बस काण्डवाला रुचाललाई प्रहरीले हस्तमैथुनको डेमो गर्न लगाएपछि... - Himal Post Himal Post
  • २५ कार्तिक २०८१, आईतवार
  •      Sun Nov 10 2024
Logo

बस काण्डवाला रुचाललाई प्रहरीले हस्तमैथुनको डेमो गर्न लगाएपछि…



काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो। लगनखेल-स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए। ती युवक को हुन् भन्ने न भिडियोबाट पहिचान गर्न सकिन्थ्यो, न पीडित युवती नै।

आफ्नो शरीरमा वीर्य स्खलन भइरहेकोबारे ती युवती पनि जानकार थिइनन्। तर सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म वीर्य स्खलन गर्ने युवकमाथि कारबाही माग गर्दै चर्को आक्रोश पोखियो।

भिडियो फेसबुकमा मात्र होइन, युट्युब र अश्लील भिडियो उत्पादक अमेरिकी कम्पनी ‘पोर्नहवडटकम’ को वेबसाइटमै अपलोड भइसकेको थियो। प्राविधिक अनुसन्धानमा भिडियो साउन २५ मा खिचेर मंसिरमा अपलोड गरिएको पत्ता लाग्यो। मंसिरमा नक्कली फेसबुक अकाउन्टबाट अपलोड भिडियो माघमा ‘वुमन्स वारियर’ नामको अर्को फेसबुक पेजबाट पनि सार्वजनिक गरिएको थियो।

भिडियो भाइरल भएपछि ती युवती महानगरीय अपराध महाशाखामा उजुरी दिन पुगिन्। नाम गोप्य राख्ने गरी उनले उजुरी दिइन्। पीडितको नाम अहिले पनि गोप्य नै राखिएको छ। उजुरीले उक्त बस कुन रुटमा चल्छ भन्ने यकिन भयो। यसले अनुसन्धानलाई केही सहज भए पनि अझै अभियुक्तसम्म पुग्न प्रहरीलाई कठिन थियो।

‘न समाउने हाँगो, न टेक्ने ठाउँ भनेझैं भयो,’ सुरुदेखि अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका एक अधिकृतले भने, ‘सामाजिक सञ्जालबाट आएको दबाब र अनुसन्धानमा देखिएको सकस दुवै कारण हामी कसरी पत्ता लगाउने भन्नेमा अन्योल थियौं।’

अपराध गर्नेले जति नै घटना लुकाउन खोजे पनि अनुसन्धानमा केही न केही प्रमाण फेला पर्छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), साइबर ब्युरो र महानगरीय अपराध महाशाखाले भिन्नाभिन्नै रूपमा घटनाको सूक्ष्म अनुसन्धान गरिरहे। अनुसन्धानकै क्रममा अपराध महाशाखाले अमेरिकी कम्पनी पोर्नहवडटकम, फेसबुक मुख्यालय र गुगलडटकमलाई अनुसन्धानमा सघाइदिन भन्दै प्राविधिक विवरण उपलब्ध गराउन आग्रहसहित छुट्टाछुट्टै इमेल पठायो।

भिडियो अपलोडबारे फेसबुक मुख्यालयले महाशाखालाई २०१९ जनवरी २७ मा पत्र पठाउँदै भिडियो कतारको ‘भर्चुअल प्राइभेट नेटवर्क’ (भीपीएन) प्रयोग गरेर अपलोड गरिएको जानकारी दियो। यसबारे कतारबाटै जानकारी लिन भन्यो।

पोर्नहवले अमेरिकी भीपीएन प्रयोग गरेर भिडियो अपलोड भएको जानकारी गरायो। तर गुगलले प्रहरीलाई विवरण दिन मानेन। पोनहर्व र फेसबुकका छुट्टाछुट्टै विवरणले अनुसन्धानमा झनै अन्योल थपियो।

पोर्नहवले प्रहरीलाई पठाएको एउटा इमेलले भने अनुसन्धानलाई सहज बनाइदियो। भिडियो पोर्नहवमा अपलोड गर्न ती युवकले ‘पीब्वाइकेटोएटजीमेलडटकम’ इमेल अकाउन्ट नेपालबाटै खोलेको भेटियो। रुचालले पोर्नहवमा ‘पीब्वाइकेटोएटजीमेलडटकम’ मार्फत भिडियो अपलोड गरेका थिए। ‘नेपाल बसकाण्ड’ उल्लेख गरिएको तस्बिर महाशाखाको आग्रहमा पोर्नहबले हटाइसकेको छ।

खोजीका क्रममा रुचालसँगै कनेक्सन भएका अर्का एक अपरिचितले प्रहरीलाई म्यासेज पठाएका थिए। सुरुमा प्रहरीले त्यो म्यासेजलाई खासै ध्यान दिएन। त्यसबेला महाशाखामा एसएसपी धीरजप्रताप सिंह थिए। पछि महाशाखा प्रमुख भएर गएका एसएसपी सहकुल थापाले पुरानो फाइल खोल्न लगाए।

त्यसक्रममा अनुसन्धानबाट खुलेका प्रमाण, पछिल्लो पटक बटुलिएका विवरण र ती अपरिचितले महाशाखालाई पठाएको म्यासेजमा केही मेल देखियो। म्यासेजकै आधारमा प्रहरीले ‘रविन रुचाल’का नाममा खोलिएका चारवटा फेसबुक अकाउन्ट फेला पार्‍यो। रुचालले खोलेका फेसबुकमा अपलोड गरिएका र बसमा वीर्य स्खलन काण्डको भिडियोमा मेल खायो। अनुसन्धानले पूर्णता नपाएसम्म यसबारे केही पनि नबोल्न र कतै पनि सुइँकोसम्म नदिन थापाले अनुसन्धान अधिकृतहरूलाई सचेत गराएका थिए।

रुचालको खास नाम रविन सार्की हो। तनहुँको साविक अरुणोदय गाविस-१ घर भए पनि उनी चितवन महानगरपालिका (विकासचोक)मा बस्दै आएका थिए। कामका सिलसिलामा ३ वर्षयता काठमाडौंमा रिक्सा चलाउँथे। केही तथ्य बटुलिसकेपछि प्रहरीको विशेष टोली मानवीय र प्राविधिक पक्षसहित अनुसन्धानको अर्को पाटो खोज्नतिर लाग्यो, जसले बसमा वीर्य स्खलन गर्ने रुचालको पहिचान गर्न सहज होस्।

पोर्नहबले उपलब्ध गराएको इमेल ठेगाना खोज्ने क्रममा भिडियो अपलोड गर्न एनसेलको सिमकार्डमार्फत इन्टरनेट प्रयोग गरिएको देखियो। सिमकार्डबारे महाशाखाले एनसेललाई पत्र लेख्यो। अनि उनको स्थायी ठेगाना तनहुँ र हाल चितवनमा रहेको खुल्यो। यो खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।

आफ्नो हर्कत सामाजिक सञ्जालमा फैलिएपछि काठमाडौंको बानेश्वरमा डेरा गरी बस्दै आएका उनी दिल्ली भागेका थिए। दिल्लीस्थित एक मःम फ्याक्ट्रीमा ३ महिना काम गरेपछि कश्मीर पुगे। चार महिना त्यहीं बसे। एसएसपी थापाका अनुसार डरले रुचाल काठमाडौंबाट चितवन हुँदै दिल्ली पुगेका थिए।

भारतमा ७ महिना बसेर केही साताअघि मात्र चितवन आएका उनलाई पक्राउ गरी प्रहरीले सोमबार काठमाडौं ल्याएको हो । उनलाई मंगलबार एसएसपी थापाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्। उनी महाशाखाकै नियन्त्रणमा छन्।

यकिन गर्न डेमो

पक्राउ गरे पनि भिडियो खिच्ने र अपलोड गर्ने व्यक्ति एउटै हुन् कि होइनन् भन्ने स्पष्ट हुन् सोमबार रुचाललाई अनुसन्धान अधिकृतकै सामुन्ने ‘हस्तमैथुन डेमो’ गर्न लगाइयो। हस्तमैथुन गर्दा उनको हुलिया र बसको भिडियोमा तालमेल मिल्यो। बसमा वीर्य स्खलन गर्ने व्यक्तिको दायाँ हातको बूढी औंलामा खत र चोरी औंलाको टुप्पोमा भएको खत पनि मेल खायो। दुवै प्रमाणमा एउटै व्यक्तिको हुलिया मिलेपछि प्रहरी नियन्त्रणमा रहेका रुचाल हतोत्साहित भए तर सुरुमा उनले अभियोग स्वीकार गरेनन्। भिडियो अपलोड गर्न खोलेको इमेल ठेगाना, एनसेलको सिमकार्ड, उनका ४ वटा फेसबुक अकाउन्ट र उनले सम्पर्क गर्ने व्यक्तिका विवरणलगायत प्रमाणबारे प्रहरीले प्रस्ट पारेपछि भने उनले अभियोग स्वीकार गरेका छन्।

कामको खोजीमा तीन वर्षअघि काठमाडौं आएका रुचालले रिक्सा चलाउन थाले। ११ कक्षा उत्तीर्ण उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्थे। त्यही क्रममा ‘हर्ट इस्यु’ सामाजिक सञ्जालमा पोस्ट गरेमा पैसा कमाउन सकिने भन्दै गलत धन्दामा लागे।

‘फेसबुक पेज खोलेर १५ हजारसम्म लाइक पुर्‍याउने र त्यो अर्कैलाई बिक्री गर्ने’ योजनाअनुसार रुचालले बसमा अश्लील भिडियो खिचेको पनि खुलेको छ,’ एसएसपी थापाले कान्तिपुरसँग भने, ‘वुमन्स वारियर नामको फेसबुक पेज त्यसैका लागि खोलिएको रहेछ।’ यस्ता अश्लील र सामाजिक रूपमा वर्जित गतिविधि गर्ने गिरोह नै सक्रिय रहेको उल्लेख गर्दै थापाले भने, ‘उनीहरूको पनि खोजी जारी छ।’

अश्लील भिडियो खिच्ने, सामाजिक सञ्जाल र वेबसाइटमा अपलोड गर्ने व्यक्ति रुचाल नै भएको दाबी प्रहरीको छ। तर काठमाडौं जिल्ला अदालतमा रुचालले भिडियो अपलोड गरेको तर वीर्य स्खलन गर्ने व्यक्ति आफू नभएको बयान दिएका छन्। अनुसन्धानका लागि म्याद थप्न उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। सुरुमै न्यायाधीशले ‘तपाईंले बसमा वीर्य स्खलन गरेको हो?’ भनेर सोधेका थिए। जवाफमा रुचालले भने, ‘भिडियो मैले खिचेको होइन, अपलोडचाहिँ गरेको हुँ।’

त्यसपछि सामान्य सोधपुछ गर्दै न्यायाधीशले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए । एसएसपी थापाका अनुसार रुचालविरुद्ध साइबर अपराध गरेको कसुरमा अनुसन्धान भइरहेको छ। अपराध पुष्टि भए रुचालविरुद्ध १ लाखसम्म जरिवाना र ५ वर्ष कैद हुन सक्छ।

भिडियोका अनुसार बसमा सवार युवतीमाथि वीर्य स्खलन गर्ने युवक डल्लुबाट (स्वयम्भू)बाट बा२ख ९३२६ नम्बरको मिनिबसमा लगनखेल आउँदै थिए। उनी पछाडिपट्टिको सिटमा थिए। त्यही बेला सरकारी कर्मचारीको पोसाक लगाएकी एक युवती÷महिला बसमा चढिइन्।

त्यसभन्दा अघि नै अर्की युवती युवकभन्दा अगाडिपट्टिको सिटमा आएर बसेको देखिन्छ। पछाडिबाट युवकले हस्तमैथुन गरी अगाडि बसेकी युवतीको कपालमा पुग्ने गरी वीर्य स्खलन गर्छन्। त्यसबारे युवती जानकार नभएको देखिन्छ। तर पछि थाहा पाएर पनि बेइज्जत हुने त्रासले युवतीले यसबारे बाहिर नभनेको अनुसन्धान अधिकृतले बताए। ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक (रुचाल)ले भिडियो खिचेर अपलोड गरेको प्रहरीको दाबी छ।