प्रदर्शनीको पाचौ दिन प्रदर्शनीमा अवलोकनकर्ताको भिड, भलिवल प्रतियोगिता सुरु
बुटवल । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा विहीवारदेखि जारी १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४‘ को पाचौ दिन सोमवार दर्शकहरुको भिड अत्यधिक रह्यो । क्रिसमस दिवसका कारण सार्वजिनिक विदा परेकाले प्रदर्शनी हेर्न दर्शकहरु प्रदर्शनीस्थल बुटवल मण्डपमा ओइरिएका थिए ।
प्रदर्शनीमा आएका दर्शकहरुको भिडका कारण प्रवेश गर्ने गेट र बाहिरीने गेट छुट्टाछुटै बनाउनु परेको थियो । आयोजककोतर्फबाट दर्शकहरुको सुविधाका लागि बाहिरिने बाटो अलग बनाइएको थियो ।
प्रदर्शनी मुल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीका अनुसार आज मात्र प्रदर्शनी हेर्न करिव ७५ हजार दर्शक प्रदर्शनी टिकट काटेर प्रवेश गरेको अनुमान गरिएको छ ।
आज आएका दर्शकहरुको चापलाई व्यवस्थित गर्न गेटमा तथा भित्र स्टलमा सुरक्षाकर्मी एवं आयोजकहरुलाई हम्मेहम्मे परेको थियो । प्रदर्शनी हेर्नका लागि रुपन्देही सहित पाल्पा, नवलपरासी, कपिलबस्तु, दाङबाट दर्शकहरु आएका थिए । विहान १० बजेबाट सुरु भएको टिकट विक्रिका क्रममा काउन्टरमा धेरै भिड भएपछि आयोजक समितिका पदाधिकारी तथा सदस्यहरुले आफै दर्शकहरुको सहजताका लागि टिकट काट्न सक्रिय भएका थिए । प्रवेश गेटबाट छिरेका दर्शकहरुको भिड र लाईन प्रदर्शनी स्टलमा पनि त्यत्तिकै थियो ।
अघिल्ला बर्षहरुमा जस्तै यस वर्ष पनि प्रदर्शनीमा खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिएको छ । प्रदर्शनीमा आउने दर्शकहरुलाई थप मनोरञ्जन दिने तथा खेलप्रति उत्साह जगाउदै स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सोमवारदेखि भलिवल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नु भएको थियो ।
राष्ट्रिय औद्योगिक प्रदर्शनीमा समावेश गरिएको प्रथम आर.सि.आई कप भलिवल प्रतियोगिता–२०७४ मा रुपन्देही, गुल्मी, नवलपरासी र स्याङ्जा जिल्लाका ८ वटा टिमहरुले सहभागिता रहेको प्रतियोगिताका संयोजक हिरामणी भट्टराइृले बताउनु भयो । जिल्ला भलिवल संघ, रुपन्देहीसँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगिता लिगका आधारमा प्रतिस्पर्धा गराइएको छ । प्रतियोगिता अन्तरगत उद्घाटन खेल मणिमुकुन्द भलिवल क्लब ए र ब्रेभो गोर्खा बुटवलवीच भएको थियो । मणिमुकुन्दले गोर्खालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगिता अन्तरगत मंगलवार जिल्ला भलिबल संघ स्याङ्गजा र पाल्पावीच खेल हुने छ ।
प्रतियोगिताको विजेता टिमलाई रु. १ लाख २५ हजार ५ सय ५५ नगद पुरस्कारको व्यवस्था रहेको छ । त्यसैगरि दोस्रो हुनेले ६६ हजार नगद प्राप्त गर्ने छ । भलिवल खेल आयोजनाका लागि मण्डपमा छुटै कोर्ट तथा दर्शक बस्ने प्याराफिट निमार्ण गरिएको छ ।
प्रदर्शनीको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम अन्तरगत विभिन्न नयाँ प्रस्तुति तथा प्रतियोगिताहरु थपिदै गएपछि मञ्चतर्पmको कार्यक्रम रोचक बन्दै गएको छ । सोमवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गित प्रतियोगिता तथा प्रदर्शनी आइडलमा सहभागीहरुको छनौट प्रस्तुती प्रक्रिया जारी रहेको संयोजक राजेन्द्र कार्कीले बताउनु भयो ।
आइतवारबाट सुरु भएको दोहोरी गित प्रतियोगिता अन्तरगत सोमवार बुलबुल मिडिया प्रा.ली, बुटवल र करण फिलिम्स प्रोडक्ट, काठमाडौकावीच प्रतिष्पर्धा भएको छ । जसमा बुलबुल मिडिया प्रा.ली, बुटवल विजयी भएको छ । मंगलवार राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान रुपन्देही र गुल्मी कलाकुञ्ज, गुल्मीवीच प्रतिष्पर्धा हुने कार्यक्रम रहेको छ ।
यता प्रदर्शनी आइडल–२०७४ को टप ७ छनौट भएका छन् । सांस्कृतिक कार्यक्रम अन्तरगत सोमबार राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा राष्ट्रिय चर्चित गायक पुरुषोत्तम न्यौपाने, आधुनिक गायक हेमन्त शर्मा, दोहोरी गायिका सोनु लामा, दोहोरी गायक दिपु मगर, हास्य कलाकार विष्णुजी पाण्डे लगायतको रहेको थियो । मंगलवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत चर्चित दोहोरी गायक शिषिर देवकोटा, दोहोरी गायीका कला पंगेनी, आधुनिक गायक सौगात शायर, टिकाराम गौतम र निरु गुरुङ उपस्थित हुने छन् ।