वुहानको कहर: अस्पतालमा बेड छैन, डाक्टर र नर्स छैनन् - मर्नु अगाडीसम्म बेड नपाएकाको कथा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

वुहानको कहर: अस्पतालमा बेड छैन, डाक्टर र नर्स छैनन् – मर्नु अगाडीसम्म बेड नपाएकाको कथा



बीबीसी- रहस्यमय नयाँ भाइरस फैलन सुरु भएको हप्तौँपछि चिनियाँ निकायले को यसबाट संक्रमित छ भन्ने निर्धारण गर्ने शैली अचानक बदल्ने निर्णय ग¥यो ।

यसले उल्लेखनीय रुपमा बिरामीहरुको सङ्ख्या वृद्धि गरायो किनकि डाक्टरहरुले अहिले परीक्षण गराएका बिरामी मात्र नभएर क्लिनिकमा रोग पहिचान भएकाहरुलाई पनि संक्रमितमा गणना गरेका छन् ।

यसरी सुरुवाती दिनहरुमा वुहानमा तीव्र रुपमा भाइरस फैलनु र अस्पतालमा बेडको अधिक अभाव हुनुको अर्थ धेरैले आवश्यक पर्दा उपचार गराउन पाएनन् ।

यसै महामारीका बीच आफ्ना प्रियजनहरुलाई उपचार गराउने प्रयास अन्तर्गत दिनहुँ गर्नुपरेका संघर्षपूर्ण अनुभवबारे वुहानका दुई बासिन्दाले बीबीसीसँग कुरा गरेका छन् ।

बीबीसीमा प्रकाशित उनीहरुको अवस्था

आमाबुवाको मृत्युपछि ह्वाङलाई सानैदेखि उनका हजुरबुवाआमाले पालेका थिए । आफूले सधैँ ८० को उमेरमा रहेका दुवैलाई केवल आरामदायक रिटायरमेन्ट मात्र दिलाउन चाहेको उनी बताउँछन् ।

तर अचानक फैलिएको भाइरसले १५ दिनमै उनका हजुरबुवाको ज्यान लियो भने हजुरआमा पनि गम्भीर अवस्थामा रहेको उनले बताए ।

उनका अनुसार दुवैलाई गत जनवरी २० देखि नै सास फेर्नमा कठिनाइ भइरहेको थियो ।

तर २३ जनवरीसम्म वुहानमा सार्वजनिक सवारीसमेत बन्द गराइएपछि ह्वाङले २६ जनवरी यता उपचारका लागि कतै लैजान सकेनन् ।

यसरी २९ जनवरीका दिन दुवैलाई कोरोना भाइरस भएको पक्का भयो तर अझै त्यसको तीन दिनपछि मात्र अस्पतालमा भर्ना गरियो ।

त्यतिबेला अस्पताल यति भरिभराउ थियो कि कुनै पनि बेड खालि नभएको उनी बताउँछन् ।

यसरी हजुरबुवाआमा दुवैलाई सास फेर्न गाह्रो भइरहे पनि बेड खालि नहुनाले दुवैलाई कोरिडोरमा बस्न भनियो ।

उनले अस्पतालका स्टाफसँग बारम्बार बिन्ती गरिरहँदा मुश्किलले एउटा लामो चियर र फोल्डिङ बेड पाए ।

उनले आफ्नो डायरीमा लेखेका छन्, “तर यति गर्दा पनि डाक्टर र नर्स कतै देखा पर्दैनथे । र डाक्टरबिनाको अस्पताल चिहानसरह हुन्छ ।”

यसरी उनका हजुरबुवाको मृत्यु हुनु एकदिन अगाडिसम्म पनि उनीहरु कोरिडोरमै थिए ।

उनका अनुसार हजुरबुवाको गम्भीर अवस्थाबारे हजुरआमालाई थाहा नदिन त्यसदिन उनी रातभर उनीसँग कुरा गरिरहे ।

यसपछि मृत्यु हुनुभन्दा तीन घण्टा अघिमात्र बेड पाएको ह्वाङ बताउँछन् ।

ह्वाङ तिनका हजुरबुवाले अन्तिम सास फेर्दासम्म उनैका साथमा बसिरहे । सामाजिक संजाल बेइबोमा उनले लेखेका छन्, “हजुरबुवा तपाईँको आत्माले शान्ति पाओस् । अब स्वर्गमा कुनै पीडा हुनेछैन ।”

यसरी धेरै बिरामीहरुले आफ्ना परिवारलाई अन्तिमपटक देख्न पनि नपाइ दुनियाँ छाडेर जानुपरेको उनी दुःखी हुँदै बताउँछन् ।

अहिले त्यसै अस्पतालमा उनकी हजुरआमा पनि जीवनसँग युद्ध लडिरहेकी छन् जसकारण उनी सम्भव भएसम्म सबै समय उनीसँगै बिताउन खोजिरहेको बताउँछन् ।

उनले भनेका छन्, “कुनै पनि औषधि प्रभावकारी छैन । डाक्टरहरुले मलाई अहिले कुनै आशा नराख्न र सबै उहाँको शरीरमा निर्भर छ भनेका छन् । अब हामी भाग्यकै भरमा छौँ ।”

यसरी ७ फेब्रुअरीदेखि ह्वाङ आफैँ पनि बिरामी महसुस गरिरहेका छन् र दुई हप्तादेखि एउटा होटलमा क्वारेन्टाइनन्ड भएर बसेका छन् ।

त्यस्तै अर्का वुहान वासिन्दा दाछुनकी आमालाई भने पहिले ज्वरो आएको थियो ।

यो जनवरीको सुरुवातमा भएकाले उनीहरु त्यसबेला धेरै आत्तिएनन् र सामान्य रुपमा लिइरहेका थिए ।

उनीहरुले वुहानमा फैलिरहेको नयाँ रहस्यमय भाइरसबारे थोरै मात्र हल्ला सुनेका थिए ।

तर ज्वरो एक हप्तासम्म पनि ठीक नभएपछि भने उनलाई क्लिनिकमा सुइ हान्न लगियो ।

२० जनवरीको दिन चिनियाँ निकायले कोरोनाको खबर सार्वजानिक गराउँदा मात्र दाछुनले आमालाई सामुदायिक क्लिनिक लगे । यसरी छातिको स्क्यान अनि रगत परीक्षणपछि डाक्टरहरुले उनकी आमालाई कोरोनाको संक्रमण हुन सक्ने खबर दिए ।

उनी भन्छन्, “आजको दिनसम्म पनि मलाई विश्वास गर्न गाह्रो भइरहेको छ ।”

तर ५३ वर्षीया उनकी आमालाई तुरुन्तै भर्ना गराउन भने सकेनन् ।

वुहानका केबल ८ निर्धारित अस्पतालमा मात्र यसको परीक्षण गराउने सामग्री छ ।

उनी भन्छन्, “निर्धारित अस्पतालका एक डाक्टरले मलाई उनीहरुसँग मेरी आमालाई भर्ना गराउने अधिकार नभएको बताएका हुन् ।

यसमा स्थानीय स्वास्थ्य आयोगले मात्र पुष्टि भएका केसमा बेड दिलाउन सक्ने बताइएको छ । त्यसैले मेरी आमालाई कोरोना भएको आधिकारिक पहिचान नभएसम्म कसैले बेड उपलब्ध गराउन सक्दैन ।”

दाछुनका भाइ दिनहुँ अस्पतालमा बेड खोज्न लाइन बस्ने गरेका छन् ।

तर केही समय यता उनीहरुले धेरै बिरामी परीक्षण गराउनै नपाइ वा अस्पताल नगइ मृत्यु भइरहेको देखेका छन् ।

उनकी आमाको अवस्था भने दिन प्रतिदिन गम्भीर हुँदै गएको २२ वर्षीय दाछुन दुःखी हुँदै बताउँछन् ।

उनले रगत बान्ता गर्न थालेको र पिशाबमा पनि रगत देखा परेको बताए ।

यसरी २९ जनवरीका दिन मात्र उनीहरुले बेड पाए । तर अस्पतालमा पर्याप्त स्वास्थ्य सामग्रीको अभाव हुँदा राम्रो उपचार पाउन नसकेको उनी बताउँछन् ।

तापनि आफूले आमा ठीक हुन सक्ने आशा गर्न नछाड्ने उनले बताएका हुन् ।