कार्टून उद्योगमा भीषण आगलागी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कार्टून उद्योगमा भीषण आगलागी



रोशनी भट्टराई/विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कार्टून उत्पादन गर्ने अरिहन्त अटो कोरोगेशन उद्योगमा भएको आगलागीबाट उद्योगभित्रका मेशिन, तयारी कार्टून, कच्चापदार्थका रुपमा प्रयोग हुने कागज तथा कुटलगायतका सामग्री जलेर नष्ट भएका छन् ।

गएराति करीब १० बजेबाट शुरु भएको आगलागी घण्टौंको प्रयासपछि बिहीवार बिहान नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिन मोरङ, सुनसरी र झापाका विभिन्न नगरपालिकाका बारुणयन्त्र प्रयोग गरिएका थिए । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी समेतगरी चार सयभन्दा बढी सुरक्षाकर्मी र अग्नि नियन्त्रक खटिएका थिए । मोरङको बांसबारीचोकबाट उत्तर पश्चिमतर्फ रहेको सो उद्योगमा आगलागीबाट थप क्षति हुन नदिन ब्यापक सतर्कताका साथ आगो नियन्त्रणमा लिइएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

गएराति उद्योग सञ्चालनमै रहेको अवस्थामा आगलागी भएको थियो । विद्युत सर्ट भएका कारण आगलागी भएको हुनसक्ने जानकारी दिँदै उद्योगका निर्देशक पंकज लुनियाले क्षतिको विवरण आउन बाँकी रहेको बताए । आगलागीबाट उद्योगको वाइन्डीङ मेशिन सहित पन्चिङ, पार्टिसन र कटरलगायतका मेशिनमा क्षति पुगेको निर्देशक लुनियाले बताए । हंसराज जैन र पारस लुनिया तथा गिरिश लुनियाको स्वामित्वमा रहेको सो उद्योगको ब्वाईलरको गोदामबाट सल्किएको आगो अन्य गोदामहरुमा फैलिएको आशंका गरिएको छ ।

आगलागीबाट सो उद्योगको ६ ओटा गोदाम प्रभावित भएको छ । उक्त उद्योगले चाउचाउ, बियर र जुससहितका विभिन्न उद्योगका लागि प्याकेजिङमा आवश्यक पर्ने कार्टुन उत्पादन गर्दै आएको छ । आगलागी भएकै उद्योग परिसरमा महालक्ष्मी वायर एण्ड केबल ईण्डस्ट्रीज रहेपनि सो उद्योगमा भने क्षति भएको छैन ।अभियानबाट