बुटवलमा अध्ययन गर्ने सात युवाले बनाए मापसे सेवन गरे नचल्ने बाइक !
आचार्य प्रदीप/बुटवल ।
मादक पदार्थ सेवन गरेर मोटरसाइकल तथा स्कुटर चलाउनु हुन्छ ? ख्याल गर्नुहोस् अब मापसे सेवन गरेमा सवारी नचल्ने व्यवस्था सहितको यन्त्र बनाएका छन् लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा अध्ययन गर्ने सात युवाहरूले ।
कलेजमा डिप्लोमा इन ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग मा पाँचौँ सेमेस्टर मा अध्ययनरत कुशल भट्टको मुख्य योजनामा निर्माण भएको यो यन्त्रमा प्रोग्रामिङ गरेर उक्त यन्त्र निर्माण गरिएको हो ।
फुल हेलमेट र सामान्य यन्त्र हेर्दा जडित बाइकमा मादक पदार्थ सेवन गरेमा स्टार्ट नै हुँदैन् । फुल हेलमेटको मुखमा सेन्सर राखिएको छ जसको कारणले हेलमेटमा रहेको बत्ती बोल्न जान्छ ।
मापसे गरेको भए त्यसमा भएको रातो बत्ती बल्दछ भने मापसे नगरेमा हरियो रङ्गको बत्ती बल्न जान्छ । हेलमेटमा कसैले चलाउन वा बिगार्न खोजेमा निलो रङ्गको बत्ती बल्दछ ।
हेलमेटमा अल्कोअल सेन्सर रहेको छ । यो सेन्सरले मापसेको गन्ध मार्फत रिड गरेर डाटा ट्रान्सफर गर्न वायरलेस सिस्टम राखिएको छ भने मोटरसाइकल मा डाटा रिसिभ गर्ने सिस्टम राखिएको छ ।
यसमा आएको डाटा रिडिङ गरेर मोटरसाइकलको स्टार्टको कनेक्सन सँग जोडिएको हुन्छ । यसले बाइक स्टार्ट हुँदैन् ।
(बायाँबाट प्रिया गिरी, प्रभात ज्ञवाली, मनिष भण्डारी, किरण कँडेल, कुशल भट्ट, दिपेन्द्र पाण्डे र चन्द्रीका थापा)
ड्रङ्क राईडिङ कन्ट्रोल सिस्टम नाम दिइएको यसका मुख्य योजनाकार भट्टले घरमा भएको सवारी साधनहरू मापसे गरेर दुर्घटना हुने हुँदा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनी घरमा साधन रहे दुर्घटना हुने र अन्य सदस्यले चलाउन नपाउने अवस्था हटाउन नै मुख्यतः उद्देश्य रहेको बताउँछन् । प्रदेश ५ मै पहिलो पटक निर्माण गरिएको उनको दबी छ ।
उनले भने –‘ देशमा दुर्घटनाहरू बढिरहेका छन् । मापसे सेवनबाट सवारी चलाउन रोक्नको लागी पनि यस डिभाईसले सहयोग पुग्नेछ । ’
कलेजमा ब्याचलर ईन् कम्प्युटर ईन्जीनियरिङ्ग सात सेमेस्टरमा अध्ययन गर्ने मनिस भण्डारी, प्रभात ज्ञवाली, किरण कंडेल, दिपेन्द्र पाण्डे, चन्द्रकिा थापा र प्रिया गिरीको सहयोगमा डिभाईस तयार भएको हो ।
सातौँ सेमेष्टरका प्रोग्रामीङ टिम प्रमुख मनिष भण्डारी भन्छन् बुटवलमा सञ्चालन भएको क्या ईन्फोटेकको लागी यो यन्त्र बनाएको थियौँ । उनले भने –‘क्यान मेलामा भएको अन्तरकलेज आई टि प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका थियौँ ।’
क्यानको लागी बनाएको यस उपकरणलाई बजारमा ल्याएमा फाईदाजन रहेको भण्डारी बताउँछन् । उनले भने –‘हेलमेट बिना कनेक्टेड बाइक चल्दैन यसले मोटरसाइकल चोरी हुन बाट बचाउँछ । ’क्यान ईन्फोटेक सुरु हुन भन्दा १ हप्ता पहिला मात्र निर्माण गर्न सुरु गरेको उनीहरूको भनाई छ ।
इन्फोटेकको लागी ५ हजार लागतमा बनेको यो यन्त्र निर्माणको लागी आवश्यक सेन्सरहरू काठमाण्डौमा सीमित मात्रामा पाउने गरेको भण्डारीले बताए ।
(प्रदेश नम्बर ५का मुख्यमन्त्रीले अवलोकन गर्दै )
व्यावसायिक रूपमा बिक्री वितरणका लागी मासिक २ सय वटा मोटरसाइकलमा सेन्सरिङ गर्न सक्ने क्षमता रहेको उनीहरूको भनाई रहेको छ । व्यवसायकी हिसाबमा निर्माण गर्दा ३ हजार लागतमा सेन्सर जोड्न सकिने उनीहरू बताउँछन् ।
सामान्य स्मार्ट फोन जत्रो र पानीबाट नबिग्रने र नदेखिने तरिकाबाट राख्न सकिने उनीहरूको भनाई छ ।