चाबहिल तनावग्रस्त: गाडी जलाइयो, केहि घाइते - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

चाबहिल तनावग्रस्त: गाडी जलाइयो, केहि घाइते



काठमाडौं । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ ।

विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए । प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड ।

विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते पन्तको अहिले उपचार भइरहेको छ । पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ ।

बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए ।

पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई ठक्कर दिएपछि क्याम्पसका विद्यार्थीहरुले अर्को गाडीमा आगजनी गरेका थिए ।

अहिले आगो पूर्ण नियन्त्रणमा लिइएको छ भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् ।

अहिले पनि अवस्था भने तनावग्रस्त छ । प्रहरीले पशुपति क्याम्पस वरपर ठुलाे सँख्यामा प्रहरी परिचालन गरेकाे छ ।

प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएकाे थियाे । र, साे क्रममा केही विद्यार्थी घाइते भएकाे पशुपति क्याम्पसका विद्यार्थी नेता करूणासागर सिग्देलले जानकारी दिए ।