व्यवसाय प्रवर्द्धनका लागि रकम उपलब्ध गराउछौ : नगर प्रमुख चौधरी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

व्यवसाय प्रवर्द्धनका लागि रकम उपलब्ध गराउछौ : नगर प्रमुख चौधरी



विशाल पाण्डेय / घोडाघोडी ,कैलाली ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले तालिम लिएर सीप सिकेका ब्यक्तिहरूलाई व्यवसाय तर्फ उन्मुख गराउनको लागि घोडाघोडी नगरपालिकाले रकम उपलब्ध गराउने बताउनु भएको छ ।

मंगलबार एन. आर. एन वुमन फोरम (स्विजरल्यान्ड) को आयोजनामा कैलालीको अति बिपन्न बादी तथा मुक्त कमैया समुदायका महिलाहरुका लागि सुखडमा सुरु हुन लागेको ४५ दिने ब्युटी पार्लर तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

नगर प्रमुख चौधरीले विभिन्न किसिमको तालिमहरु लिएर व्यवसाय गर्ने इच्छा हुँदा हुँदै पनि आर्थिक स्थिती कमजोर भएर ब्यवसाय सुरु नगरेका ब्यक्तिहरुलाई ब्यवसाय प्रवर्द्धनका लागि आगामी बर्षमा रकम बिनियोजन गरि उपलब्ध गराइने बताउनु भएको हो ।

पछिल्ला दिनमा पनि विभिन्न तालिमहरु लिएर सीप सिकेपनी आर्थिक स्थितिका कारण व्यवसाय नै सुरु नगरी घरमै बसिरनु पर्ने बाध्यतालाई अन्त्य गर्नको लागि आगामी आर्थिक बर्षमा बजेट छुट्याउन छलफल गरि सम्पूर्णलाई ब्यावसायिकरणमा लैजानु पर्ने बताउनु भयो । चौधरीले सीप सिकेर व्यवसाय गर्ने इच्छुक ब्यक्तिहरुलाई बिना ब्याज किस्ता किस्तामा फिर्ता हुने गरि रकम उपलब्ध गराउने बताउनु भयो । साथै उहाँले सीप नभएको मानिसलाई जीवन स्तर उकास्न गाह्रो हुने हुँदा तालिममा नियमित रुपमा सहभागीता जनाइ दक्ष हुन आग्रह गर्नुभयो ।

कार्यक्रमका संयोजक प्रकाश मिश्रले स्विजरल्याण्डमा अन्तर्राष्ट्रिय नारी दिवसका दिन एन आर एन वुमन फोरम (स्विजरल्याण्ड) ले आयोजना गरेको कार्यक्रममा विभिन्न सहयोगी दाताहरुबाट उठेको सहयोग रकमले उक्त तालिमको आयोजना गरिएको बताउनु भयो । संयोजक मिश्रले यस कार्यक्रमका लागि अहोरात्र खटिने एन आर एन वुमन फोरम स्विजरल्याण्डकि संयोजक शुभा इल्मार लामा, सुनम पन्त र सम्पुर्ण सहयोगी दाताहरुलाइ धन्यवाद दिनु भएको थियो । त्यस्तै एन आर एन वुमन फोरम कि आइ सि सि कोर्डिनेटर रजनि प्रधानले तालिम लिइसकेपछी ब्यवसाय संचालनका लागि महिलाहरुलाइ आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको समेत संयोजक मिश्रले बताउनु भयो ।

आफुहरुले तालीम लिन पाउने भएपछी निकै खुशी लागेको र तालीमबाट सीकेको कुरालाई ब्यवहारमा लागु गर्दै आफ्नो आर्यआर्जमा सहजता तुल्याउने सहभागीहरुले बताएका छन् । तालिममा अति बिपन्न बादी तथा मुक्त कमैया समुदायका १० जना महिलाहरुलाई सुखडमा रहेको दिपा ब्युटी पार्लरमा प्रशिक्षण दिइने छ । एन आर एन वुमन फोरम स्विजरल्याण्डले यस अघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।