बुटवल उपमहानगरको बजेट १ अर्ब ६३ करोड - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

बुटवल उपमहानगरको बजेट १ अर्ब ६३ करोड



रूपन्देही, १३ भदौ-
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि १ अर्ब ६३ करोडको बजेट तय गरेको छ । नगरसभाले चालू आवका लागि बजेट पारित गरेको हो ।

आइतवारको नगरसभा बैठकमा नगर प्रमुख शिवराज सुवेदीले बजेट प्रस्तुत गरेका थिए । सुवेदीले नगरवासीको विकासको चाहनालाई साधन र स्रोतले भ्याएसम्म समेट्ने प्रयास गरिएको बताए । बजेटमा आन्तरिक स्रोत तर्फबाट २३ करोड ७२ लाख र बाह्य स्रोतबाट १ अर्ब ३९ करोड ६३ लाख प्राप्त हुने उल्लेख छ ।

बजेटमा चालू खर्चतर्फ २९ करोड ६१ लाख रुपैयाँ छुट्याइएको छ । पूर्वाधार तथा सामाजिक विकासका लागि १ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालू खर्चतर्फको बजेट मध्येबाट कर्मचारी तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि १५ करोड ६६ लाख विनियोजन गरिएको छ ।

बजेटले सडक, सरसफाइ, विद्युत्, कृषिलाई प्राथमिकतामा राखेको छ । नगरभित्रका सडकमा रहेका खाल्टाखुल्टी पुर्ने, ग्राभेल नभएका सडकलाई स्तरोन्नति गर्ने, उज्यालो शहर कार्यक्रमलाई प्रभावकारी बनाउनेलगायतका विषयलाई बजेटले समेटेको छ । यस्तै, बुटवलको चक्रपथ निर्माण गर्ने, वडा कार्यालयहरू निर्माण गर्नेलगायतका विषयमा पनि बजेट विनियोजन गरिएको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार भदौ १६ गते उपमहानगरपालिकाले स्वीकृत बजेट सार्वजनिक गर्नेछ ।