बुटवलको सम्बोधनमा प्रधानमन्त्रीले के भने ? - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

बुटवलको सम्बोधनमा प्रधानमन्त्रीले के भने ?



बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन र नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन्।

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय तथा स्रोत-साधन, सीप ज्ञान, उपलब्ध पुँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले पहिलो पटक प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आइतबार बुटवलमा सम्बोधन गर्दै तीन वटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने बताए।

प्रधानमन्त्रीले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछिको पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुसी लागेको बताउँदै यस्तो खुसीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने बताए।

लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै राष्ट्रसंघले अगाडि सारेको सन् २०३० सम्मको दिगो विकासको लक्षलाई पूरा गर्न वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा महत्वपूर्ण कार्यक्रमलाई अगाडि बढाउने स्पष्ट पारे।

नेपालको व्यापार घाटामा असन्तुलन मात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाउने र उत्पादन, रोजगारी, आयमूलक कार्यक्रम लागू गरेर जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकारले अगाडि बढाउने समेत बताए।

उनले विगतमा छिमेकी देशसँगको सम्बन्ध केही समस्या भए पनि अहिले वर्तमान अवस्थामा ती समस्याको समाधानको बाटोमा रहेको बताउँदै हिजोको जस्तो अवस्था नभएर हाम्रा छिमेकीसँगको सम्बन्ध सुमधुर रहेको बताउँदै भने, ‘हामीले छिमेकीसँगको सम्बन्ध र अन्य देशसँगको सम्बन्ध एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा बराबरी छ र आफ्ना आन्तरिक मामिलामा अरुको रुचि, चासो, स्वार्थ घुस्न दिनुहुन्न भन्ने कुरालाई हामीले स्थापित गरेका छौं।’

उनले आफ्नो भारत भ्रमणमा भएका कुरा र दुवै देशका प्रधानमन्त्री लगायत अन्य नेताले बोलेका कुरा र संयुक्त प्रेस वक्तव्य जस्ता कुराबाट अब बराबरीको आधारमा सम्बन्ध स्थापित भएको मान्यतालाई स्थापित गरिएको समेत प्रदेशसभा बैठकलाई सम्बोधनमा बताए।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले सबैभन्दा धेरै उपलब्धि दिलाएको भन्दै सरकारको अबको ध्यान सामाजिक न्याय र समानतातर्फ केन्द्रित रहेको बताए। उनले लोकतन्त्रलाई वास्तविक अर्थमा व्यवहारमा कार्यान्वयन गर्नेतर्फ लोकतान्त्रिक मूल्य मान्यतालाई आफ्नो आचरणमा र समाजको जीवनपद्धतिका रुपमा अपनाइने बताए।

उनले लोकतन्त्रलाई राजनीतिक अधिकार प्राप्तिको मात्र नभएर प्रत्येक जनताको खान, लाउन, बस्न पाउने, स्वास्थ्यको अधिकार, शिक्षाको अधिकार र उन्नति र प्रगतिका लागि आर्थिक जीवन, समाजमा समान हैसियत कायम गर्नका लागि सामाजिक समानता कायम गर्ने विषयमा पनि व्यावहारिक रुपमा कार्यान्वयन गर्ने प्रस्ट पारे।

प्रधानमन्त्री ओलीले गौतमबुद्धको जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित थुप्रै क्षेत्रसँगै अन्य महत्वपूर्ण धार्मिक स्थानको संरक्षण, विकास र प्रचारप्रसार गरेर प्रदेशमा निकै ठूला अवसर रहेको भन्दै सो अवसरको उपयोग गर्न समेत आग्रह गरे। उनले धार्मिक पर्यटन, सांस्कृतिक, पर्यटन, कृषि, उद्योग, व्यापार लगायत धेरै सम्भावना प्रदेश नं ५ मा रहेको बताउँदै यसको योजनाबद्ध विकासमा लाग्न समेत निर्देशन दिए।

मुलुकको विकास, समृद्धि तथा प्रदेश सरकारलाई बलियो बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउँदै उनले प्रदेशलाई बलियो बनाउन सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता जनाए।

उनले जनतालाई सुशासन दिन आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताउँदै भन्नुभयो, ‘म भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिनँ र भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ।’

प्रधानमन्त्री ओलीले ‘सिन्डिकेट’ तोड्न खोज्दा निकै ठूलो प्रतिरोधको सामना गर्नुपरेको बताउँदै अनुचित कुरामा सरकारको कुनै सम्झौता नहुने र कानुनको राज्यमा विभिन्न खाले सेटिङ मिलाउने र अनुचित बल प्रयोग गरेर जनतालाई दुःख दिनेजस्ता कार्यसँग सम्झौता नगरिनेसमेत स्पष्ट पारे।