छाउगोठ प्रथा हटाउन सबै लाग्नुपर्ने एक कार्यक्रमका सहभागिको जोड - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

छाउगोठ प्रथा हटाउन सबै लाग्नुपर्ने एक कार्यक्रमका सहभागिको जोड



गोविन्द बीसी/ बौनिया।

छाउगोठ प्रथा हटाउन सबै एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ३ शान्ति टोलमा मंगलबार आयोजित छाउगोठ मुक्त घोषणा कार्यक्रमका सहभागिले यस्तो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताले महिला छाउ हुनु अपराध नभइ प्रकृतिको नियम भएकाले छाउ गोठमा बस्न महिलालाई बाध्य पारिनु गलत संस्कार भएको बताए । उनीहरुले छाउगोठमा महिला बस्नुपर्ने बाध्यात्मक कु-प्रथा रहेसम्म महिलाले विभिन्न हिंसात्मक समस्या भोग्नुपर्ने र यसको अन्त्यका लागि सबै सचेत हुनुपर्ने बताए ।

छाउपडी कुप्रथाले सामाजिक बिकासमा समेत समस्या ल्याएको भन्दै उनीहरुले यो कु-प्रथालाई हटाउन सबै सरोकारवाला पक्षले ध्यान दिन जरुरी रहेको उल्लेख गरे । सहभागि बक्ताले स्थानीय सरकारले नगरपालिकाको नीतिगत कार्यक्रममा समेत प्रथा उन्मुलन गर्ने नीति लिनुपर्ने बताए ।

लम्किचुहा नगरपालिका वडा नम्बर ३ शान्ति टोललाई मंगलबार एक कार्यक्रमका बीच छाउगोठ मुक्त टोल घोषणा गरिएको हो । हरियो बनले आयोजना गरेको कार्यक्रमको सहजिकरण चेतना सामुदायिक सिकाई तथा कार्य केन्द्रले गरेको थियो ।

कार्यक्रममा सोही टोलका महिलाले छाउगोठ समेत भत्काएका थिए । कार्यक्रममा चेतनामुलक नाटक समेत देखाईएको थियो । चेतना सामुदायिक सिकाई तथा कार्य केन्द्रकी अध्यक्ष बिना बिष्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्किचुहा नगरपालिकाका उपप्रमुख टीका थापा रहेकी थिईन । यस्तै विशिष्ट अतिथिमा वडा नम्बर ३ का अध्यक्ष भक्त बहादुर चलाउने र वडा नम्बर ५ कि वडा अध्यक्ष माया बिष्ट रहेकी थिईन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले लम्कीचुहा नगरपालिकाले यो प्रथालाई हाटाउन सक्रिय भएर लाग्ने बताईन । विशिष्ट अतिथि वडा नम्बर ३ का अध्यक्ष चलाउनेले आफ्नो वडाको एउटा टोल मात्र नभएर पुरै वडालाई छाउपडी मुक्त घोषणा गर्ने बताए ।

समाजसेवी तथा अभियानमा सक्रिय कोपिला सामुदायिक बनका अध्यक्ष पुर्णप्रसाद बजगाईले समाज परिबर्तन गर्नुपर्छ भन्नेहरुले मन्दिर भत्काए तर छाउपडी प्रथाले जरा गाडेको प्रथाका घरहरू भत्काउन नसक्नु बिडम्बना भएको बताए । कार्यक्रममा छाउपडी मुक्त टोल घोषणा गर्न सहयोग पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको संचालन हरियो बन कार्यक्रमका ईन्द्र कुवरले गरेका थिए ।