चन्द्र भण्डारी कड्किए, धनेन्द्रले भोट मागे, सुदर्शनले प्रसंशा गरे - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

चन्द्र भण्डारी कड्किए, धनेन्द्रले भोट मागे, सुदर्शनले प्रसंशा गरे



नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकलाई दुरावस्थामा पर्‍याउने, जनताले दिएको झण्डै दुई तिहाइको मत सदुपयोग गर्न नसक्ने, पार्टी फुटाउने,संविधान लत्याउने र संसद गिराउने नेता र एमाले पार्टीलाई भोट हालेर फेरि गल्ती गर्न नहुने बताए ।

गुल्मी रुपन्देही क्षेत्र नम्बर १ बाम लोकतान्त्रीक गठबन्धन निर्वाचन परिचालन समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । तराई र प्रदेश टुक्र्याउन लागेको बेला आफूले अखण्ड लुम्बिनी अभियानको नेतृत्व गरेर आन्दोलनमा उत्रिएको बताए ।

लुम्बिनीलाई अखण्ड बनाउन बुटवलमा आफुले बृहत आन्दोलनको नेतृत्व गरेको भन्दै नेता भण्डारीले प्रदेश राजधानीसँग पद साट्नेहरूलाई भोट नहाल्न अपील गरे ।

भण्डारीले पार्टीको रसिद भन्दा माथि देश सम्झेर चुनाव जिताउन आग्रह गर्दै आउँदो चुनावमा आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले सिद्धबाबाको सुरुङ बनाउँछु भनेर पटकपटक गफ गर्नेहरूले चुनाव जितेको भन्दै उनीहरूलाई कतिपटक चुनाव जिताएपछि काम गर्ने हुन् भन्दै प्रश्न गरे ।

भण्डारीले भने, ‘पटकपटक गफ गर्नेलाई अझै कतिपटक जिताउनु पर्ने, भोट माग्न अझै पनि लाजै नलाग्ने । हामीले जिताएका नेताहरू देशका लागि नेतान्नै थिएनन् । ओलीले दुई तिहाई दिएर पनि जोगाउन सकेनन् । पार्टी जोगाउन सकेनन् । अनि अब किन भोट दिने ।’

उनले मुलुकलाई असल मार्गमा लैजान धेरै केहि गर्नु नपर्ने भन्दै मंसिर ४ गते गठबन्धनलाई भोट मात्रै हालिदिए पनि मुलुक असल मार्गमा लाग्ने बताए । एमाले नेताहरूलाई भोट दिएर व्यक्तिगत उनीहरू स्वार्थभन्दा माथि उठ्न नसक्ने भण्डारीले तर्क गरे । उनले भने, ‘एमाले नेताहरूको संस्कार बिग्रियो, पार्टी, गुट, उपगुट, समूह र परिवार बनाउने बाहेक केही काम नगर्ने नेता भए ।’

भण्डारीले ओलीले अझै पनि कुन मुखले भोट मागिरहेका छन् ? भन्दै प्रश्न समेत गरेका थिए । उनले जनताको अभिमतलाई नबुझ्नेलाई दण्डित गर्नुपर्छ भन्दै एमालेलाई सजाय दिन बन्दुक बोक्नु नपर्ने, मात्रै मत नदिए पुग्ने बताए ।

गुल्मीको विकाश निर्माणमा पनि एमाले र एमालेका नेताहरूले माखो नमारेको उनको तर्क थियो । उनले नेपालमा सबैभन्दा बढी पुल गुल्मीमा आफ्नो पहलमा बनेको बताए । उनले भने, ‘नेपालमा सबैभन्दा बढी पुल गुल्मीमा हाम्रै पहलमा बनेका हुन्, तर एमालेको सरकार आएपछि डिपिआर गरेका सडक र पुलको पैसा समेत रोकियो । उनीहरूको काम त मन्त्री बन्ने विदेशीसँग हात मिलाउने, देशलाई घात गर्ने, एउटा पुल एउटा बाटो पनि पनि नबनाउने । जितेपछि फर्केर नआउने, त्यस्तालाई अब के हैसियतले भोट दिने ?’

नेता भण्डारीले गुल्मीको विकाश र समग्र विषयमा प्रदीप ज्ञवालीसँग सार्वजनिक बहस गर्न तयार भएको बताए । उनले भने, ‘सबै मैले गरेको भन्ने एमालेका नेतासँग सार्वजनिक डिबेट गर्न चाहन्छु, चार वर्षमा के गर्नुभयो ? त्यसको उत्तर चाहन्छु । चार वर्षमा के के गर्नुभयो रातो कितावमा हेर्न चाहन्छु । दक्षिण एसियामै नमुना मानिएको तीन मुख्य पुल बनाएका छौँ। यस्ता नमुना काम धेरै गर्न बाँकी छन् ।’

कार्यक्रममा गुल्मी १ क र ख का प्रदेश सभा उम्मेदवार माओवादी केन्द्रका नेता सुदर्शन बराल, कांग्रेस महासमिति सदस्य धनेन्द्र कार्की, कांग्रेस समानुपातिक उम्मेदवार त्रैलोक्य प्रताप सेन लगायतका नेताहरूको उपस्थिति थियो ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता बरालले देश बनाउन निकै ढिलो भइसकेको भन्दै यसअघिको सरकार निकै आशा गरिएको तर दुई तिहाई जनमतलाई गलत नियतका साथ प्रयोग गरेपछि अहिले नयाँ गठबन्धन बनाउन बाध्य भएको बताएका थिए ।

उनले गठबन्धनले आगामी पाँच वर्ष जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै मंसिर ४ गते निर्णायक फैसला गर्नुपर्ने बताए ।

नेता बरालले विश्वका कुनै देशमा पनि जादू वा चमत्कार नभएको, नेताहरूले सहि नियतले काम गरेकोले तरक्की गरेको बताए । उनले भने, ‘विश्वका कुनै देशमा पनि जादू वा चमत्कार भएको होइन । मुलुकलाई सही मार्गमा लैजानको लागि सिस्टममा चले पुग्छ । राजनीतिमा इमान्दार बने देशलाई र कुनै जिल्लालाई समृद्ध बनाउन सम्भव छ ।’

नेता बरालले चन्द्र भण्डारी वैद्धिक छबी भएका व्यक्ति भएको र भोली देश हाक्न सक्ने क्षमता भहेको नेता भएकाले गुमाउनु नहुने बताए । बरालले भने, ‘चन्द्र भण्डारी वैद्धिक छबी भएका व्यक्ति हुनुन्छ, भोली देश हाक्न सक्ने क्षमता राख्नुहुन्छ, जसले आफ्नै पार्टीमा पनि गलत प्रवृत्ति विरुद्ध उभिने हिम्मत गर्नुहुन्छ । यस्ता व्यक्तिलाई गुमाउनु दुर्भाग्य हुनेछ ।’

कांग्रेस महासमिति सदस्य कार्कीले आफू निरन्तर गुल्मेली जनताको सुख दुखमा साथ् रहेको भन्दै यसपटक गठबन्धनक सबै उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले भने, ‘म सधै गुल्मेली जनताको साथमा छु, चुनाव जित्नु छ जनताको मुहारमा हासो छर्नु छ ।

कार्कीले लामो समय एमालेहरुले राज गरे तर जिल्लाको विकास नगरेको गुनासो गरे। यसै कारण पनि उनीहरूलाई पराजित गरी त्यहाँको विकास गर्नुपर्ने उनको तर्क थियो ।

कांग्रेस नेता तथा समानुपातिक उम्मेदवार सेनले अग्रगामी राष्ट्र बनाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन बनाउनु परेको बताए ।

सेनले ओलीले पनि गठबन्धन बनाएको भन्दै ओलीको गठबन्धनमा अत्यन्त अवसरवादी कमल थापाहरु, राजेन्द्र लिङ्देन भएकाले त्यो गठबन्धन प्रतिगामी भएको बताए ।

उनले भने, ‘ओलीको गठबन्धनमा अत्यन्त अवसरवादी कमल थापाहरु, राजेन्द्र लिङ्देन भएकाले त्यो गठबन्धन प्रतिगामी हो, लामो समय ठगहरूले गुल्मीमा राज गरे तिनीहरूलाई पराजित गर्नुछ । त्यो नै गुल्मीको सफलता र अग्रगमन हुनेछ ।’

नेता सेनले गुल्मीबाट रामकुमारी झाँक्रीलाई जिताउने जिम्मा आफूहरूले लिने बताए । उनले भने, गुल्मीबाट रामकुमारी झाँक्रीलाई जिताउने जिम्मा हामीले लिन्छौं। चन्द्र भण्डारीलाई जिताउने जिम्मा लिनुहोस् ।’