दा चन्द्र भण्डारी अगाडी देखिए



गुल्मी-१ सधै चर्चामा रहने चुनावी क्षेत्र हो । यो क्षेत्र नेपाली कांग्रेसका चन्द्र भण्डारी र प्रदीप ज्ञवालीकै कारण अहिले पनि चर्चामा छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि दुवै उम्मेदवार अभियानमा खटिएका छन् भने दुवै उम्मेदवारले आफैले जित्ने दाबी गरेका छन् ।

यसअ।घि पनि भण्डारी र ज्ञवालीकै कारण चर्चामा रहने यो क्षेत्रमा मतदाताको हिसाबले निकै टक्कर देखिन्छ । दुवै जना एमाले र कांग्रेसका होनाहार नेता भएकाले पनि चर्चा र टक्कर हुने स्वाभाविक नै हो तर मतदाताको मनस्थिति हेर्ने हो भने एमालेका ज्ञवाली भन्दा कांग्रेसका भण्डारीले जित्ने आंकलन गर्न सकिन्छ ।

आंकलन गरेजस्तो चुनावी परिणाम नआउने भएकाले पनि उनीहरूबीचको प्रतिस्पर्धा रोचक हुने पक्का छ । २०७४ सालको चुनावमा ज्ञवालीको जीतमा वाम गठबन्धनको साथ थियो। यो पटक भने भण्डारीलाई सत्ता गठबन्धनको साथ छ।

हालैको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारले पाएको मत अनुसार सत्ता गठबन्धन झिनो मतले मात्र अगाडी छ । माओवादी केन्द्रको ५ हजार भोट भएको आंकलन गरिएको गुल्मी १ मा २०७४ को निर्वाचनमा भन्दा स्थानीय निर्वाचनमा एमालेले मत बढाएको देखिन्छ ।

वडाध्यक्ष उम्मेदवारमध्य कांग्रेसका उम्मेदवारहरूले ३१ हजार २ सय ९४ मत पाएका छन् भने माओवादी केन्द्रका उम्मेदवारहरूको मत ४ हजार ९ सय ७० रहेको छ भने नेकपा (एकीकृत समाजवादी)ले जम्मा मत ४९७ मात्रै पाएको छ ।

एमाले वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत ३५ हजार ७ सय १ छ। पालैपालो निर्वाचन जित्ने ज्ञवाली र भण्डारीमध्ये मतदाताको रोजाइमा यसपटक को पर्लान्? उनीहरू दुई जनामध्ये को बलियो छ भन्ने कुरा अहिले नै प्रष्ट भइसकेको छैन।

स्थानीय एमालेका केहि नेता भने नेता ज्ञवालीसँग रुष्ट छन् । दुई पटक सांसद बनाए पनि ज्ञवालीले जिल्लाका लागि केहि गर्न नसकेको उनीहरूको आरोप छ । आफ्नै पार्टीभित्रका असन्तुष्ट कार्यकर्ताको मन जित्नेदेखि अन्य दलका कार्यकर्ताको मत जित्नेसम्मको चुनौती ज्ञवालीमाथि छ ।

पछिल्लो पार्टी विभाजन र दुई तिहाईको सरकार हुँदा ज्ञवालीले समन्वय नगरेको आरोप अर्कातिर लाग्ने गरेको छ । पार्टीको शिर्षमध्यको नेता भएर पनि सरकारमा हुँदा जिल्लालाई वेवास्ता गरेको आरोप उनीमाथि छ । एकथरी एमाले कार्यकर्ताले भने गुल्मी कांग्रेसमा असन्तुष्टि चुलिएको भन्दै धेरैजसो कांग्रेसको मत ज्ञवालीलाई आउने दाबी गर्छन ।

कांग्रेसका उम्मेदवार भण्डारीको पक्षमा माहोल बनेको देखिए पनि उनीमाथि पनि चुनौतीको पहाड छ । तर सरसर्ती हेर्दा यो पटक भण्डारीको पक्षमा माहोल देखिएको एमालेकै कार्यकर्ता स्विकार्छन ।

एकातिर सत्ता गठबन्धन र अर्कातिर ज्ञवालीसँग रुष्ट बनेका कार्यकर्ताकै कारण भण्डारी ‘सेफ जोन’मा देखिएको कांग्रेस नेताहरूको दाबी छ । त्यतिमात्र होइन भण्डारी पछिल्लो पाँच वर्षमा यो क्षेत्रमा निकै भिजेका छन् ।