छाडा पशुचौपायाका कारण दुर्घटना बढ्यो

विशाल पाण्डेय / घोडाघोडी ।
ट्राफिक व्यवस्थापन तथा अपराध नियन्त्रण सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सम्पन्न भएको छ ।
“हर प्रहर ,गाउँ र नगरी ,टोल टोलमा नेपाल प्रहरी” को नारासहित समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय सुखड र घोडाघोडी नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रममा शनिबार सम्पन्न भएको हो ।
घोडाघोडी नगरपालिकाका प्रवक्ता तथा वडा नं १ का अध्यक्ष मनराज शाहिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा प्रमुख अथिती रहेकी थिइन् । प्रमुख अथितिको आसनबाट बोल्दै थापाले दुर्घटना न्यूनीकरणका लागि अटो व्यवस्थापन , छाडा पशु चौपाया व्यवस्थापनमा लाग्नु पर्ने बताइन् । उनले नगरपालिकाले गाई व्यवस्थापनका लागि धेरै नै प्रयास गर्दा पनि आफुहरु असफल भएको बताइन् ।
घर तथा समाजका मानिसहरु मिलेर प्रहरीसंग हालेमालो गर्दै लैङ्िगक हिंसा ,बाल बिबाह न्यूनीकरण , दुर्ब्यवसन लगायतका कुराहरुमा नियन्त्रण गर्न सकिने उप प्रमुख थापाले बताइन् । उनले भनिन , “समाजमा भएका जघन्य अपराध नियन्त्रणका लागि घर ,टोल र बस्तीबाट लागेमात्र अपराध नियन्त्रण गर्न सकिन्छ। आफ्ना घर वा समाजमा भएका अपराध वा हिंसाहरुलाई नडराइ प्रहरीकोमा आएर भन्न सके मात्र अपराध नियन्त्रण हुन्छ ।” उप प्रमुख थापाले समाजमा विकृति फैलिने खालको होडिङ्ग बोर्ड ,ब्यानर लगायतका तस्बिरहरु हटाउनु पर्ने समेत बताइन् ।
घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले संस्कार र संस्कृति घरबाटै नसिकाउदा समाजमा अपराधहरु बढ्दै गएको बताए । उनले आफू , आफ्नो घर र समाजलाई सुधार्दै लैजान हो भने अपराध आफै नियन्त्रण हुने बताए । सिंहले अपराध नियन्त्रणका लागि प्रत्येक ठाउँबाट प्रहरीमाथी दोष थुपार्ने भएकोले सबै मिलि प्रहरीलाई सहयोग गरि दुर्ब्यवसनी , लैङ्गिक हिंसा ,बाल बिवाहा लगायतका जघन्य अपराधहरु न्यूनीकरण गर्नु तर्फ लाग्नु पर्ने बताए ।

छलफल कार्यक्रममा उपस्थित अधिकांश मानिसहरुले दुर्घटनाको प्रमुख कारण छाडा पशु चौपाया रहेको बताए ।उनीहरुले चौपायाले गर्दा पछिल्लो समय घोडाघोडीमा दुर्घटना बढिरहेको बताए । सहभागीहरुले घोडाघोडी नगरपालिकाले छाडा पशु चौपायाको लागि लाखौं रकम खर्च गर्दा पनि ब्यवस्थापन गर्न नसकेको बताए । चौपायाको व्यवस्थापनका लागि चौपायामा ट्याग लगाउनु पर्ने सुझाव दिए । घोडाघोडी मन्दीर तथा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सामान लुटिने , जिस्काउने लगायतका घटनाहरु भएको हुनाले घोडाघोडी मन्दिर क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा गर्नु पर्ने सुझाव दिए । प्रहरीकै संलग्नतामा होटेलहरुमा जुवा तास खेलाइएको बताउदै उक्त कार्यको नियन्त्रण गरि शान्ति सुरक्षाको लागि कठोर भएर लाग्नु पर्ने सहभागीहरुले सुझाव दिए ।
ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले सडक दुर्घटना न्यूनीकरणका लागि छाडा पशु चौपाया , सडक छेउमा भएका घुम्ती तथा साना ठुला रुखहरुको व्यवस्थापन गर्नु पर्ने बताए । घोडाघोडी नगरपालिकामा ट्राफिक दुर्घटना न्यूनीकरण , अपराध न्यूनीकरण लगायतका कुराहरुमा नगरबासीको महत्त्वपूर्ण भुमिका रहने भट्टले बताए । उनले भने, ” अपराध नियन्त्रण गर्न प्रहरीसंगै समुदायको पनि उति नै भुमिका हुन्छ , समुदायको साना सुचनाले ठुला-ठुला अपराधहरु नियन्त्रण गर्न सकिन्छ ।”
प्रहरी निरीक्षक भट्टले समुदायको सहयोगले नै लागू औषधि, लैङ्गिक हिंसा , बाल बिबाह लगायत अपराधहरु नियन्त्रण गर्न सकिने बताए । अपराध न्यूनीकरणको लागि विभिन्न विद्यालय , गाउँ ,टोल टोलमा जनचेतना मुलक कार्यक्रमहरु गर्ने समेत निरीक्षक भट्टले बताए ।

कार्यक्रममा क्षेत्रीय ट्राफिक कार्यालय अत्तरिया, इलाका प्रहरी कार्यालय बौनिया , ईलाका प्रहरी कार्यालय जोशिपुर, ईलाका प्रहरी कार्यालय चौमाला ,अस्थायी प्रहरी पोस्ट राजिपुर , अस्थायी प्रहरी पोस्ट साडेपानी लगायतको ठाउँबाट प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन पत्रकार प्रकाश मिश्रले गरेका थिए ।

