चावहिल–साँखु सडकखण्ड : स्थानीय व्यवसायी र प्रहरीबीच झडप हुँदा तनाव

काठमाडौँ – लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्रे नहुँदा मारमा परेका स्थानीय विरोधमा उत्रिदाँ उक्त क्षेत्र तनावग्रस्त भएको छ।
वर्षौँसम्म सडक कालोपत्रे नगरिएको भन्दै विरोधमा उत्रिएका स्थानीय व्यवसायी र प्रहरीबीच झडप हुँदा तनाव भएको हो।
बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरूद्ध गरेपछि प्रहरीले यातायात खुलाउने क्रममा अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले बल प्रयोग गरेपछि स्थानीयले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए।
चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरू भए पनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले बुधबारदेखि आन्दोलन थालेका हुन्। प्रहरीले स्थानीयका घरभित्रै प्रवेश गरेर लाठी प्रहार गरेको छ।
प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन्। आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ। सवारी साधन चलेका छैनन्।
बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका छन्। जनता मार्न पाइँदैन, धुवाँ–धुलो उडाउने सरकार चाहिँदैन, ठेकेदारलाई कारबाही गरलगायतका नारा लगाउँदै आन्दोलनमा उत्रिएका छन्।
विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्थापित भएको स्थानीय व्यवसायी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईँले दुखेसो पोखे।
चौलागाईँले सडक धुलाम्मे र हिलाम्मे हुँदा व्यापार व्यवसाय ठप्प भएको मात्र नभई करोडौँ लगानी गर्ने दर्जनौँ व्यवसायी पलायन हुनुपरेको पीडा सुनाए।
‘यो साङ्केतिक विरोध कार्यक्रम मात्र हो, भोलिका दिनमा थप कडा आन्दोलनसहित हामी प्रस्तुत हुनेछौँ’, व्यापारी लक्ष्मण दुलालले भने, ‘सरकारले नागरिकको समस्याप्रति बेवास्ता गरिरहेको छ, हाम्रो एक सूत्रीय मागको तत्काल सुनुवाइ हुनुपर्छ।’
लामो समयदेखि सडकमा पानी हालेर धुलो कम गर्ने गरिरहेको बौद्ध व्यापार सङ्घले सो क्रममा पानी किन्न मात्र करीब रु ८० लाख खर्चिएको दाबी गरेको छ ।
कूल लम्बाई ११.४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले पूर्णता पाउन सकेको छैन । (फाईल तस्बिर)

