सर्वोच्चमा बहस सकिएकै दिन योगेश भट्टराईले गरे संसद ब्युँतिने संकेत - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सर्वोच्चमा बहस सकिएकै दिन योगेश भट्टराईले गरे संसद ब्युँतिने संकेत



ताप्लेजुङ- नेकपा एमालेका नेता योगेश भट्टराईले फेरि पनि अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने बताएका छन् । सर्वोच्चमा यो मुद्दाबारे बहस सकिएकै दिन भट्टराईले यस्तो बताएका हुन् ।

गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले पत्रकार महांसघ ताप्लेजुङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पाँच वर्षको अवधिमा दुईपटक विघटन भएर दोस्रो पटक पनि पुन:स्थापना हुने दाबी गरे।

‘वर्तमान प्रतिनिधिसभाको पाँच वर्षे अवधि रोचक ढङ्गले जाँदैछ, घटनाहरू दुःखदायी छन्, तर देख्दा रोचक छ,’ उनले भने,‘एउटै कार्यकालमा दुई पटक प्रतिनिधिसभाको विघटन सायद यो वर्ल्ड रेकर्ड हुन्छ होला, र अर्को पनि वर्ल्‍ड रेकर्ड हुन्छ होला दुवैपटक प्रतिनिधिसभाको पुन:स्थापना अदालतले गर्छ।’

नेकपा एमालेका सचिवसमेत रहेका भट्टराईले अध्यक्ष केपी ओली र नेता माधव नेपाल दुवैले एकपक्षीय निर्णयलाई खारेज गरेर एकताको बाटो सहज बनाउनुपर्ने बताए। ‘दुवै जनाको तर्फबाट कार्यदल तयार भएका छन्, ती कार्यदललाई ब्युँताएर जेठ २ गते अघिको अवस्थामा फर्कनु आवश्यक छ’ उनले भने, ‘अन्य विषयहरु मिल्दै जान्छन्।’

उनले विपक्षी दलको नेतालाई सहयोग गर्नुको एउटै मात्र उद्देश्य प्रतिनिधिसभा बचाउनको लागि भएको बताए। ‘संसदीय व्यवस्थाको चरित्रको हिसाबले त्यो गल्ती हो, त्यो गर्नु हुँदैन, त्यो राम्रो कुरा होइन तर कुनै घटना घट्दा त्यसको कारण बुझ्नुपर्छ।’ उनले दुवै पक्षले गरेका एकपक्षीय निर्णयहरु खारेज गरेर जेठ २ को अवस्थामा फर्कनुपर्ने र मिल्नुको विकल्प नरहेको पनि बताए।

उनले प्रतिनिधिसभा पुन:स्थापना भए पनि नभए पनि एमाले एकठाउँमा उभिनुपर्ने बताए। ‘प्रतिनिधिसभा पुन:स्थापना भए पनि एमाले एकैठाउँमा बस्नुपर्छ, नभए पनि एकैठाउँमा उभिएर चुनावमा जानुपर्छ’ उनले भने।

त्यस अवसरमा भट्टराईले पत्रकार महासंघ ताप्लेजुङ शाखालाई नगद एक लाख रुपैयाँ सहयोग पनि प्रदान गरेका थिए।