कार्टुनमाथि स्पष्टीकरण सोधेपछि कार्टुनिस्ट क्लबले भन्यो : लाज लाग्नुपर्ने विषय - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

कार्टुनमाथि स्पष्टीकरण सोधेपछि कार्टुनिस्ट क्लबले भन्यो : लाज लाग्नुपर्ने विषय



काठमाडौं- कार्टुनलाई लिएर प्रेस काउन्सिन नेपालले नागरिक दैनिकलाई स्पष्टीकरण सोधेपछि कार्टुनिस्ट क्लब अफ नेपालले आपत्ति जनाएको छ ।

नागरिक दैनिकमा यही कात्तिक ३ गते प्रकाशित ‘कल केपी बा !’ शीर्षकको रविन सायमीको कार्टुनलाई लिएर प्रेस काउन्सिलले सम्पादकलाई सम्बोधन गर्दै स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण सोधेर प्रेस काउन्सिलले संविधानमै व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गरेको कार्टुनिस्ट क्लब अफ नेपालको ठहर छ ।

प्रकाशित कार्टुन पत्रकारिताको पेसागत मर्यादा प्रतिकूल नभएको र पत्रकार आचारसंहिताको कुनै पनि व्यवस्था उल्लंघन नभएको कार्टुनिस्ट क्लबको विज्ञप्तिमा उल्लेख छ ।

“कार्टुनमा व्यंग्य गर्यो, कार्टुन व्यंग्यात्मक भयो भन्दै रुवाबासी गर्नु थोरै मात्रै पनि कलाचेत र पत्रकारिताको ज्ञान भएकोहरूलाई लज्जा हुनुपर्ने विषय हो । अझ यसैलाई लिएर सोधिएको स्पष्टीकरणकरणप्रति हामीलाई आश्चर्य लागेको छ,” विज्ञप्तिमा भनिएको छ ।

कार्टुन बनाएकै विषयलाई लिएर २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय तत्काल फिर्ता लिन पनि माग गरिएको छ । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध यस्ता उत्ताउलो व्यवहार नदोहोर्‍याउन प्रेस काउन्सिललाई आग्रह गरिएको छ ।